प्रदेश ५ मा ६० प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा

प्रदेश ५ मा आधा भन्दा बढी कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेको पाइएको छ ।

सरकारले संक्रमण भएका व्यक्तिहरु होम आइसोलेसनमा बस्न सक्ने प्रावधान ल्याएपछि मुख्य गरेर संक्रमण भएका तर लक्षण नदेखिएकाहरु घरमै बस्दै आएका छन् ।

अस्पताल र सामुदायिक आइसोलेसन सेन्टरमा भन्दा घरमै रहदा परिवारकै रेखदेख बढी हुने देखिएपछि संक्रमितहरु घरमा बस्नमा जोड दिएको हुनसक्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन्।

घरमै बसेका संक्रमितहरुलाई स्थानीय तहहरुले रोगसँग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी र परामर्श दिने गरेका छन् ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका प्रमुख तथा उपप्रमुखहरु संक्रमितको घरसम्म पुगेर अवस्था बुझ्ने गरेका छन् ।

त्यसैगरी अस्पताल तथा मन्त्रालयका अधिकारीहरु संक्रमि भएको अवस्थामा प्रदेश ५ का मन्त्रीहरुले नै स्वास्थ्य अवस्था बुझ्नका लागि जाने गरेका छन् ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका अनुसार अहिले २ हजार ३ सय ३७ जना संक्रिय संक्रमितमध्ये १ हजार ३ सय ९० जना होमआइसोलेसनमा छन् भने अस्पताल तथा सामुदायिक आइसोलेसन सेन्टरमा बस्नेको संख्या जम्मा ९ सय ४७ छ।

यसरी हेर्दा होमआइसोलेसनमा बस्नेको प्रतिशत ५९ दशमलब ५ हुन आउँछ । होम आइसोलेसनमा बस्नेमा सबैभन्दा बढी रुपन्देहीमा ६ सय ३४ जना छन् । त्यसैगरी नवलपरासीमा २ सय १६ जना, बाँकेमा १ सय ५७ जना, दाङमा १ सय २६ जना, बर्दियामा १ सय १२ जना, कपिलवस्तुमा ५९ जना, प्यूठानमा २३ जना, गुल्मीमा १२ जना र रोल्पामा ४ जना छन् ।

रुकुम पूर्व र अर्घाखाँचीमा होमआइसोलेसनमा बस्नेहरु छैनन् । अर्घाखाँचीमा संक्रिय संक्रमितको संख्या २८ जना र रुकुम पूर्वमा ३५ जना छन् । ति संक्रमितहरु अस्पताल र सामुदायिक आइसोलेसन सेन्टरमा रहेका छन् ।

प्रदेश ५ मा अहिले आइसोलेसन सेन्टरको संख्या १०२ छ भने ति आइसोलेसनमा ४ हजार २ सय ६६ बेड क्षमता छ । प्रदेश ५ मा निको हुन दर ७७ प्रतिशत छ भने ६९ जना संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले जानकारी दिए।

निर्देशक गिरीले घरमा आइसोलेसनमा बस्नेहरुले कुनै खालको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था र स्थानीय तहमा खबर गर्न र स्वास्थ्य संस्था साथै स्थानीय तहले पनि होमआइसोलेसनमा बस्नेहरुको स्वास्थ्य अवस्थाबारे नियमित रुपमा बुझ्नमा ध्यान दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय