आठ महिनादेखि तलब नपाएपछि मनमोहन अस्पतालका कर्मचारी ‘अनशन’मा

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज १२ गते १८:२४

तलबको माग गर्दै अनशनमा बसेका मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी

कोरोना महामारी सुरु भएपछि अधिकांश क्षेत्रले आर्थिक मन्दी भएको भन्दै कर्मचारी घटाउने र निष्कासन गर्ने गरेका थिए। यसबाट नेपाल पनि अछुतो रहेन। नेपालका पनि निजी क्षेत्रका धेरैले रोजगारी गुमाउनुपर्‍याे।

अधिकांश क्षेत्रबाट बेरोजगार भएका खबरहरू आइरहँदा अति संवेदनशील मानिएका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा कर्मचारी पनि यो प्रभावमा परेका छन्। लामो समयदेखि सेवासुविधा नबढाएको भन्दै केही साताअघिबाट निजामति कर्मचारी अस्पतालका कर्मचारी आन्दोलित छन्।

तर, उनीहरुकामा तलब नै नपाएको समस्या भने छैन। केही अस्पतालले भने कोभिडको बाहना बनाउँदै कोरोना महामारीका रुपमा फैलिनु अगावैदेखिको तलब नदिएको पाइएको छ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा खोलिएको मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारी विगत आठ महिनादेखि तलबविहीन बनेका छन्। लामो समयसम्म बिना तलब काम गर्दै आए पनि अब बाँच्न कठिन भएको भन्दै त्यहाँका कर्मचारीले आइतबारदेखि अनशन सुरु गरेका छन्।

गत माघमा आधा तलब दिइएको र त्यसयता एक रुपैयाँ पनि नदिएको भन्दै अस्पतालका झण्डै एक सय जना कर्मचारी आन्दोलित बनेका हुन्। व्यवस्थापनसँग लिखित र मौखिक रूपमा तलबका लागि माग गरे पनि कुनै सम्बोधन नभएपछि रिले अनशन सुरु गर्नुपरेको अस्पतालमा कार्यरत चिकित्सक-कर्मचारीको गुनासो छ।

करिब एकसय ५ जना चिकित्सक र कर्मचारी कार्यरत उक्त अस्पतालमा अहिले एक सयको हाराहारीमा कर्मचारी आन्दोलनमा छन्। उनीहरू कसैले पनि आफ्नो तलब नपाएको अस्पतालमा कार्यरत ल्याब टेक्निसियन वर्षा जोशीले बताइन्। जोशी सात वर्षदेखि त्यहाँ ल्याब टेक्निसियनमा कार्यरत छिन्।

‘हामीले वैशाखदेखि नै तलब माग गर्दै आएका छौं, तर व्यवस्थापनले जहिले पनि आश्वासनबाहेक तलब दिन सकेको छैन,’ उनले भनिन्, ‘लिखित र मौखिक रुपमा समस्या समाधानका लागि आग्रह गर्दा पनि नमानेपछि हामी आन्दोलनमा होमिन बाध्य भएका हौं।’

आफूहरु आन्दोलनमा बसे पनि उपचारका लागि आउने बिरामीलाई भने मर्का नपारेको जोशी बताउँछिन्। ‘गत असारमा पनि हामीले पहिलेको तीन महिनाको बाँकी दिन अनुरोध गरेका थियौं, त्यसबेला पनि रकम छैन, केही समयपछि जोहो गरेर दिन्छौं भन्नुभएको थियो,’ जोशीले थपिन्, ‘हुँदा हुँदा त भदौसम्मकै पाइएको छैन। बाध्य भएर आन्दोलन गर्नुपरेको हो।’

विसं २०६३ मा स्थापना भएको यो अस्पतालमा अहिले स्थापनाकालदेखि नै काम गरेका कर्मचारीहरू पनि अन्यायमा परेका छन्। गत साउनको अन्तिममा एकाएक वर्षौंदेखि काम गरेका कर्मचारीलाई भोलीदेखि नआउनुभन्दै व्यवस्थापनले मौखिक निर्देशन दिएको थियो। त्यसयता २५ जना कर्मचारी निकास्सन भएका छन्।

‘एकाएक कर्मचारीलाई भोलीदेखि नआउनु भन्ने निर्देशन आएपछि २५ जना साथीहरुले काम छाड्नुपर्यो, अहिले केही साथीहरू हाम्रै अनशनमा हुनुहुन्छ,’ ११ वर्षदेखि अस्पतालमा कार्यरत स्टोर शाखाका कर्मचारी तथा अस्पतालको ट्रेड युनियनका सचिव निर्मल पोखरेलले भने।

उनले आफूहरूलाई पारिश्रमिक नदिएको र कर्मचारी निष्कासनबारे कानुनी लडाइँका लागि श्रम कार्यालय पुगे पनि त्यहाँबाट कुनै पहल नभएको बताए।

‘यसरी वर्षौंदेखि काम गरिरहेका कर्मचारीलाई बिनाकारण कोरोनाको बाहनामा निष्कासन गर्नु निन्दनीय हो,’ उनले भने, ‘हामीले अहिले पारिश्रमिकका साथै अस्पतालभित्र काम गर्ने वातावरण सहज बनाउन माग गरिरहेका छौं। व्यवस्थापनले कुनै चासो दिएको छैन।’

त्यहाँ कार्यरत हेल्परदेखि मेडिकल अफिसरसम्मका कर्मचारीले माघयताको तलब पाएका छैनन्।  १८ महिनादेखि त कर्मचारीको सञ्चयकोषको रकम पनि जम्मा नगरिएको कर्मचारीको गुनासो छ। डेढ वर्षदेखि त्यहाँ मेडिकल अफिसरका रुपमा कार्यरत शरद ओलीले पनि सात महिनायताको तलब एक रुपैयाँ पनि पाएका छैनन्।

‘सुरुसुरुमा त घरमा भन्न पनि अप्ठ्यारो लाग्यो, भोकै मर्ने स्थिति आएपछि बाध्य भएर घरमा खर्च पठाइदिन भने,’ उनले भने, ‘सबैको घरबाट खर्च पठाउने स्थिति नहुन पनि सक्छ। आठ महिनादेखि तलब नदिँदा भाडामा बस्ने कर्मचारीलाई के असर परेको होला भन्ने व्यवस्थापनले सोचेकै देखिएन।’

यस्तै, अस्पतालकी कर्मचारी युनियनकी अध्यक्ष निशु गजुरेल स्थापनाकालदेखि नै त्यहाँ कार्यरत छिन्। अहिले उनले पनि विगत आठ महिनादेखि एक रुपैयाँ पनि तलब पाएकी छैनन्। ‘बिरामी आउने अस्पतालमा अनशन बस्न कसलाई रहर हुन्थ्यो र?’ उनले भनिन्, ‘स्थापनादेखि नै हामीले झाडु लगाउने कामसमेत गर्न पर्यो। अहिले व्यवस्थापनले रुँगेर बस्नेलाई कसले तलब दिन्छ भन्ने जवाफ दिँदै आएको छ।’

उनले रुँगेर बसेको भए सुरुवातीमै निकाल्नुपर्नेमा यस्तो अवस्थामा पनि काम लगाएर अहिले पारिश्रमिक दिन नखोज्नुले पदाधिकारी र व्यवस्थापनको नियतमा बदमासी देखिएको बताइन्। हालसम्म बिरामीको उपचारमा आफूहरूले कुनै असर नदेखाए पनि व्यवस्थापनले माग पूरा गर्न अटेरी गरे, सम्पूर्ण सेवा बन्द गर्न बाध्य हुने बताइन्।

यस विषयमा अस्पतालका डाइरेक्टर डा. जीवनेश्वरलाल झा पनि आठ महिनादेखि तलब नदिएको स्वीकार्छन्। ‘बिरामी कम हुँदै जाँदा संस्थाको आम्दानी घटेको हो। त्यसैमा तीन महिनाको पहिलाको दिन बाँकी नै थियो,’ उनले भने, ‘लगत्तै कोरोना आएपछि, अस्पताल नै ठप्प पार्नुपर्‍याे। अनि आम्दानी नै नभएपछि कहाँबाट दिनु।’

आफूहरूले स्वयम्भूमा रहेको मनमोहन अस्पतालको मुख्य कार्यालयमा छलफल चलिरहेपछि अस्पतालभित्रका युनियनमा आवद्ध कर्मचारीले मेडिकल अफिसरलाई पनि उचालेको बताए। ‘स्वयम्भूको अस्पतालमा पैसा छ, हामीले त्यहाँ कुरा गरिहेका छौं,’ उनले भने, ‘अनावश्यक राजनीति खेल्नका लागि मेडिकल अफिसरहरूलाई उचालिएको हो।’

कोरोना प्रभावका कारण आम्दानी कम हुँदा केही कर्मचारीलाई अवस्था सामान्य नहुँदासम्म घर बस्न भनिए पनि निष्कासन गरेको भन्ने आरोप साँचो नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय