कोरोना जितेका नेपालगन्ज स्वास्थ्य प्रमुखले भने- कोरोनालाई हल्का नलिऔं

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोरोना भाइरस संक्रमणलाई हल्का रुपमा नलिन सबैमा आग्रह गरेका छन्।

आफू पनि कोरोना संक्रमित भएर १४ दिन आइसोलेसन बसेर बिहीवार डिस्चार्ज भएका उनले भने, ‘कोरोनालाई सामान्य रुपमा नलिऔं, यो खतरनाक भाइरस हो। यसले स्वास्थ्यमा गम्भीर असर पार्ने रहेछ र लापरबाही गरे ज्यानसमेत जान्छ। त्यसकारण रुघाखोकी र ज्वरोसहितको लक्षण देखिनासाथ तुरुन्त पिसिआर जाँच गराऔं।’

उनले सामाजिक दूरीको कायम, मास्क, सेनिटाइजर नभए साबुनपानीले हातधुने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिबार्य पालना गर्नुपर्नेमा जोड दिए।

आफू मुटु, सुगर, थाइराइडलगायतको रोगी भएर पनि कोरोनासँगको लडाइँ जितेको स्मरण गर्दै उनले सम्पूर्ण स्वास्थ्य मापदण्ड साबधानीका साथ अपनाएर जनताको स्वास्थ्य सेवामा खटिँदा खटिँदै कोरोना संक्रमण भएको उनले सुनाए।

उनी नेपालमा कोरोना कहर सुरु भएदेखि नै बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिँदै आएका स्वास्थ्यकर्मी हुन्। चन्द स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्षसमेत हुन्।

निको भएर घर फर्केका चन्दको स्वागत गर्न आइसोलेसन केन्द्र रहेको होटल सिटी प्यालेसमा नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ५ का महासचिव गजेन्द्र गुरुङ, प्रेस संगठन नेपालका जिल्ला कार्यसमिति सदस्य खम्बु पुन, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीलगायत पुगेका थिए।

बिहीवार बाँकेमा स्वास्थ्य शाखा प्रमुख चन्दलगायतका १९ जना कोरोनामुक्त भएका छन्।

भदौ २५ गते कोरोना संक्रमित भएका चन्द १४ दिनसम्म आइसोलेसनमा बसेर घर फर्केका हुन्। उनीसहित बाँकेबाट भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीलगायत १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ४ महिला र १५ पुरुष डिस्चार्ज भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय