चितवनका फ्रन्टलाइनरमा संक्रमण बढ्दै

हेल्थपाेष्ट/चितवन
प्रकाशित
२०७७ असोज १७ गते १५:०९

कोरोना महामारी विरुद्ध फ्रन्ट लाइनमा खटिएकाहरुमा संक्रमण बढ्दो छ। चितवनका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षार्मीमा कोरोना संक्रमण बढ्दाे छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार दिउँसोसम्म तीनसय ५७ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बनेका छन्। यस्तै एकसय १९ जना सुरक्षाकर्मी संक्रमित भएको कार्यालयले जानकारी दिएको छ।

अहिलेसम्म विभिन्न १२ वटा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। उनका अनुसार सबैभन्दा बढी जिल्लाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

चितवन मेडिकल कलेजका एकसय १८, भरतपुर अस्पतालका ६७, पुरानो मेडिकल कलेजका ४९, क्यान्सर अस्पतालका ६१जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

त्यस्तै विभिन्न सरकारी स्वास्थ्य संस्थाका २०, निजी स्वास्थ्य संस्थाका ७, नारायणी सामुदायिक अस्पतालका ९, पुष्पाञ्जली अस्पतालका ७, मौलाकालिका अस्पतालका ३, सेन्ट्रल अस्पतालका ३, रत्ननगर अस्पतालका ७, सप्तगण्डकीका ४ जनामा कोरोना संक्रमण देखिएको ढकालले जानकारी दिइन्।

यस्तै, चितवनमा विभिन्न स्थानमा कार्यरत एकसय १९ जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। आफ्ना कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि क्यान्सर अस्पतालले छुट्टै आइसोलेसन तयार गरेको छ।

अस्पतालका अनुसार १५ बेडसहितको आइसोलेसन तयार गरेको छ। त्यहाँ संक्रमित कर्मचारीलाई मात्र राखिएको छ। वैशाख ५ गते पहिलोपटक कोरोना संक्रमण देखिएको चितवनमा त्यसयता करिब साढे ६ महिनामा संक्रमितको संख्या दुई हजार ८४ पुगेको छ।

संक्रमित मध्ये एक हजार दुईसय ५७ पुरुष र आठसय २७ जना महिला रहेका छन्। चितवनमा हाल सातसय जना संक्रिय संक्रमित छन्। त्यस्तै एक हजार तीनसय तीन जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा पाँचसय ३५ र संस्थागत आइसोलेसनमा दुईसय २५ जना रहेका छन्। जिल्लामा संक्रमित हुनेमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा एक हजार ३ सय ३१ जना रहेका छन्।

त्यस्तै रत्ननगरमा तीनसय १०, खैरहनी नगरपालिकामा एकसय ५८, राप्तीमा एकसय ४४, कालिकामा ७१, माडीमा ५८ र इच्छाकामना गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट चितवनका २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुरका १३, रत्ननगरका ३, खैरहनीका २, राप्तीका २ र कालिका नगरपालिकाका एक जना रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय