डा. केसीलाई आवासीय चिकित्सकहरुको समर्थन जुट्दै

चिकित्सा क्षेत्र सुधारलगायत सुशासनका पक्षमा अनशनरत डा. गोविन्द केसी अनशन बसेको आज १५ औं दिन पुगेको छ। उनको स्वास्थ्य अवस्था दैनिक कमजोर बन्दै गएको छ।

नागरिकदेखि बुद्धिजीवीहरु सबैले सरकारलाई केसीका माग पूरा गर्न दवाव दिइरहेका छन्। तै पनि सरकारले केसीसँग वार्ता गर्नका लागि समेत एउटा समिति पनि बनाउन चासो दिएको छैन।

यता अनशनरत डा. केसीको अवस्था नाजुक बन्दै गएकाले चिकित्सकहरुले पनि तत्काल वार्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

केही दिनअघिदेखि त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सहरुले डा. केसीका मागका समर्थनमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्।

यस्तै डा. केसीका मागप्रति सरकार उदासिन देखिएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकले पनि अनशनप्रति समर्थन जनाएका छन्।

उनीहरुले पनि केसीका मागमा सरकारले बेवास्ता गरेको भन्दै दवाव दिन आजदेखि कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन्। न्याम्स र विपी प्रतिष्ठानका चिकित्सहरुले एक विज्ञप्ती जारी गर्दै आजदेखि कालोपट्टी बाँधेर सेवा दिने बताएका छन्।

यदि समयमै डा. केसीले राखेका माग पूरा गरी उनको जीवन रक्षामा सरकारले पहलकदमी नगरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

रेसिडेन्ट एसोसिशयसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराई, विपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. राजेन्द्र घिमिरे र नेसनल डाक्टर्स एसोशियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. शुवास देवाकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा सरकारले छिट्टै माग पूरा गरी केसीको जीवन रक्षा गर्ने सन्दर्भमा कुनै कदम नचाले कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

सबै क्षेत्रतिरबाट केसीका पक्षमा आन्दोलन र प्रदर्शन चर्किरहेका बेला ठूला अस्पतालका आवासीय चिकित्सकहरुले पनि दवावस्वरुप कालोपट्टी बाँधेर सांकेतिक आन्दोलन सुरु गरेका हुन्।

उनीहरुले यो सांकेतिक आन्दोलनलाई हल्का रुपमा लिएर सरकारले बेवास्ता गरे, चिकित्सा क्षेत्रमा सरकारले ठूलो नोक्सानी व्यहोर्नुपर्ने पनि बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय