डा. केसीलाई अनशन फिर्ता लिन सरकारको अनुरोध

सरकारले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन अनुरोध गरेको छ। अहिले अनशन गर्न सुहाउँदो समय नरहेको भन्दै अनशन फिर्ता लिन आग्रह गरेको हो। सरकारसहित सम्पूर्ण नागरिक कोरोनाविरुद्ध संघर्ष गरिरहेकोबेला विभिन्न माग राखेर अनशन गर्नु उपयुक्त नरहेको सरकारले बताएको छ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको असमान्य अवस्थामा अनशन र सत्याग्रह गर्नु सुहाउँदो विषय नरहेको बताए।

‘मुलुक संकटको अवस्थामा छ, कोरोनाविरुद्ध जनतालाई जोगाउने अभियानमा खटिएका एकजना दक्ष चिकित्सक हामीले आजै गुमाउनु परेको छ,’ ज्ञवालीले भने,‘एकातिर चिकित्सक, सुरक्षाकर्मी कोभिडबाट जोगाउन लागि रहनु भएको छ, यो असमान्य अवस्थामा अनशन, सत्याग्रह, धर्ना गर्नु सुहाउँदो विषय हो र रु पक्कैपनि होइन।’

डा.केसीले उठाएका मागहरूमध्ये ७५ प्रतिशत पूरा भइसकेको भन्दै ज्ञवालीले केही विषय बाँकी भए पछि पनि छलफल गर्न सकिने स्पष्ट पारेका छन्। ‘ अहिले अनशन गर्ने बेला होइन्, नेपाल सरकारको तर्फबाट उहाँलाई मेरो आग्रह छ, अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाइँमा जुटौँ,’ मन्त्री ज्ञवालीले भने।

ज्ञवालीले डा।केसीले भने अनुसार धेरै मागहरू पूरा भएर कार्यान्वयनमा गइसकेको बताए। चिकित्सा शिक्षा अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्ति दिने विषय कार्यान्वयनमा आइसकेको उनले जिकिर गरे। यसैगरी सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज सञ्चालन गर्ने विषयपनि कार्यान्वयन भइसकेको समेत उनले बताएका छन्।

‘प्रदेश १ मा बीपी कोइराला विज्ञान प्रतिष्ठान छँदै छ, प्रदेश २ मा राजविराज र बर्दिवासमा मेडिकल कलेज निर्माण प्रक्रिया सुरु भइसकेको छ, बागमती प्रदेशमा आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ,’ उनले भने,‘गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पढाइ सुरु गरिसकेको छ, बुटबलमा बन्दै छ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यरत छ, र धनगढीमा पनि मेडिकल कलेज निर्माणको अन्तिम चरणमा छ,’ ज्ञवालीले भने।

पूर्वाधारहरू तयार भइसकेपछि यी प्रतिष्ठानहरूले अध्यापनको क्षेत्रमा गति लिने भएकोले यसका लागि थप दबाब जरुरी नरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय