गैंडाकोट नगरपालिकाका सबै कर्मचारीको स्वाब लिइने, शुक्रबार कार्यालय बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको परीक्षण गर्न गैंडाकोट नगरपालिका शुक्रबार बन्द हुने भएको छ।

पञ्जीकरण शाखामा कार्यरत दुई कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले शुक्रबार सबै कर्मचारीको पिसिआर परीक्षण गर्न स्वाब लिने भएको हो।

नगरप्रमुख छत्रराज पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि सम्पर्कमा रहेका सबै कर्मचारी तथा केही जनप्रतिनिधिको शुक्रबार बिहान ६ बजेदेखि स्वाब संकलन कार्य थालिने जानकारी गराए।

‘नगरकार्यपालिमा रहेर सेवा प्रवाह गर्ने जनप्रतिनिधि, कर्मचारीको जाँच गरिने भएकाले शुक्रबार कार्यालय बन्द हुनेछ, शनिबारसम्म रिपोर्ट आउने अपेक्षा लिएका छौं,’ उनले भने, ‘कार्यालय परिसरमा रहेका अन्य ६ वडा कार्यालय पनि बन्द हुनेछन्।’

नगरप्रुमखका अनुसार ४, ५, ६, ७, ८ र ९ वडा कार्यालय नगरपालिकाकै भवनमा सञ्चालित छन्। उपप्रमुख विष्णुकुमारी पौडेलले सम्भावित जोखिममा रहेका अन्य कर्मचारी र जनप्रतिनिधिको स्वाब लिइने भएकाले अधिकांश वडा कार्यालयको सेवा समेत शुक्रबार प्रभावित हुनसक्ने जानकारी दिइन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले शुक्रबार एक सय बढीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने योजना रहेको बताए। ‘स्वाब दिन अनिवार्य रूपमा उपस्थित हुन बोलाएका छौं, कार्यालय परिसरमै स्वाब लिइने छ,’ उनले भने, ‘संक्रमण भए नभएको आधारमा कार्यालय सञ्चालनमा आउने छ।’

स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले एक हप्ता पहिले कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा थप दुई जनामा संक्रमण देखिएको बताए।

उनका अनुसार १४ गतेसम्म गैंडाकोट नगर क्षेत्रमा २ सय १८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये १ सय ५६ जना स्थानीय हुन्। बुधबारमात्रै ३२ जनामा संक्रमण देखिएको थियो।

उनले नगरपालिकामा हाल २५ जना सामुदायिक आइसोलेसन र ५२ जना होम आइसोलेसनमा रहेको बताए।

हालसम्म १ सय ३९ जना निको भइसकेका छन्। ५ र ९ नम्बर वडाका एक–एक जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। १८ वडामध्ये वडा १८ मा हालसम्म संक्रमित भेटिएका छैनन्। १० जनाभन्दा कम संक्रमित भेटिएका ९ वडा छन्।

सबैभन्दा धेरै वडा २ मा ६४ जना, वडा ५ मा २७ जना, वडा १ मा २२ जना, वडा ८ मा १९ जना, वडा १३ मा १६ जनामा संक्रमण देखिएको छ।

नगर क्षेत्रमा हाल ७७ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये वडा २ मा २८ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय