कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति माग

नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएका एक करोड बराबर क्षतिपूर्ति दिनुपर्ने सरकारसँग माग गरेको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोरोना उपचारमा खटिएका चिकित्सकको मृत्यु भएमा एक करोडसम्म बिमा रकम पाउने सुनिश्तिता गर्न सरकारसँग माग गरेको हाे।

डा. हरि सापकोटाको मृत्युपछि देशैभरका स्वास्थ्यकर्मी तथा चिकित्सक त्रसित बनेकाले केहीगरी त्यस्तो अवस्था आइहाले पनि आर्थिक सहायतका लागि उक्त बिमांक सुनिश्चित गर्न माग गरिएको हो।

सातौं बुँदामा भनिएको छ, ‘कोभिड-१९ संक्रमणको उपचारमा संलग्न चिकित्सक सक्रिय संक्रमित भइ मृत्यु भएमा एक करोड रुपैयाँसम्मको बिमा रकम भुक्तानीको सुनिश्चितता गर्नुपर्नेछ।’

कोरोना संक्रमित चिकित्सकको सबै उपचार सरकारले गर्नुपर्ने 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कोरोनाबाट संक्रमित भएमा त्यसको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग गरिएको छ। कोरोनामाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएमा उपचार खर्च राज्यले बेहोनुपर्ने माग गरेको छ।

बिहीबार मात्रै पहिलोपटक कोरोनाबाट चिकित्सकको नै मृत्यु भएपछि शुक्रबार संघले मन्त्रालयसँग यस्तो माग गरेको हो।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित ज्ञापनपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संक्रमित भएको खण्डमा उनीहरूको उपचार खर्चलगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै लिनुपर्नेछ।’

उनीहरूले विभिन्न ९ वटा माग राख्दै ज्ञापनपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएका छन्। यस्तै, संघले कोरोना उपचारका क्रममा संक्रमित भएका चिकित्सक तथा स्वास्थ्यकर्मीको उपचार व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै शाखा गठन गर्न पनि माग गरिएको छ।

उपत्यका बाहिरका संक्रमितलाई यथासक्य यहाँ ल्याइयोस्

संघले यस्तै काठमाडौं बाहिर कोरोना उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए तत्काल काठमाडौं ल्याउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

उनीहरूको तत्काल उपचारका लागि सरकारले हेलिकप्टरको व्यवस्थापन गर्नुपर्ने माग पहिलो बुँदामा उल्लेख छ।

‘काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शीघ्र उपचारका लागि काठमाडौं ल्याउन  आकस्मिक हेलिकप्टरको व्यवस्था गरियोस्’, ज्ञापनपत्रमा भनिएको ।

यस्तै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख गरिएका औषधिको पनि तत्काल व्यवस्थापन गर्न माग गरिएको छ। इन्जेक्सन रेमिडेसिभिरलगायतका उपचारमा आवश्यक भेन्टिलेटर, आइसियू बेड, अक्सिजन र जनरल बेडको संख्या वृद्धि गर्न माग गरिएको छ।

संघको मागमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको देशभरका सबै स्वास्थ्य संस्थाहरूमा कोरोना संक्रमण व्यवस्थापनसम्बन्धी प्रभावकारी योजना बनाएर तत्काल कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख छ।

ज्ञापनपत्रको पाँचौं बुँदामा भनिएको छ, ‘युद्धमा होमिएका स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च पार्न सुरक्षा सामग्रीको सहज उपलब्धता गराउनुपर्छ।’

यस्तै भीडभाड बढेर संक्रमणको जोखिम बढेकाले पहिले नै समय लिएर उपचार लिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न नेपाल चिकित्सक संघले नेपाल सरकारसँग माग गरेको छ।

संघको मागमा सबै चिकित्सकलाई आइसियू र भेन्टिलेटर चलाउन सक्षम हुनेगरी स्वास्थ्य मन्त्रालयमार्फत तालिम दिनुपर्ने उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका सचिवलाई बुझाइएको उक्त ज्ञापनपत्रमा राखिएका माग अविलम्ब पूरा गर्न सरकारसँग नेपाल चिकित्सक संघले अनुरोध गरेको छ।

साथै यी माग पूरा गरी कोरोना नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आग्रह गरिएको छ।

यस्ता छन् चिकित्सक संघले सकारसमक्ष राखेका मागहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय