तिलोत्तमामा निःशुल्क रेबिज खोप सप्ताह सुरु

तिलोत्तमा नगरपालिकाले एकहप्ते निःशुल्क रेबिज खोप सप्ताह सुरु गरेको छ।

१४औं विश्व रेबिज दिवसको अवसरमा प्रदेश ५ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र तिलोत्तमा नगरपालिकाको सहकार्यमा रेबिज खोप सप्ताह सञ्चालन भएको हो।

हरेक वर्ष सेप्टेम्बर २८ तारिखको दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ।

दिवसको पहिलो दिन जानकीनगरस्थित पशुसेवा शाखामा वडा १, २, ३, ४ र ५ मा पालिएका कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको छ।

असोज १३ गते वडा १३ र १४, असोज १४ गते वडा ११ र १२, असोज १५ गते वडा ६ र ८, असोज १६ गते वडा ७ र ९, असोज १७ गते वडा १० र १७, असोज १८ गते वडा १५ र १६ को लागि खोप कार्यक्रम सञ्चालन गरिने पशुसेवा शाखाले जनाएको छ।

नगरपालिकाले तोकिएको स्थानमा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन सबै नगरबासीलाई आग्रह गरेको छ।

रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेकोले यो रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवसको अवसरमा खोप सप्ताह सञ्चालन गरिएको हो।

खोप शुभारम्भ कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले रेबिज प्राणघातक रोग भएकोले यसबाट बच्न कुकुरधनीले आफूले पालेको कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप दिनुपर्ने बताए।

यस्तै तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले कुकुर पाल्ने जनस्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै घरपालुवा कुकुरलाई घरभित्रै राखिनुपर्नेमा जोड दिए।

कार्यक्रममा तिलोत्तमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, निर्देशनालयका प्रमुख तुलसीराम भण्डारी, डा. प्रदीप पौडेल, डा. हरि बहादुर कुँवरलगायतले कुकुर पाल्नेहरुले हरेक वर्ष अनिवार्य उनीहरुलाई खोप लगाउनुपर्ने बताए।

स्याल, बाँदर, ब्वासो, फ्याउरो, बिरालोलगायतका रोगी जनावरले टोकेको अवस्थामा समेत र्यालको माध्यमबाट रेबिज सर्ने गरे पनि दक्षिण पूर्वी एसियाका मानिसमा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको तथ्यांक छ।

रेबिज संक्रमित जनावरले टोक्दा र्यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्छ।

रेबिज रोगमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे–पोले जस्तो हुने, भाइरस

मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छन्।

घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुरलगायतका जनावरले टोकेमा साबुन–पानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय