भक्तपुर नगरले बनायाे सुविधासम्पन्न आइसोलेसन केन्द्र, आजदेखि सञ्चालन आउने

कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र आज असोज १० देखि सञ्चालन हुने आउने भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायक ब्यारेक वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइरालालगायतको टोलीले शुक्रबार आइसोलेसन केन्द्रको निरीक्षण गरे।

भक्तपुर नगरपालिकामा कोरोना संक्रमित संख्या बढेसँगै नगरपालिकाले ७५ शैय्याको आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको होे।

यसअघि संक्रमितलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोमा संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुटै आइसोलेसन आवश्यक भएकाले तयारी गरिएको हो।

भक्तपुर नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना संक्रमितलक्षित गरी आइसोलेसन केन्द्र तयार पारेको हो। नगरपालिकाले सरकारको मापदण्डअनुरुप नै केन्द्र निर्माण गरेको छ।

आइसोलेसन केन्द्रको माथिल्लो तलामा महिला कक्ष, दोस्रो तलामा पुरुष कक्ष, पहिलो तलामा जोखिम वर्गमा परेका जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्त गरिएको छ भने भूइँतलामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेका छन्।

उक्त आइसोलेसन केन्द्रमा नगरपालिका स्वयंले आवश्यक जनशक्ति परिचालन र व्यवस्थापन पनि गरेको छ।

आइसोलेसनमा बस्ने संक्रमितका लागि आवश्यक लुगाफाटाबाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गर्नेछ। प्रत्येक संक्रमितका लागि अलग अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तलामा पढ्न किताब, पत्रपत्रिकासहितको ¥याक व्यवस्था गरिएको छ।

आइसोलेसन केन्द्रमा हरेक दिन तीन जना नर्सले नियमित ड्युटीको व्यवस्था गर्नुका साथै प्रत्येक दिन बिहान १ र बेलुकी १ गरी दुई डाक्टरले ड्युटी गर्नेछन्।

केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जना कर्मचारी व्यवस्था गरिएको छ। संक्रमितलाई सूचना प्रवाहका लागि माइकिङ र अलग अलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ। साथै छुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपीई सेटको बन्दोबस्त छ भने दैनिक चार छाक (खाना खाजा) खुवाइने व्यवस्था पनि गरिनेछ।

भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकामा परिवारै संक्रमित देखिएकोे हुँदा होम आइसोलेसन व्यावहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसन व्यवस्था गरेको हो।

संक्रमितकानिम्ति आवश्यक भएमा अक्सिजनकोे व्यवस्था पनि गरिएको छ। तर रोगका लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई आइसोलेसन केन्द्रमा राखिने जनाइएको छ।

आइसोलेनमा बस्दाबस्दै बिरामीलाई अप्ठ्यारो महसुस भएको खण्डमा डाक्टरको सल्लाह नगरपालिकाको एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारलाई पठाउने बन्दोबस्त गरिएको छ। त्यसनिम्ति आइसोलेसन केन्द्रमा अलग्गै एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ।

नगरपालिकाले त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीका लागि सुरक्षाको व्यवस्था गरेको छ।

आइसोलेसन केन्द्रमा सात दिनको ड्युटी सकिनेबित्तिकै उनीहरुलाई एक हप्ताको लागि अलग क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणपछि ड्युटीमा खटाउने व्यवस्था गरिने छ।

नगरका संक्रमितलक्षित गरी निर्माण गरिएको उक्त आइसोलेसन स्थापनामा त्यहाँका स्थानीयको साथ र सहयोग रहेको जनाइएको छ।

जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनस्र्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय