महामारीको बहानामा अवैधानिक भेन्टिलेटरको व्यापार

नेपाल-कोरिया मैत्री अस्पतालले स्वीकृत नभएको भेन्टिलेटर प्रयोगमा ल्याएको पाइएको छ। ‘पाइला टेक्नोलोजी नेपाल’ ले बनाएको भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याएको हो।

तर, यस भेन्टिलेटरको सफल परीक्षण नभएको कारणले मानव उपचारमा ल्याउन नहुने विज्ञहरूले बताउँदै आएका छन्।

भेन्टिलेटर प्रयोगको विषयमा नेपाल मेडिकल काउन्सिलमा सुझाव टोली गठन भएको थियो। काउन्सिलबाट यो विषय उद्योग मन्त्रालयमा पुगेको छ।

मन्त्रालयले पनि यो भेन्टिलेटरलाई स्वीकृति दिएको छैन। स्वीकृत नभएको भेन्टिलेटर नेपाल-कोरिया मैत्री अस्पतालका डा. ज्ञान कायस्थले प्रयोगमा ल्याएका हुन्।

परीक्षण नै नगरी मानिसको उपचारमा प्रयोग गर्दा असरसमेत निम्त्याउने विज्ञले बताएका छन्। यस विषयमा नेपाल नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले सरकारले ध्यानाकर्षणसमेत गराएको थियो।

त्रिवि शिक्षण अस्पतालका आइसियू प्रमुख डा. सुवास आचार्य स्वीकृत नभएको अवस्थामा मानिसको उपचारमा त्यस्ता भेन्टिलेटर प्रयोगमा ल्याउन नहुने बताउँछन्।

‘स्वीकृत नभएको उपकरण प्रयोग गर्दा भोलि बिरामी तलमाथि भए त्यसको जिम्मा कसले लिन्छ?,’ डा. आचार्यले भने, ‘प्राविधिक रूपमा सर्टिफाइड नभएको उपकरण जबरजस्ती बिरामीकाे प्रयोगमा ल्याउन हुँदैन।’

डा. आचार्यकाअनुसार भेन्टिलेटरको प्रयोग पहिला ल्याब, जनावरमा सफल भएपछि मात्र मानिसमा गरिन्छ। जसका लागि सरकारको सम्बन्धित निकायसँग समन्वय गरेर गर्न सकिन्छ।

यस विषयमा नेपाल अनुसन्धान परिषद्ले अनुसन्धान गर्नुपर्ने हुन्छ। तर, हालसम्म कुनै सहमति नलिएको परिषद्का प्रमुख डा. मेघनाथ धितालले बताए।

त्यसैगरी, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेमराज पनेरु यो उपकरण सिधै मानिसमा प्रयोग गर्न नुहने बताउँछन्।

सम्बन्धित सबै पक्षले विचाराधीन राखेको अवस्थामा सिधै भेन्टिलेटर मानिसमा प्रयोग गर्न उचित नहुने डा.पनेरुको भनाइ छ।

‘उक्त भेन्टिलेटरमा ‘एम्बु ब्याग’ प्रयोग गरिएको छ। बिरामीलाई केही समयका लागि श्वासप्रश्वास दिन मद्दत गर्ला,’ डा. पनेरु भन्छन्, ‘तर, बिरामीको श्वासप्रश्वासको सहजताका लागि यसले लामो समयसम्म काम गर्न सक्दैन।’

यो भेन्टिलेटर स्वचालित र ‘पोर्टेबल’ भेन्टिलेटर हो। डा. पनेरुका अनुसार बिरामीको सुरक्षामा ग्यारेन्टी दिन सकिँदैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञहरूको सुझावपछि मात्र सो भेन्टिलेटरको प्रयोग गरिने बताए।

‘नेपालमा मेसिन परीक्षण गर्न कुनै ल्याब छैन,’ डा. गौतमले भने, ‘यसको आइसियु विशेषज्ञले स्वीकृति दिएको हुनुपर्छ।’

मैत्री अस्पतालका चिकित्सक डा. कायस्थले अहिलेसम्म सरकारबाट स्वीकृत नभएको स्वीकार गरे।

उनले कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याइएको बताए। यो भेन्टिलेटरले राम्रोसँग काम गर्ने डा. कायस्थको दाबी छ।

पाइला टेक्नोलोजी नेपालका कार्यकारी निर्देशक विनय रावतले नेपाल मेडिकल काउन्सिलबाट केही दायराभित्र रहेर चलाउन सकिने अनुमति दिएको बताए।

काउन्सिलको अनुमतिपछि मात्र आफूहरूले प्रयोग गरेको उनको दाबी छ। तर, मेसिन उत्पादनको लाइसेन्स भने प्राप्त नगरेको उनले स्विकारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय