निडर नर्स! जो कोरोना कहरमै जागिर खान पुगिन्

चीनको उहान सहरमा कोेभिड–१९ का बिरामी देखिन थालेपछि विश्वभर यस रोगको चर्चा हुन थाल्यो। यो रोग सम्बन्धी औषधि रिर्सच गर्ने र आफ्नो देश सुरक्षित राख्नको लागि अघिकांश देशले लकडाउन गरेका थिए।

चीन जस्तो शक्तिशाली देशले कोभिड–१९ को उपचार ल्याउने भन्ने सबैको अपेक्षा थियो। त्यसमा नेपालीहरू पनि ढुक्क थिए। समयमै औषधि बन्ने र नेपालसम्म यो भाइरसको प्रकोपले छुँदैन भनेर।

तर, चैत्रमा विदेशबाट फर्किएका केही व्यक्तिहरूमा कोरोना पोजेटिभ भेटिएपछि चैत्र १२ गतेदेखि नेपालमा पनि लकडाउन सुरु भयो। कोरोना नेपालमा नआउँदासम्म सबैजना ढुक्कले नेपाली कोरोना नेपालमा भित्रियो भन्नेबित्तिकै आत्तिए।

लकडाउनमा अरु अफिस तथा कर्मचारीलाई बिदा भए पनि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको जिम्मेवारी भने बढेको थियो। कोरोना भाइरस के हो ? यसबाट कसरी बच्न सकिन्न भन्ने कुरा जानकारी नभएपछि स्वास्थ्यकर्मीसमेत त्रसित बने।

त्यतिबेला कोभिड–१९ को लक्षण जस्तो भएका र आईसियूमा राख्नुपर्ने बिरामी भएपछि स्वास्थ्यकर्मीले पनि छुन डराएका थिए। झन् पछि कोरोना भएका बिरामी राख्ने अस्पताल तथा क्वारेन्टाइनमा काम गर्नुपर्छ भन्ने बेलामा केही नर्सहरूले जागिर छाडेका पनि छन्।

केही नर्सले भने कोरोना संक्रमित बिरामी हेर्न वार्डमा ड्युटी नगर्ने नै भने भनेर विभिन्न सञ्चारमाध्यममा समाचार पनि आए। यस्तो अवस्था धेरै स्वास्थ्यकर्मीहरू घरमै बस्न पाए पनि हुने, कोभिडको विरामी हेर्न नपरे पनि हुने, परिवारले पनि कोरोनाका बिरामी हेर्ने वार्डमा भए जागिर नै छोड्न लगाएको भन्ने नर्सहरू पनि थिए।

यस्तो मनस्थिति भइरहेको अवस्थामा एकजना २२ वर्षीय रोजिना कार्की (नर्स) भने कोभिड–१९ का बिरामीको सेवामा लागिपरेकी थिइन्। उनी अहिले त्रिपुरेश्वर टेकु अस्पतालको आईसियूमा राखेका कोरोना संक्रमित बिरामीहरूको उपचारमा जुटेकी छिन्।

उनले कोभिड–१९ का बिरामी हेर्न नर्स आवश्यकता विज्ञापन देख्ने बित्तिकै त्यसको फारम भरिन्। उनले भनिन्, ‘नर्स आवश्यकताको विज्ञापन पढेको बेला एउटै मात्र कुरा मनमा लागेको थियो। मैले नर्सिङ शिक्षा बिरामीहरूको सेवा गर्नको लागि पढेकी हुँ, न कि डिग्री कोठा वा दराजमा सजाउनका लागि ?’ उनी भर्खर पिसीएल पास सक्याएर घरमा बसिरहेकी थिइन्।

काम गर्ने आफू भए पनि परिवारको सल्लाह लिनको लागि उनले आफ्नो जन्मथलो सोलुखुम्बुमा रहेका आमाबुवालाई खबर गरिन्। रोजिना भन्छिन्, ‘आमाको मन त हो, आमाले धेरै व्यक्तिहरू संक्रमित भएका छन् छोरी यो रोगको औषधि पनि छैन् रे, नगर्दा हुर्दैन, भन्नु भएको थियो।’

तर, उनको बुवाले भने उनलाई कोभिड–१९ का बिरामीको सेवा गर्ने सोँच राखेकोमा गर्व गरेका थिए। ‘बुवा मैले गरेको निर्णयमा खुसी हुनुभएको थियो,’ उनले भनिन्, ‘मैले आवेदन भरेर जाँच दिएको थिएँ, जसमा भाग्यबस म पनि छनोट भएँ।’ तर, उनको खुसी धेरैबेर रहेन।

उनले कोभिड–१९ का आईसियूका बिरामीलाई हेरचाह गर्ने काम भन्ने थाहा भएपछि होस्टलका मालिकले पनि होस्टेलमा नर्फकिनु, अस्पतालमा नै बस्ने व्यवस्था मिलाउन अनुरोध गरे। उनी पढाइका लागि होस्टेलमा बस्दै आएकी थिइन्।

‘केही दिन त उहाँहरूले गरेको व्यवहार देखेर मानसिक तनाव जस्तो नै भएको थियो,’ उनी भन्छिन्, ‘तर म बस्ने एउटा पूरै फ्ल्याटमा आफू एक्लै बस्ने भएकोले अरु तनाव झेल्नु परेन्।’

कोभिड–१९ का कारण होस्टेलका धेरै विद्यार्थी घर गइसकेका थिए। ‘उनीहरू पनि भएको भए त चाहेर पनि कोभिड–१९ का बिरामीलाई सेवा दिन सक्दिन थिएँ’, उनले आफ्नो अवस्था बेलिविस्तार लगाइन्। अहिले भने अस्पतालले व्यवस्थापन गरेको होटलमा बस्दै आएकी छन्।

रोजिनाले टेकु अस्पतालमा जेठ ६ गतेदेखि आईसियूमा काम सुरु गरेकी थिइन्। उनलाई कोभिड–१९ का आईसियूमा भएका बिरामीको हेरचाह गर्नुपर्ने थियो। सुरुको केही दिन बिरामीलाई कसरी हेरचाह गर्ने, बिरामीको अगाडि कसरी जाने, पीपीई लगाउने कसरी, पुकाल्ने कसरी भनेर तालिम लिइन्।

आईसियूमा छिर्दाको अनुभव

उनले भन्छिन्, ‘कोभिड–१९ का बिरामी भएको आईसियू वार्डमा पहिलोपल्ट छिर्दा त मलाई एकदम डर लागेको थियो, एकदम आत्तिएको पनि थिए। मनमा धेरै प्रश्न उठे।’

कसरी उपचार गर्ने, मैले गर्न सक्छु कि सक्दिन, भन्ने कुराले उनलाई पिरोल्यो। साथै पूरै पीपीई, ग्लब्स, बुट, मास्क लगाएर आईसियूभित्र आफैंलाई देख्दा आफू कुनै युद्ध नै लड्न गएको अनुभव भएको उनी सुनाउँछिन्।

सुरुको एक/दुई साता त पीपीई सबै लगाएर भित्र जाने बेलामा एकदम शरिर असजिलो, यताउता चल्ने गाह्रो भएको पनि थियो उनलाई।

‘अहिले त निरन्तर यही काम भएकोले बानी भइसक्यो, यो पनि अरु नरमल लुगाजस्तै शरीरमा फिट भइसक्यो,’ हाँस्दै उनी सुनाउँछिन् ।
पीपीई लगाएर आईसियूभित्र छिरिसकेपछि पानी, खाना, शौचालय जान नमिल्ने उनी सुनाउँछिन्। त्यसकारण आइसियूभित्र जानुअघि नै शौचालय जानुपर्ने, खाना पानी खाएर जाने गरिन्छ।

आईसियूभित्र पिसाब लाग्छ भनेर पानी थोरै खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘कहिलेकाही त आईसियूभित्र बस्दाबस्दा प्यास लाग्छ, बिरामीले पानी खाएको हेरेर आफूले चाहीँ थुक निलेर चित्त बुझाउने गरेको छु,’ उनले भन्छिन्।

ड्युटी नसकेसम्म पानी खान त के मास्क पनि फुकाल्न पाइँदैन। सबैभन्दा ठूलो समस्या त महिनावारी भएको बेला हुने उनको भनाइ छ।
महिलालाई महिनावारी हुने बेलामा समय–समयमा शौचालय जानुपर्ने हुन्छ। तर, आईसियूमा गइसकेपछि ड्युटी नसकेसम्म बाहिर निस्कन

नमिल्ने भएकाले आईसियू छिर्नुअघि ३–४ वटा प्याड खप्ट्याएर लगाउने गरेको उनले बताइन्। ‘एकचोटि त डायरीया भएर डाइपर पनि लगाएको थिए,’ हाँस्दै उनले सम्झिइन्, ‘डाइपरचाहीँ केही यस्तै स्वास्थ्यमा समस्या भएमात्र हो नभए त लगाउनु पर्दैन।’

‘पीपीई लगाएर ८ घन्टा आईसियूभित्र ड्युटी गर्ने बेला पसिनाले पूरै लुगा निचोर्न गरी भिज्छ,’ उनले भनिन्, ‘बाहिर सर्वसाधारणहरू एक घन्टाजति मास्क लगाउनुपर्दा मुख बिर्गाछन्, हामीले मास्क चस्मा पीपीई बुट लगाएर ८ घन्टा काम गर्दा कस्तो भयो होला सर्वसाधारण आफैंले विचार गर्नुस्।’

काम गरेपछि अलिगाह्रो त हुन्छ तर कोभिड १९ का विरामीको सेवा गर्न पाएकोमा नै खुसी र भाग्यमानी भएको ठान्छिन् उनी। सेवा गरेका बिरामी निको भएर घर फर्किँदा आफैंमा गर्व महशुस हुने उनको अनुभव छ।

सुरुमा उनले काम सुरु गर्दा टेकु अस्पतालमा जम्मा ३ वटामात्र आईसियू बेड थिए। त्यसमा पनि कहिलेकाहीँ मात्र बेड फूल हुने उनी बताउँछिन्। कुनै बेलामा त आईसियूमा बिरामी नभएर आफूलाई ओपीडी, आइसोलेसन, ग्याटी वार्डमा पनि काम गरेको उनी सम्झिछिन्।

तर, केही समयपछि टेकु अस्पतालमा २२ बेडको आईसियू सञ्चालन भएपछि भ्याइनभ्याई भएको उनी सुनाउँछिन्। कोरोनाको संक्रमण बढेपछि अहिले आईसियूको २२ बेड कहिले पनि खाली नहुने उनी बताउँछिन्।

‘आजभोली त आईसियू सबै फूल नि!,’ उनले भनिन्, ‘अस्पतालमा आईसियूका सबै बेड फूल भएका कारण केही बिरामीहरूलाई रेफर गर्नुपर्ने अवस्था आएको पनि थियो।’

नर्स बन्ने प्रेरणा 

उनी सानो छँदा सोलुखुम्बुमा उपचार नपाएर गर्भवती महिलाहरूले अकालमै ज्यान गुमाएको समाचारमा सुन्दै आएकी थिइन्। यसले उनलाई सँधै दुर्गममा भरपर्दो स्वास्थ्य संस्था नहुनु र आफ्नो क्षेत्रका स्वास्थ्यकर्मी नभएकै कारण अकालमा ज्यान गुमाउन बाध्य भएको उनको बुझाइ बन्यो।

यतिमात्र होइन, उनकी आमालाई पनि समयसमयमा उपचारका लागि अस्पताल लगिरहँदा उनी आफैं स्वास्थ्यकर्मी बन्ने निधो गरिन्।
अहिले आफैं हेरबिचार गरेका बिरामी निको भएर घर फर्किँदा आफ्नो आमाको उचपार गरेको महशुस हुने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘मलाई शहरमाभन्दा ग्रामीण क्षेत्रमै गएर सेवा दिन मन छ।’ उनले पढाई नसके पनि कोभिड–१९ का बिरामीलाई सेवा दिन पाउँदा आफू एकदम भाग्यमानी भएको बताउँछिन्। उपचार नपाएर कोहीले पनि कालमै ज्यान गुमाउनु नपरोस भन्ने उनको इच्छा छ।

बिरामीको व्यवहार

उनी भन्छिन्, ‘बिरामीहरू भर्ना भएको २–३ दिन त एकदम दुःखी हुन्छन्, कोहीसँग बोल्दैन्न्। कोही भने घर पठाइदिनु भन्छन्।’ कतिलाई त बालबच्चालाई फकाएजस्तो गर्नुपर्ने उनी सुनाउँछिन्। आईसियूमा भर्ना हुने धेरैजसो दिर्घरोगी, जेष्ठ नागरिकहरु नै हुन्छन्।

पहिला बाहिरका धेरै बिरामीहरु आए पनि अहिले कोरोना फैलिएपछि स्थानीय नै धेरै आईसियूमा भर्ना हुने गरेका छन्।

उनी एकजना बिरामी सम्झिँदै भन्छिन्, ‘एकजना बिरामी त घर जानु पर्‍यो, मलाई डिस्चार्ज गर्नु न, म यहाँ भर्ना भएर बसेपछि घरपरिवारले के खान्छ? टेर्लस खोल्न जानु पर्‍यो। अब मलाई घरभाडा कसरी तिर्ने, घरबाट पनि निकाल्छन् होला? भन्दै दुःखेसो पोख्नुभयो।’

टेकु अस्पतालमा सेवा सुविधा राम्रो भएकै कारण अहिलेसम्म कोही पनि स्वास्थ्यकर्मी कोरोना संक्रमित नभएको उनले बताइन्। अस्पतालमा नियम र अनुशासित भएर काम गर्ने गरेको उनले सुनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय