काेराेना नियन्त्रणमा भारतलाई पछ्याउँदा चुकेकाे नेपाल

कोराना भाइरस महामारी चीनबाट सुरु भएको थाहा नहुने सायदै होलान्।

जब कोरोना प्रकोपले चीनलाई ग्रस्त बनाइरहँदा नेपालमा ‘सर्दैन’ भनेर ढुक्कसँग बस्ने हामी नै हौं।

हामीमात्र होइन, छिमेकी भारत पनि आरामसँग बसेको थियो।

रोग सर्न सक्छ है भनेर यदाकदा मिडियाहरू चिच्याउँदै गर्दा कोरोनाले अधिकांश देशमा टाक्कटुक्क कोरोना देखिन थालिसकेको थियो।

यतिमात्र नभएर, सँगै टाँसिएको देश चीनबाट रोग नेपालमा आउनुको सट्टा युरोपतिर लागेपछि नेपालीहरू ‘बहादुर’ भएकोमा गर्व गरिरहे।

‘नेपाली हो नि, चान्स पाए भने जे नि गर्छ’ भने झैं ‘कोरोना आयो भने बेसार पानी खाने हो, निको हुने हो’ भन्नेतिर सबै लागे।

‘नेपालीले बालखैदेखि बिसिजी खोप लगाएको छ, बेसार पानी खाएको छ, अदुवा–लसुन खाएको छ, केही हुँदैन’ भनेर आनन्दले बसे।

यस्ता हल्लाको पछि लाग्दालाग्दै देशमा दोस्रो कोरोना संक्रमित भेटिए।

पहिलो संक्रमितलाई त अस्पतालले रिपोर्ट नै नआई घर पठाइदियो, त्यसै निको भयो। यही ‘केस’ ले नेपाली हुनुमा गर्व गरायो।
तर, यो हल्लाले कसैलाई फाइदा भने पुर्‌याएन।

सबैभन्दा धेरै संक्रमित भएको राजधानी काठमाडौंमै अहिले भीडभाड बढ्न थालेको छ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि जे निर्णय लियो, ती निर्णय भारतले लागू गरेका भन्दा केही भिन्न छैन भन्दा फरक पर्दैन।

हुन त रोग नियन्त्रण र रोकथामका लागि सरकारले जे निर्णय गर्‌यो, त्यसमा कुनै देशसँग दाँज्न नमिल्ला तर संंयोग भनौं या हाम्रो सरकारको नीतिनियम बनाउने परिपाटी, भरतसँग मिल्दोजुल्दो हुन आउँछ।

भारतले मार्च २२ मा ‘जनता कफ्र्यु’ घोषणा गर्‍यो। त्यतिबेला त्यहाँ सातजनाको मृत्यु भइसकेको थियो भने ३ सय ६१ कोरोना संक्रमित भेटिएका थिए। जनता कफ्र्यु केवल ‘ट्रायल’ मात्र थियो। त्यसलगत्तै मार्च २४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि ‘लकडाउन’ घोषणा गरे।

लकडाउन अवधिमा अतिआवश्यक सामग्री किन्नबाहेक अन्य कामका लागि बाहिर निस्कन अनुमति दिइएन।

त्यससँगै नेपालमा पनि सोही दिनदेखि देशैभरि लकडाउन लागू हुने भनेर घोषणा गरियो। यतिबेला नेपालमा जम्मा दुईजना कोरोना संक्रमित भेटिएका थिए। तीमध्ये एकजना निको भइसकेका र अर्का सक्रिय संक्रमित।

सरकारको धेरै विरोध भएपछि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई घर फर्काइएको थियो। यो सँगसँगै अन्य देशबाट पनि हवाई मार्ग हुँदै हरेक देशले आफ्ना नागरिक ओसार्न थालेपछि नेपालले पनि विभिन्न देशबाट आफ्ना नागरिक ल्याउन थाल्यो।

तर, विडम्बना ‘ट्रान्स बोर्डर’ बाट नागरिक ल्याएर क्वारेन्टाइनमा राख्न सक्ने सरकारले ‘क्रस बोर्डर’ बाट आएकालाई भित्र्याउनसमेत सकेन। भारत र नेपालको सीमापारि नै कयौं दिन बिते।

लकडाउनमा भारतले त्यहाँ काम गर्न गएका र बसोबास गरिरहेका नेपालीलाई सीमामा अलपत्र छोडिदिँदा, सरकारसँग दुःखेसो पोखे।

भारतबाट फर्केका हजारौं नेपाली सीमामा अलपत्र परेका थिए। तिनीहरूलाई न भारतले बस्ने आश्रय दियो न नेपालले भित्र पस्न नै।

कोरोना सर्छ भन्ने डर हुँदाहुँदै पनि सरकारले सोचेको पनि थिएन कि भारतले नेपालीलाई अलपत्र पारेर राख्छ भनेर। न त सीमामा क्वारेन्टिनको व्यवस्था नै गरिएको थियो।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले ‘भारतीयलाई हामीले सुरक्षा दिइराखेका छौं भने उनीहरूले पनि हाम्रा नागरिकलाई सुरक्षा दिएर आफ्नै नागरिक जसरी समान व्यवहार गरेर राख्नुपर्ने’ भन्दै दुःख पोखे।

अहिले देशभरि लामो दूरीका यातायातसमेल खुल्ला भइसकेको छ। मानिसको आवागमन बढ्न थालेको छ।

लकडाउन लम्ब्याउने कि नलम्ब्याउने, खोल्ने कि नखोल्ने भन्ने सन्दर्भमा समेत भारतको पर्खाइमा नेपाल बसेको थियो।

भारतले दोस्रोपटक लकडाउन लम्ब्याउने निर्णय लिइसकेपछि नेपालले पनि तेस्रोपटक लकडाउन लम्ब्यायो।

हाम्रै एक मन्त्रीले ‘नेपाल एक्लैले मात्र निर्णय लिएर नहुने, भारतले के गर्छ त्यही अनुसार गर्नुपर्ने’ सम्म भने।

नेपालले भारतभन्दा अगाडि पनि जान चाहेन र केही फरक निर्णय पनि लिन सकेन।

भारतमा प्रदेश सरकारले लकडाउन लम्ब्याउन सल्लाह गरेजस्तै नेपालको सुदूरपश्चिम प्रदेशले पनि लकडाउन लम्ब्याउन सल्लाह र आग्रह गरेको थियो।

यो आग्रह गर्नुमा पनि प्रदेशमा तीनजना कोरोना संक्रमित देखिएको थियो भने नेपालमै पहिलोपटक सामुदायमा संक्रमण फैलन थालेको बेला थियो।

भारतले संक्रमितका हिसाबले लकडाउन खुकुलो बनाउन कोरोना संक्रमण भएका क्षेत्रलाई रेड , ग्रिन र अरेन्ज घोषणा गरी लकडाउन कायम गर्ने निर्णय लिएको थियो।

त्यस्तै, नेपालमा पनि सोही तीन रङका क्षेत्र घोषणा गरी लकडाउनलाई कतिको प्रथमिकता दिने भनेर निर्णय गरिएको थियो। त्यसबेला पाँचभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोन, एकदेखि पाँचसम्म संक्रमित भएका ठाउँ पहेँलो र शून्य संक्रमित भएका ठाउँमा ग्रिन जोन घोषणा गरिएको थियो।

रेड जोनमा परेका ठाउँमा लकडाउन कायमै राखेर अन्य ठाउँमा खुकुलो बनाइएको थियो।

भारतले लकडाउनमा मानिसलाई कमाएर खान मुस्किल भएको भन्दै १७ खर्ब भारुबराबरको राहत प्योकज घोषणा गरेको थियो भने ८० करोड मानिसका लागि खानेकुरा र खाना पकाउने ग्यास तीन महिनामा पुग्ने गरी वितरण गरिएको थियो।

नेपालले पनि थोरै भए पनि राहत बाँड्न हरेक स्थानीय सरकारलाई बजेट पठाएको थियो।

प्रदेश सरकारले राहत वितरण गर्न महानगरका लागि २५ लाख, उपमहानगर २० लाख, नगरपलिका १५ लाख र गाउँपालिकाका लागि १० लाख बजेट विनियोजन गरेको थियो।

भारतले लकडाउनमा मजदुरलाई खानबस्न समस्या भएको भन्दै ‘श्रमिक स्पेसल’ ट्रेनको व्यवस्था गरी घर पुर्‌याइदिएको थियो।

नेपालले पनि सोही तरिका अपनाई काठमाडौंबाट आफ्नै घर फर्काएको थियो। उनीहरूलाई पठाउन सम्बन्धित राजमार्गमा पुर्‌याइएदिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको थियो।

भारतले लकडाउन खुकुलो बनाउन ‘अनलक १।०, २।०’ को संज्ञा दिएर के गर्न पाइने र के गर्न नपाइने उल्लेख गरेको थियो।

कोरोना संक्रमण बढे पनि खतराका क्षेत्र मापन गरी लकडाउन खुकुलो पार्दै लग्यो। सार्वजनिक क्षेत्र खोलिए, कहाँ कतिजनासम्म भेट्न पाइन्छ भनेर निर्धारण गरियो र एक जिल्लाबाट अर्को जिल्लामा आवागमन कम गर्न रातमा कफ्र्यु पनि जारी गरियो।

उस्तै मोडेल नेपालमा पनि लागू गरियो। कतिजना भेटघाट गर्न पाउने, आवागमनका लागि सवारीसधानमा जोरबिजोर प्रणाली र काठमाडौं प्रवेश नपाउने गरी रातमा ‘कर्फ्य‍ू’ घोषणा गरियो।

दुवै देशमा लकडाउन खुकुलो बनाउनुका प्रमुख कारण थियो– आर्थिक क्षेत्र चलायमान बनाउनु।

यी साना–साना काम औंल्याउँदा भारतले जे–जस्तो निर्णय लियो, नेपालले पनि सोही मोडल अपनाएको देखिन्छ।

सही र उपयुक्त निर्णय पछ्याउँदा देशलाई फाइदा नै भएको तर आफ्नो देशको परिस्थिति र वातावरण हेरेर निर्णय लिन नसक्दा नेपाल झनै खतरामा परेको बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनी।

उनका अनुसार भारत नेपालभन्दा कयौं गुणा ठूलो छ। यसको जनसंख्या, स्वास्थ्य सेवा भौगोलिक स्थिति हाम्रोभन्दा सहज र राम्रो छ। यस्तो अवस्थामा हामीले भारतको नीतिलाई पछ्याउँदा हामीलाई नै गाह्रो परेको छ।

‘भारतमा मजदुरहरूको संख्या धेरै छ। धेरै समय लकडाउन गर्दा समस्या हुने भएकाले खुकुलो बनाउनु स्वाभाविक हो तर नेपालले सोही मोडलाई फलो गर्दा संक्रमण फैलिएको हो,’ उनले भने।

कहाँ चुक्यो सरकार?

खुला सिमानामा पहरा दिन नसक्नु र भारतबाट आएकालाई क्वारेन्टिनमा व्यवस्थापन गर्न नसक्नु नै सरकारको कमजोरी रहेको बताउँछन् मरासिनी।

भारतले नागरिकलाई धेरै समय थुनेर राख्न नसकेकै कारण खुला गरियो। धेरैजसो मजदुर भोकै मर्नुभन्दा आफ्नै ठाउँमा बस्नु राम्रो भनेर आवतजावत गरे। यही समयमा भारतमा काम गर्न गएका नेपाली कामदार पनि नेपाल छिर्न थाले।

भारतले लकडाउन खोले पनि सरकारले सिमाना बन्द गर्नुप¥यो र आफ्ना नागरिक राख्न क्वारेन्टिनको व्यवस्था गर्न सक्नुपथ्र्यो।

पोलियो रोगको उदाहरण दिँदै मरासिनीले भारत र नेपालमा पोलियोको औषधि एकै समयमा खुवाइएका कारण निर्मूल पार्न सजिलो भएको बताए।

‘तर, यो फरक रोग हो,’ उनले भने, ‘सरकारले भारतको हेरेर आफ्नै नीति ल्याउनुपर्थ्यो’ उनले भने।

मरासिनीका अनुसार हवाई मार्गबाट आउनेलाई पिसिआर परीक्षण गरेर ल्याउनुपथ्र्यो र खुला सिमानाबाट आउनेलाई पनि रिपोर्ट ल्याउ वा १४ दिन क्वारेन्टिनमा बस भन्नुपथ्र्यो।

त्यस्तै आरडिटी परीक्षणले गर्दा पनि धेरै संक्रमण फैलिएको र मृत्यु भएको उनी बताउँछन्। परीक्षणले सही रिपोर्ट नदेखाएका कारण धेरै मानिस विषेशगरी गाउँतिरकाको ज्यान गएको उनी बताउँछन्।

अनि नेपालीको अनुशासनहीन बानीका कारण पनि संक्रमण फैलिएको उनको भनाइ छ। ।

‘नेपालीको जहाँतहीँ भीड गर्ने बानी छ। मास्क र पन्जा लगाए पनि समाजिक दुरी भने कहिल्यै कायम गरेनन्। न त बस चढ्ने बेला लाइनमा उभिन्छन् न केही सामान किन्ने बेला। पालो मिचेर अघि बढ्न पाए ठूलै उपलब्धी हासिल गरेँ भन्ठान्छन्,’ मरासिनीले भने।

र, अन्त्यमा सरकार कोरोनामा चुकेको भनेको पर्याप्त सन्देश जनतामाझ पु¥याउन नसक्नु पनि हो।

सरकारले विश्व स्वास्थ्य संगठनले जे भन्छ त्यसैलाई अनुवाद गरेर जनतालाई सन्देश दिँदै आएको छ। संगठनले जेनेभालाई आँखामा राखेर गाइडलाइन बनाउँछ तर सोही नीति नेपालमा हुबहु लागू गर्न नसकिने बताउँछन् मरासिनी।

सरकारले आफ्नो जनताको व्यवहार र भौगोलिक बनोटका आधारमा नीति बनाउनु आवश्यक रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय