आयुर्वेद पढेकालाई नर्सिङ काउन्सिलले दियो प्रमाणपत्र, पीडित भन्छिन् ‘दर्ता गराइदिने मान्छे सम्पर्कमै छैनन्’

नर्स तथा अनमीको दर्ता एवं प्रमाणपत्र जारी गर्ने नेपाल नर्सिङ काउन्सिलले सोसम्बन्धी अध्ययन नै नगरेको व्यक्तिलाई परिषदमा दर्ता गरिदिएको तथ्य भेटिएको छ।

आयुर्वेदतर्फको अग्जुलरी आयुर्वेदा हेल्थ वर्क (ए.ए.एच.डब्लु) पढेकी डडेल्धुराकी माया पन्तलाई नर्सिङ परिषद्ले अग्जुलरी नर्स मिडवाइफ्री (एएनएम) को रुपमा दर्ता गरिदिएको हो।

पढाइभन्दा फरक विधाको काउन्सिलको प्रमाणपत्र बोकेर हिँडिरहेकी युवती जागिरका लागि निवेदन दिने क्रममा प्रमाणपत्रअनुसारको काउन्सिल दर्ता नमिलेको भन्दै हैरानी भोगिरहेकी छिन्। प्रमाणापत्रभन्दा फरक काउन्सिलमा दर्ता गराइदिने व्यक्ति अहिले सम्पर्कमै नआएको पीडित युवतीले हेल्थपोस्टसँग टेलिफोनमा बताइन्।

सुरुमा कुनै पनि काउन्सिल दर्ता गर्दा पढेको विषयको प्रमाणपत्रसमेत राम्ररी नहेरी धमाधम लाइसेन्सिङ (दर्ता) गर्नुले काउन्सिलको काम गराइको संवेदशीलतामा गम्भीर प्रश्न उठेको छ ।

काउन्सिलका केही सदस्यहरुले भने, रजिष्ट्रर बिन्दा घिमिरेलगायतको मिलेमतोमा आर्थिक चलखेल गरेर नै गैर विषय पढेको मान्छेलाइसमेत दर्ता प्रमाणपत्र दिइएको आरोप लगाएका छन्। ती सदस्यले पर्यटनमन्त्री योगेश भट्टराई र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मिलेमतोमा यस्तो चलखेल गरिएको आरोप लगाएका छन् ।

‘आर्युवेद पढेको मान्छे कसरी नर्सिङ काउन्सिल पुगिन्?, नर्सिङ काउन्सिलमा किन तपाईको दर्ता यता हैन आयुर्वेद काउन्सिलमा हुन्छ किन भनिएन ?’ नाम उल्लेख गर्न नचाहाने ती सदस्यले भनिन्।

पन्तले २०७२ सालमा डडेल्धुरा पारामेडिकल क्याम्पस डडेल्धुराबाट प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको १५ महिने आयुर्वेदा प्राविधिक एसएसली कोर्स पास गरेकी थिइन्।

उनको २०७५ फागुन १९ गते नेपाल नर्सिङ काउन्सिलबाट एएनएमको रुपमा दर्ता भएको प्रमाणपत्र जारी भएको छ। जसमा घिमिरेले हस्ताक्षर गरेकी छिन्।

पछिल्लोपटक पढाइअनुसार जागिर अवसर आएपछि दरखास्त दिने क्रममा मात्रै आफ्नो दर्ता गलत काउन्सिलमा भएको जानकारी पाएको पीडित युवतीको भनाइ छ । पन्तले आफूले नर्सिङ नपढेको र आर्युवेद पढेको बताइन्।

पन्तका अनुसार पछिल्लोपटक डडेल्धुरामा आयुर्वेद जनशक्तिका लागि दरखास्त खुलेको छ। जहाँ उनी दरखास्त दिन चाहन्छिन्। अहिले आयुर्वेद काउन्सिलमा दर्ता प्रक्रियामा रहेको भन्दै जोजससँग सम्बन्धित छ भन्ने चिठ्ठी लेखेरसमेत दिएको छ। तर, प्रदेश सरकारले भने सम्बन्धित काउन्सिल दर्ताको प्रमाणपत्र नै चाहिने बताएको छ।

‘असोज १६ भित्र सम्पर्कमा आउनु भनेको छ, तर सम्बन्धित काउन्सिलकै प्रमाणपत्र चाहिन्छ भन्छन्’, उनले भनिन् । उनले परिवारका सदस्यले एक जना सहयोगीमार्फत् काउन्सिल दर्ताको प्रक्रिया गरेको र अहिले ती व्यक्ति सम्पर्कमै नआएको समेत बताइन्।

‘लौन सर हामी गरिब मान्छे बल्ल पढेको जागिर पाइन्छ कि भनेर निवेदन दिने भनेको प्रमाणपत्र नै पाइएन,’ उनले भनिन्, ‘समाचार भन्दा प्रमाणपत्र मिलाइदिनुस न।’

उनले अहिले नमिलेको कागजपत्र बोकेर विभिन्न निकाय धाइरहेकोसमेत बताइन्। नेपाल आयुर्वेद काउन्सिलका प्रशाकीय प्रमुख दीपक भण्डारीले पन्तका आफन्त काउन्सिल आइपुगेको र यसअघि नर्सिङ काउन्सिल दर्ता भइसकेको देखिन आएको बताए।

‘उहाँले मलाई १५ गतेसम्म प्रमाणपत्र चाहिन्छ भन्नुभयो, मैले नियमअनुसार कम्तीमा १ महिना लाग्छ भनेको थिएँ,’ भण्डारीले भने, ‘तर पहिला किन गलत दर्ता गरिदिएको भनेर कराउनु भयो, के गलत दर्ता भयो कागजपत्र ल्याउनुस् भनेर हेर्दा पहिल्यै नर्सिङ काउन्सिल दर्ता भएको भेटियो।’

भण्डारीले उनले एनएनएम पढे नपढेकोबारे आफूलाई जानकारी नभएको बताए। ‘प्रमाणपत्रहरु सबै आर्युवेदसम्बन्धी विषयकै थिए, एउटा नर्सिङ काउन्सिल दर्ता भइसकेको कागज पनि थियो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय