निजी अस्पतालले सरकारले तोकेको मूल्यमा पिसिआर परीक्षण नगर्ने

निजी अस्पतालहरूले सरकारले तोकेको न्यूनतम मूल्यमा आरटी-पिसिआर परीक्षण गराउन तयार नभएको बताएका छन्।

सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण मूल्य दुई हजार तोकेको छ।

त्यसभन्दा बढी लिएमा कारबाही गरिने पनि मन्त्रालयले बताउँदै आएको छ। तर, निजी अस्पतालहले भने उक्त मूल्यमा आरटी-पिसिआर परीक्षण गराउन नसक्ने बताएका छन्।

हाल निजी अस्पतालहरुले पिसिआर परीक्षणको मूल्य न्यूनतम तीन हजार ८ सय ९९ रुपैयाँ लिइरहेका छन्। स्वास्थ्य मन्त्रालयसँग छलफल चलिरहेकाले नयाँ दररेट नआउँदासम्म उक्त मूल्यमा नै पिसिआर परीक्षण गर्ने दाबी गरेका छन्।

निजी अस्तालका तर्फबाट स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर प्रालिका ल्याबहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै हाल सरकारले तोकेको न्यूनतम मूल्यमा आरटी-पिसिआर परीक्षण गर्न नसक्ने बताएका छन्।

उनीहरूले निजी अस्पतालका ल्याबले लिने शुल्कका बारेमा सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आफूहरूले विश्वस्वास्थ्य संगठनले तोकेकै न्यूनतम मूल्य लिएकाले तत्काल सरकारले तोकेको मूल्यमा परीक्षण गर्न नसक्ने बताएका छन्।

आफूहरुले दिएको सेवा उच्चस्तरीय भएको दाबी गर्दै उनीहरुले कोरोना प्रभावले निजी अस्पतालहरूसमेत प्रभावित भएकाबेला सरकारले समन्वय नगरी मूल्य तोक्नुले मर्का परेकोसमेत बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हाल मन्त्रालयले निर्धारण गरेको शुल्कको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा टीकाटिप्पणी भइरहेको सन्दर्भमा हामी निजी अस्पताल तथा हाम्रा ल्याबहरुले वैज्ञानिक तवरले विश्व स्वास्थ्य संगठन मापदण्डअनुसार निर्धारण गरिएको शुल्क नै लिएको जानकारी गराउँदछौं।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल चलिरहेकाले नयाँ दररेट नआउँदासम्म आफूहरुले हाल लिइरहेको शुल्कमै आरटी–पिसिआर परीक्षण गर्ने निजी अस्पताल तथा उनीहरूका ल्याबले दाबी गरेका छन्।

विज्ञप्तिमा अघि भनिएको छ, ‘शुल्क निर्धारणको वैज्ञानिक आधार हामीले मन्त्रालयलाई दिइसकेका छौं। मन्त्रालयसँगको छलफलबाट नयाँ सन्तुलित र न्यायोचित दररेट निर्धारण नहुँदासम्म हामी तीन हजार ८ सय ९९ रुपैयाँ नै लिन्छौं। यस विषयमा अनावश्यक टीकाटिप्पणी नगरिदिन हुन सबैमा अनुरोध गर्दछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय