पाटन अस्पतालका कर्मचारी धमाधम राजीनामा दिँदै, बिदा बस्दै

पाटन अस्पतालमा कार्यरत कर्मचारीहरू दिनदिनै राजीनामा दिन र बिदा बस्न थालेका छन्। पछिल्लाे दुई महिनायता करिब ४० जना कर्मचारी बिदामा बस्ने र राजीनामा दिन थालेका हुन्।

अस्पताल प्रशासनले भने कोही कर्मचारीको पनि राजीनामा स्वीकृत नगरिएकोे अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।

‘समस्या परेका बेला राजीनामा स्वीकृत नगर्ने भन्ने अस्पतालको नीति छ,’  उनले भने, ‘राजीनामा स्वीकृत नभए पनि खबरै नगरीकन बिदा बस्नेको संख्या बढ्न थालेको छ।’

अस्पतालमा झन्डै १५ सय कर्मचारी कार्यरत रहेका छन्। कर्मचारीले राजीनामा दिनुका कारण कोरोना कहर मुख्य रहेको बताइएकाे छ।

कोरोनाका कारण व्यक्तिगत समस्या, समाजबाट भएको दुर्व्यवहार, घरपरिवारबाट जागिर छोड्न दबाब दिइनेलगायत कर्मचारीले उल्लेख गर्ने गरेको निर्देशक डा. शाक्यले बताए।

तर, अहिले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै जाँदा आफू र परिवारका सदस्य पनि जोखिममा पर्ने डरले छाडेको हुनसक्ने डा. शाक्यको बुझाइ छ।

‘अहिले स्थायी कर्मचारीहरूले राजीनामा पत्र छाडेका छन् भने करारमा रहेकाले समय थप गर्न मानिरहेका छैनन्,’ डा. शाक्यले भने। करारमा भएका कर्मचारीले स्वीकृति लिन नमानेकाे उनकाे भनाइ छ।

स्थायी कर्मचारीको राजीनामा स्वीकृति नभए पनि घरमै बिदा बसिदिने गरेका छन्। निर्देशक शाक्यले कोही कर्मचारीले भने राजीनामा नभई व्यक्तिगत कारण देखाएर २–३ महिनाको बिदा माग्ने गरेको दावी गरे।

महामारीको यस्तो अवस्थामा प्रशासनले बिदा दिन मिल्ने हो कि होइन भन्ने छानबिन गरेर मात्र बिदा दिने गरेको उनले सुनाए। पाटन अस्पताललाई पनि सरकारले कोभिड अस्पताल तोकेको छ। त्यसले गर्दा अन्य रोगका बिरामीको उपचारमा कमी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय