एकैदिन उपत्यकामा ६ जनाको कोरोनाबाट मृत्यु

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। जसमा काठमाडौंका तीन पुरुषसहित चार जना छन्। यस्तै, भक्तपुरमा एक महिना र एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार चारसय ९७ संक्रमित थपिएकोमा काठमाडौं उपत्यकाका मात्रै ७५५ जना रहेका छन्। जसमा काठमाडौंका ६०९ जना, भक्तपुरका ५१ र ललितपुरका ९५ जनाका कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये ५० प्रतिशत उपत्यकाकै छन्। निषेधाज्ञा खुकुलो पारेसँगै दैनिक कोरोना संक्रमितको दर पनि बढ्दो छ। यातायात खुलाएसँगै चहलपहल पनि बढेको छ। जसका कारण दैनिक कोरोना संक्रमणको दर उच्च देखिन थालेको छ।

हालसम्म नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। जसमध्ये सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्।

यस्तै, संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना भने, होम आइसोलेसनमा ९ हजार २३ जना र क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ४४९ पीसीआर परीक्षण भएको थियो।

पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म जम्मा डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ। यस्तै, आइसीयूमा २३२ र भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ४५३ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १७ जनाको मृत्यु भएको छ। प्रवक्ता डा‌‌. गौतमले चाडपर्व नजिकिँदै गरेको र चहलपहल पनि बढेकाले सबैलाई सचेतना अपनाउन आग्रह गरेका छन्।

दैनिक यस्तै संक्रमितको संख्या बढ्दै गए स्थिति भयावह हुनसक्ने भएकाले नागरिकस्तरबाटै स्वनियन्त्रणको आवश्यकता रहेको डा. गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय