ढलको पानी छिरेपछि भरतपुर अस्पताल जलमग्न, बुट लगाएर बिरामी जाँच्छन् चिकित्सक

कोठाभित्र चारैतिर पानी । पानीको चिसोपनले शय्यामाथि छट्टपाइरहेका बिरामी। बाहिर जलमग्न अस्पतालको परिसर। यो दृश्य तीन दिनयताको केन्द्रीय अस्पताल भरतपुरको हो।

ढल निकास नहुँदा भरतपुर अस्पताल गलमग्न बनेको छ। केही दिनदेखि लगातार परेको पानीका कारण भरतपुर अस्पतालको आकस्मिक कक्ष, अभर्जभेसन र स्पाइनल वार्डभित्र पानी पसेको छ। यसवर्ष मात्रै होइन, पानी निकासका लागि महानगरपालिकाले ढल नबनाएका कारण अस्पतालले बर्सेनि यस्तो नियति भोग्नुपरेको छ।
हरेक वर्ष वर्षात्मा अस्पताल जलमग्न हुने गरेको छ। चिकित्सकमात्रै होइनन्, उपचारका लागि आउने बिरामीले पनि सास्ती खेप्नुपरेको छ।

पानी निकास गर्ने ठाउँ नभएका कारण बर्सेनि अस्पतालले यस्तो समस्या भोग्नुपरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। अहिले भरतपुर अस्पतालको स्पाइनल इन्जुरी वार्डका १० बेड, अवर्जभेसन वार्डका २० र आकस्मिक कक्षका १० बेड पानी कारण पूर्ण प्रभावित बनेका छन्।

आकस्मिक कक्ष, स्पाइनल वार्डभित्रै पानी पसेका कारण स्वास्थ्यकर्मीहरुले बुट लगाएर बिरामीको सेवा दिइरहेका छन्। ‘अहिले स्पाइनल इन्जुरी वार्डभित्र पानीको सतह बढेको छ। बिरामीलाई औषधि दिन समस्या छ,’ स्पाइनल वार्डमा कार्यरत नर्स सिर्जना तिवारीले भनिन्, ‘हामीलाई त समस्या छ नै बिरामीलाई कति समस्या होला आफैं अनुभव गर्नुस् ।’

जलमग्न पानी फाल्न अस्पताल प्रशासनले कुनै चासो देखाएको छैन। ‘पानीको निकास नभएको तीन दिन भयो, सम्वन्धित निकायलाई जानकारी दिएका छौं’, उनले भनिन्।

अस्पतालभित्रै पानी पसेका कारण बिरामी र बिरामी कुरुवालाई पनि समस्या परेको छ। निकास नहुँदा अस्पतालभित्र ढलको पानीसमेत पसेको छ। ढलको पानी अस्पतालका संवेदनशील वार्डमा पुग्दा बिरामीमा अन्य रोगको संक्रमणको जोखिम पनि बढेको चिकित्सक बताउँछन्।

उपचाररत पूर्वी चितवनका ६५ वर्षीय साने विकका छोरा बलरामले औषधि लिन जानसमेत नसकिएको बताए। ‘पानी नै पानी भरिएकाले औषधि ल्याउन तत्काल जान पनि समस्या भएको छ, खुट्टा टेक्नेसमेत सुख्खा ठाउँ नहुँदा बिरामी भेट्न पनि पाइएको छैन’, उनले भने।
पूरै अस्पताल परिसर नै डुबानमा पर्दा पनि न महानगरपालिका न अस्पताल प्रशासनले पानी निकासको लागि कुनै पहल नगरेको उनको गुनासो छ। खुट्टामा समस्या भएपछि उपचारका लागि विक पाँच दिन अघि भर्ना भएका हुन्। उनीसमेत सहज रुपमा शौचालय जान पनि सकेका छैनन्।

वार्डभित्र पानी छिरेपछि अस्पतालले वार्ड सार्ने तयारी गरेको छ। लगातार पानी परिरहेका कारण तत्कालै वार्ड सार्न भने नसकिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालको सतह सडकभन्दा होचो छ।

जसका कारण सडकको पानी पनि अस्पतालमा जम्मा हुने गर्छ। गतवर्ष नै यसको समाधानका लागि महानगरले काम गर्ने भने पनि हालसम्म कुनै प्रगति देखिएको छैन। अस्पताल विकास समितिले आन्तरिक रूपमा ढल बनाको थियो। तर, त्यसलाई निकासा दिने ठाउँ नभएकाले समस्या भएको अस्पतालले जानकारी दिएको छ।

गतवर्ष भरतपुर महानगरपालिकाले अस्पतालभित्र मोजायक टायल हालेको छ। जसका कारण बाहिर हिड्न भने केही सहज भएको छ। यस्तै लगातार पानीका कारण भरतपुर–१० का अधिकांश सरकारी कार्यालयहरु डुवानमा परेका छन्।

पानीका कारण जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भरतपुर कारागार, चितवन जिल्ला अदालत, शिक्षा विकास तथा समन्वय इकाइलगायतका कार्यालयहरु जलमग्न भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय