प्राकृतिक चिकित्साविधिबाट काेराेना स‌ंक्रमितकाे उपचार

भरतपुर महानगरपालिका-१ स्थित वागेश्वरीको प्राकृतिक चिकित्सालय केही महिनायता भिन्न र फरक रूपमा चलिरहेछ। यहाँ अरू बेला जस्तो विभिन्नखाले दीर्घरोगी देखिँदैनन्।

कोरोना भाइरसका संक्रमितले प्राकृतिक चिकित्सालय भरिएको छ। चारैतिर जंगलले घेरिएको चिकित्सालयमा बिहानदेखि नै मानिसको चहलपहल बढ्छ।

५ बजेदेखि नै उठेर नित्यकर्ममा उनीहरू लागेका हुन्छन्। बाँदरकाे चकचकेपन र चराको चिरबिर आवाजले मनोरम सुनिने चिकित्सालयमा कागती महपानी खाएर संक्रमितहरू बिहान ७ बजेसम्म योगमा व्यस्त हुन्छन्।

योग क्रिया सकेपछि ८ बजेसम्म प्राणायाम, सूर्य स्नान गर्ने उनीहरूको दैनिकी छ। योग गर्दा उनीहरू तनावमुक्त हुने बताउँछन्।

त्यसपछि चिकित्सालयले १५ मिनेट बाफ लिने समय छुट्याइदिएको छ। साढे ८ देखि ९ बजेसम्म हर्बल चिया पिउन समय हुन्छ। चिया पिएपछि आधा घण्टा ब्रेकफास्टको समय हो।

त्यो समयमा बिरामीलाई फलफूल, फापरको रोटी, उमारेको गेडागुडीका टुसा भएको खाजा दिइन्छ। बिहान साढे ९ देखि साढे ११ बजेसम्म उनीहरूलाई आराम गर्ने समय छुट्याइएको छ।

चिकित्सालयमा बिहान साढे ११ बजे खाना तयारी हुन्छ। त्यहाँ माछामासु बन्देज छ। सादा खाना, तरकारी, दाल, चटनी र सलाद खानाका रूपमा बिरामीलाई दिइन्छ। खाना खाएपछि २ बजेसम्म आराम गर्दछन्।

त्यसपछि आधा घण्टा चार प्रकारका फलफुल खाने समय छुट्याइएको छ। लगत्तै तरलसी काँढा पिउने समय छ। यसमा काँढापानी (मरिच, अदुवा, तुलसी, सख्खर पानीको मिश्रण) दिइन्छ।

दिउँसो सवा ३ बजेदेखि ४ बजेसम्म कर्मयोग गर्न संक्रमित व्यक्ति व्यस्त हुन्छन्। यसले उनीहरू मनोविज्ञानका रूपले दरिलो हुने विश्वास प्राकृतिक चिकित्सकको छ।

संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले साढे ४ देखि ५ बजेसम्म बाफ लिने समय छ। लगत्तै उनीहरूले बेलुकाको खाना खाने गर्दछन्। साँझ ७ बजेसम्म प्रार्थना, ध्यान, भजनले प्राकृतिक चिकित्सालय गुञ्जयमान बन्छ।

त्यसपछि दूध र बेसार पानी खाएर सबैजना सुत्छन्। साँझ साढे ७ देखि बिहान ९ बजेसम्म आवधिक उपवास बस्ने गर्दछन्। आवधिक उपवासले स्वास्थ्यका लागि राम्रो हुने प्राकृतिक चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउँछन्।

वागमती सरकारको आर्थिक सहयोगमा भरतपुर महानगरपालिकाले वागेश्वरी चिकित्सालयमा आइसोलेसन तयार गरेको हो। यसरी सन्तुलित खाना र योगले गर्दा संक्रमितहरू छिटो निको हुने गरेका छन्।

कोरोना संक्रमितलाई योग, प्राणायाम, ध्यान र प्राकृतिक खानपानबाटै उपचार गरिएको बताए। प्राकृतिक खानपान, व्यक्तिगत सरसफाइ, तनाव व्यवस्थापन, शारीरिक व्यायाम र आत्मबलले नै रोगबाट छिटो मुक्ति पाइने उनको भनाइ छ।

आइसोलेसन बसेका संक्रमित यहाँको उपचार पद्धति देखेर नौलो मानिरहेका छन्। पूर्ण प्राकृतिक वातावरणमा तालिकानुसारको हेरचाह र उपचारले उनीहरूको आत्मबल बढेको छ।

१ सय ३६ जनाको उपचार गरिरहेको प्राकृतिक चिकित्सालयबाट ९६ जना निको भएको भएर फर्किएका छन्। ७६ जनाको क्षमता रहेको आइसोलेसनमा ४६ जना कोरोना संक्रमित छन्।

यहाँ उपचार रहेकामध्ये सबै भरतपुर महानगरपालिकाभित्रका छन्। महानगरपालिकाबाहेक अन्य स्थानका बिरामीलाई यहाँ राखिँदैन। जसले गर्दा आइसोलेसनमा बिरामी घट्दै गएका छन्।

भदौ १४ गते आइसोलेसन बनाएपछि बागेश्वरीमा दीर्घरोगीको उपचार हुँदैन। उनीहरूलाई पनि दसैंपछि उपचार गर्ने तयारी चिकित्सालयको छ। तीन वर्षअघि सञ्चालनमा आएको चिकित्सालयमा यसअघि पुरानो मेडिकल कलेज थियो।

अहिले प्राकृतिकमा १८ जना कर्मचारीले काम गरिरहेका छन्। जसमा तीन चिकित्सक, दुई सहायक चिकित्सक छन्। महागरपालिकाले अहिलेसम्म आईसोलेसनका लागि करिब ४० लाख रुपैयाँ पुँजीगत खर्च गरेको अनुमान गरिएको छ।

तर, प्रदेश सरकारले प्राकृतिक चिकित्सालयमा आइसोलेसन सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय