सरकारको भरोसा छैन, आफैं सुरक्षित बनौं

हेर्दा हेर्दै ७ महिना लाग्यो, कोरोना भाइरस अब त हराउला कि भन्दा झन( झन उग्र रुप लिएर सबैको घर दैलोमा कसरी पुग्ने भन्ने दाउ हेर्दैछ।

कोरोना भाइरसको संक्रमण डाक्टर, नर्स, समाजका प्रतिष्ठित व्यक्ति, धनि÷गरिब जसलाई पनि हुनसक्छ। कोरोना भाइरस हुँदा खानेका लागि त अभिसाप नै बनेको छ। तर हुनेखाने तथा धनी त उपचार गरेर घर फर्किरहेका छन्।

तर, गरिब त उपचारको कुरा परै जाओस अस्पतालको मुखै नदेखिकी मर्न बाध्य छन्। अझ भन्नुपर्दा गरिबलाई यस्ता भाइरसको प्रभाव हुनु र नहुनुले खासै अर्थ राख्दैन, चिकित्सा क्षेत्रमा। सामान्य हुँदा पनि गरिबलाई अस्पतालसम्म पुग्नु आकाशको फल जस्तै हो।

एक महिनाअघि जनकपुरको एक अस्पतालमा भएको घटनालाई नै हेर्ने हो भने पनि पुष्टि हुन्छ, यस्ता महामारीले पनि गरिबलाई नै सास्ती दिन्छन्। मिर्गौलाको डायलासिस गराउन आएका एक बिरामीलाई अस्पतालले पिसिआर रिपोर्ट नभएसम्म डायलासिस नगर्ने बताउँदै फर्कायो।

पिसिआर परीक्षण गर्नेसमेत रकम नबचेका बिरामीको डायलासिस नभएरै ज्यान गयो। तर, सरकारले भने यस्ता क्रियाकलापप्रति कुनै ध्यान नै दिएको छैन। अझै सरकारले भने आइसोलेसन अभाव देखाउँदै सबैलाई घरमै बस्न भनेको छ।

पहुँचमा भएका र पैसावाला चाही अस्पताल र होटलमा निर्माण भएका महँगा आइसोलेसनमा बस्ने व्यवस्था सरकार आफैंले बनायो। के उनीहरुको घर थिएन र?

गरिबको पेटमा दन्केको आगो निभाउने त पानी छैन। कहाँको आइसोलेसन देख्न पाउनु! सरकारले यस्तो महामारीमा आफ्नै नागरिकमाथि दुईथरी व्यवहार देखाएको छ।

जाबो एउटा कोरोनाले पनि यस्तो भेदभाव? न त कोरोनाको औषधि नै छ न राम्रो राहतको व्यवस्थापन हुन सकेको छ। यसकारण विपन्न परिवारलाई अहिले दुईछाक टार्न पनि मुस्किलै भएको छ।

सरकारले यस्ता गरिब तथा विपन्न परिवारका लागि बाँच्ने आधार तयार पार्नसके यो कहरको प्रभाव केही हदसम्म कम हुन्थ्यो कि?

पिसिआर टेष्टमा पनि खेल खेल्नसम्म खेलियो। गरिब जनतालाई पिसिआर टेष्ट गर्न घण्टौं लाइन बसेर पालो आउँछ आउँदैन त्यो थाहा छैन। तर, मन्त्री, नेता तथा धनाड्यहरु क्वाटर, कार्यालयहरुमै पिसिआर टेष्ट गराउँछन् त्यो पनि निःशुल्कमै।

उनीहरुको रिपोर्ट पनि ६ घण्टामै मोबाइलमा आउँछ। तर जनताको रिपोर्ट आउन तीनदिन लाग्छ। त्यो पनि कतिपय अवस्थामा त बिरामीको ज्यान गइसकेपछि! अझै भन्ने हो भने वरिष्ठहरुको पिसिआर टेष्टका लागी तीनै कोरोनासँग जुधिरहेका स्वास्थकर्मी नै पुगिरहेका हुन्छन्।

यति जोखिम मोलेर काम गर्दा पनि तीनै स्वास्थ्यकर्मी समाजबाट अवहेलनाको पुरस्कार दिइन्छ। सुन्दा दिक्क लाग्छ। स्वास्थ्यकर्मी, डाक्टर, नर्स पनि त यही समाजै हुन्। यस्तो महामारीमा पनि मुखमा

मास्क, पीपीई, भाइजर, कपाल छोप्ने टोपी लगाएर बस्दाको पीडा एकातिर छँदैछ।

अर्कोतिर कोभिड–१९मा अहिले मुखमा मास्क त होला तर पनि पीपीई, भाइजर नपाएर पनि कोभिड वार्डमा काम गर्नेको पीडा भनिसाध्य छैन। अझै भन्ने हो भने तराईतिर कोरोनाविरुद्ध लडिरहेका स्वास्थकर्मी ४२ डिग्रीको तापक्रममा मास्क, पीपीई, भाइजर, क्याप लगाएर पसिना तरतरी बगाइरहेका छन्।

आम नागरिकलाई यस्तो सास्तीमा सेवा दिइरहेको देख्दा पनि सरकारले यी स्वास्थयकर्मीका लागि केही गर्न नसक्नु अर्को विडम्बना हो।

अस्पतालका कर्मचारी मात्र होइनन्, कोरोना लागेका व्यक्तिहरु तपाइँको समाजमा वा तपाइँको छिमेकमा छन् भने उसलाई र उनीहरूको परिवारलाई न कसैले सहयोग नै गरेका छन्।

दूधे बालकहरुले दूध खान पाएका छैनन्। यो सबै नागरिक आफैंले सामाना गर्नुपरिरहेको छ। सरकार भने, ‘रातभरी रुँग्यो, बुढी ज्यूँदै’ भनजस्तै गरी घरि कोरोना लागे दबाई गर्छु भन्छ, घरि अब कोरोनाका बिरामीले आफैं उपचार खर्च व्यहोर्नुपर्छ भन्दैछ।

धनीलाई पावरमा उपचार खर्च, गरिबलाई घरमै गुर्जो र बेसार पानी। त्यसैले कोरोना भाइरसले कसैलाइ नि छोड्दैन। व्यवस्थापनमा लापरबाही गर्ने सरकार, अनि दुःख पाउने जनता! त्यसैले आफू बाँचे सबै बाँच्छन भन्ने सोचाई राखौं, सक्दो सुरक्षित बनौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय