भक्तपुरको डा. इवामुरा अस्पतालले जिउँदै मानिसलाई मृत घोषणा गरेपछि…

रेणु त्वानाबासु/काठमाडौं
प्रकाशित
२०७७ असोज १५ गते १४:१८

इन्डोस्कोपी गर्न अस्पताल पुगेका बिरामीको उपचारमा लापरबाही गरेको भन्दै भक्तपुरको सल्लाघारीका स्थानीयले डा. इवामुरा अस्पताल घेराउ गरेका छन्।

हिँडेर इन्डोस्कोपी गर्न पुगेका एक पुरुषको उपचारमा डाक्टरले लापरबाही गर्दा मृत्युको मुखसम्म पुगेको स्थानीयको आरोप छ। बिहानबाट आन्दोलित बनेका स्थानीयले अहिले पनि आन्दोलन जारी नै राखेका छन्।

४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको इन्डोस्कोपी गर्दा लापरबाही गरेको भन्दै उनको ज्यान जोखिममा परेको पीडित परिवारको आरोप छ। परिवारले चिकित्सकको लापरबाहीका कारण इन्डोस्कोपी गर्दा लाखाजुको मुटुमा क्षति पुगेको आरोप लगाइरहेको छ।

डा. इवामुरा अस्पतालले सुरुमा बिरामीको मृत्यु घोषणा गर्यो। तर, आफन्तको चित्त बुझेन। उनीहरूले तुरुन्त नर्भिक अस्पताल ल्याए। नर्भिकले बिरामी जीवितै भनेपछि उनीहरूले इवामुरा अस्पतालबाट रिफर पत्र बनाइमागे। र, अहिले ती बिरामीको नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिरामीका साथी पूर्ण दुवालले यो सिधै अस्पतालको लापरबाही भएको आरोप लगाए। ‘जिउँदै मानिसलाई अस्पतालले मृत घोषणा गर्नु यो ठाडो लापरबाही हो। अस्पताललाई कडा कारबाही हुनुपर्छ,’ उनले भने।

उनले अस्पतालले यसअघि पनि यस्तै गल्ती गरेकाे आरोप लगाए। अस्पताल प्रशासनले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय