परीक्षार्थीलाई पीसीआर परीक्षण नगराउनुः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले परीक्षामा सहभागी हुने लक्षण नभएका परीक्षार्थीलाई पीसीआर परीक्षण नगराउन निर्देशन दिएको छ।

कोरोना रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुने विद्यार्थीलाई आरटी÷पीसीआर परीक्षण गराउनुपर्ने निर्णय गरेकाले उक्त निर्णय लागू नगर्न निर्देशन दिइएको जानकारी दिए।

उनले कलेजहरुले गरेको उक्त निर्णय वैज्ञानिक नभएको पनि बताए। ‘प्राइभेट मेडिकल कलेजले आरटी÷पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णयमा गरेकोमा यो निर्णयले वैज्ञानिक आधार पुष्टि गराउँदैन,’ उनले भने, ‘त्यसैले लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण नगराउनु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशन छ।’

उनले सबै मेडिकल कलेजहरुलाई तत्काल यो निर्णय खारेज गर्न पनि निर्देशन दिएका छन्। उनले सरकारले तोकेका क्षेत्रबाहेक अरुको आरटी÷पीसीआर गराउन अवैधानिक भएको पनि बताए।

‘हामीले कन्ट्रयाक टेसिङमा परेका, फ्रन्ट लाइनमा काम गर्ने, आईसियूमा रहेकालाई मात्र पीसीआर परीक्षण गर्ने नीति लिएका छौं,’ उनले भने, ‘यो नीतिविपरीत लक्षण नदेखिएकालाई परीक्षण गराउनु अवैधानिक हो।’

सम्पूर्ण मेडिकल कलेजलाई त्यसो नगर्न मन्त्रालयले अनुरोध गरेको पनि उनले बताए। ‘यदि त्यसो भएमा कोभिड रोकथाममा सरकारले गरेको प्रयासविरुद्ध हुन्छ भन्ने छ,’ उनले भने, ‘यदि यो निर्देशन विपरीत कसैले लक्षण नै नदेखिएका परीक्षार्थीलाई पीसीआर परीक्षण गराएको पाइएमा कारबाही गरिनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय