भरतपुर अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार सुरु

भरतपुर अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ। अस्पतालमा उपचाररत एक पुरुषमा बुधवार प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको हो।

अस्पतालका प्लाज्मा थेरापी सम्पर्क व्यक्ति गोपाल पौडेलका अनुसार भरतपुर महानगरपालिका-५का ५५ वर्षका कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो। उनलाई बुधबार साँझ एक पोका ‘बी पोजेटिभ’ प्लाज्मा चढाइएको उनले बताए।

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर कल्याण सापकोटाले भेन्टिलेटरमा राखेर उपचाररत ती पुरुषमा प्लाज्मा थेरापी गरेर भरतपुर अस्पतालमा पहिलो पटक उपचार थालिएको बताए।

उनले बिरामीको आवश्यकता र उपलब्धताअनुसार यो सेवा प्रदान गरिएको जानकारी दिए।

बुधबार प्लाज्मा चढाइएका व्यक्तिको अवस्था स्थिर छ। उनको उपचार कोरोना संक्रमण भएपछि भदौ ३१ देखि भरतपुर अस्पतालको भेन्टिलेटरमा भइरहेको डा.सापकोटाले जानकारी दिए। उनी भदौ ३० गते भर्ना भएका थिए।

उनलाई रेमडिसिभिर औषधि चढाउँदा पनि सुधार नभएपछि प्लाज्मा चढाइएको हो। चार दिनअघि उनलाई रेमडिसिभिर चढाएको हो। प्लाज्मा थेरापी विधिबाट जटिल खालका कोरोना संक्रमितलाई उपचार गरिन्छ।

कोरोना संक्रमण भएर निको भएका व्यक्तिको रगतलाई प्रशोधित गरेर प्लाज्मा तयार गरिने वरिष्ठ फिजिसियन डा. सापकोटाले जानकारी दिए। जसले कोरोना भाइरसलाई जित्नका लागि एन्टिबडीको उत्पादन गर्ने गर्दछ।

यो विधि कोराना संक्रमितकाे उपचारका लागि प्रभावकारी भएको उनको भनाइ छ। प्लाज्मा थेरापीका लागि भरतपुर अस्पतालले सम्पर्क व्यक्तिसमेत तोकेको छ।

यस्तै, यसअघि चितवन मेडिकल कलेजले कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो। तर, प्लाज्मा दिएको एक दिनमा नै ती महिलाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय