आइसोलेसनमा संक्रमित हाँसेको देख्दा आफैलाई खुसी लाग्थ्यो : डा.ढकाल

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज ८ गते १०:४४

खरिपाटीको क्वारेन्टाइनमा खटिएका डा. ढकालसहितको चिकित्सक टोली

भक्तपुरको खरिपाटी बनाइएको क्वारेन्टाइन देशकै पहिलो क्वारेन्टाइन हो। जुन चाँगुनारायण नगरपालिकाभित्र पर्दछ। अहिले यो क्वारेन्टाइन आइसोलेसनमा परिणत भएको छ। पहिलोपल्ट कोरोना भाइरस फैलिएको चीनको उहानबाट ल्याइएका विद्यार्थीलाई यही क्वारेन्टाइनमा राखिएको थियो।

कोरोना संक्रमित बढ्दै गए पनि नेपाल सरकारले क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरेको थियो। आइसोलेसनमा परिणत भइसकेपछि नेपाल सरकारअन्तर्गत सञ्चालित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र मानव अंग प्रत्यारोपणका डाक्टर र नर्स परिचालन गर्ने निर्णय भएको थियो।

त्यसमा भक्तपुर क्यान्सरका दुई डाक्टर र दुई नर्सलाई आइसोलेसनका लागि छानिएको थियो। त्यसमध्ये भक्तपुर अस्पतालका डा. आनन्दबाबु ढकाल पनि एक थिए। असोज २ गते उनी फिर्ता भएका छन्।

त्यहाँबाट आएपछि उनी आफैं होम आइसोलेसनमा बसिरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक ढकालले अब कोरोनाबाहेकका बिरामीलाई क्यान्सर अस्पतालमा हेर्नेछन्।

उनै चिकित्सक ढकालसँग हेल्थपोस्टकर्मी रेणु त्वानाबासुले आइसोलेसन व्यवस्थापन, त्यहाँ बिरामी रेखदेख गर्दाको अनुभव र कोरोना नियन्त्रणका लागि कस्ता उपायहरु अपनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा कुराकानी गरेकी छन्।

मनमा धेरै प्रश्नहरु रहे

खरिपाटीको क्वारेन्टाइनमा खटिएका भक्तपुर क्यान्सर अस्पतालका डा. आनन्दबाबु ढकाल

सुरुमा त आइसोलेसन कसरी व्यवस्थापन गर्ने होला? मैले गर्न सक्छु कि सक्दिनँ भन्ने मनमा लागेको थियो। यसभन्दा अगाडि कोरोना संक्रमितलाई उपचार गरेको थिइनँ। मनमा धेरै प्रश्नहरु रहे।

अर्को त परिवारलाई आफू खरिपाटीको आइसोलेसनका लागि छानिएँ भनेर सुनाउँदा एकछिन त सबैजना मौन रहे। पछि सबैले भने ‘अहिले धेरै संक्रमण बढेको छ, तिम्रो सट्टा अरु पठाउँदा हुँदैन र?’

श्रीमतीले पनि नजाँदा हुँदैन, आफ्नै नियमित ड्युटी मात्र गर्दा हुँदैन? भन्ने जस्ता प्रश्न राखिन्। सबैले कोरोना संक्रमितलाई उपचार गर्ने डाक्टरलाई पनि कोरोना सर्छ भन्ने भएकाले घरपरिवारले पनि त्यस्तो भन्नुभयो होला।

तर, मैलै परिवारका सबै सदस्यलाई सम्झाएँ। सबैको सहमतिमा भदौ १ गतेदेखि कोरोना संक्रमितको आइसोलेसन काम सुरु गरेको हुँ।

सुरुमा हामीले संक्रमितहरूलाई चार तहमा विभाजन गर्यौं। ए, बी, सी, र डी मा। ‘ए’ मा लक्षण नभएका संक्रमित राख्ने, ‘बी’ मा सामान्य लक्षण भएका राख्ने, ‘सी’ मा धेरै लक्षण देखिएका संक्रमित र ‘डी’ मा एकदम सिकिस्त वा रिफर गर्नुपर्ने संक्रमितहरू राख्ने भनेर छुट्याएका थियौं।

जसले गर्दा लक्षण भएका संक्रमितले नभएकालाई सार्ने जोखिम कम हुन्थ्यो। डर पनि भएन। आइसोलेसनमा ‘ए’ भवनमा महिला, ‘बी’ भवनमा पुरुष र ‘सी’ मा मेडिकलका संक्रमित राख्ने भनेर व्यवस्था गरिएको छ।

उनीहरूको सुत्ने कोठा र शौचालयबाहेक अरू सबै ठाउँमा सिसी क्यामरा जडान भएको थियो। जसले गर्दा संक्रमितहरू के कस्तो अवस्थामा छन् भनेर कन्ट्रोल रुमबाट थाहा पाउन सजिलो हुन्थ्यो।

खरिपाटी आइसोलेसनका लागि भक्तपुर अस्पतालले तीन डाक्टर छुट्याएको थियो, संक्रमितको उपचारमा। जनरल फिजिसियन एक, मनोचिकित्सक एक र बाल चिकित्सक एक जना थिए। तीनै डाक्टर समय–समयमा संक्रमित बिरामीको स्वास्थ्य अवस्था बुझ्न आउनुहुन्थ्यो।

व्यवस्थापनमा गुनासो आएको छैन

यहाँको व्यवस्थाप्रति अहिलेसम्म कसैको केही गुनासो आएको छैन। सबैले प्रोत्साहन गर्ने गरेकाले आफूले राम्रो गरिराखेको छु भन्ने मनमा लाग्छ। चिकित्सक यो कठिन परिस्थितमा जनताको सेवा गर्न पाएकामा एकदमै खुसी अनुभूति हुन्छ।

सुरु सुरुमा त पीपीई लगाएर काम गर्न गाह्रो महशुस भएको थियो। बिरामीको राउन्डमा २ घन्टा लाग्थ्यो भने यो लगाउन फुकाल्न नै एक घन्टाजस्तो लाग्थ्यो। लगाउने बेला त फ्रेस भएर लगाउने भइहाल्यो।

तर, राउन्डमा गएर आइसकेपछि पसिना–पसिना भएर बाहिर निस्किने बेलामा त छिटो–छिटो फुकालेर राखुँ जस्तो हुन्थ्यो। त्यो बेलामा छिट्टै फुकालेर फालौं जस्तो लाग्थ्यो। तर सबै साथीले सावधानीपूर्वक पीपीई फुकाल्ने गरेका थियौं।

त्यसैले ३३ दिनको ड्युटीमा हामी कसैलाई पनि संक्रमण भएन। खरिपाटी आइसोलेसनमा बिरामीलाई मनिटरिङ गरिसकेपछि संक्रमितलाई चाहिने औषधि दिने गरेका थियौं। औषधि दिने बेलामा औषधिले असर गरेको छ कि छैन, कति बेला खाने सबै काउन्सिङ गरेर मात्र दिने गरेका थियौं।

साथै संक्रमित व्यक्तिहरूको मनमा लागेका सबै कुरा सुन्ने गरेका छौं। तनाव भए सुनाउनु होला भनेर हौसला र आत्मबल बढाउने गरेका थियौं।
संक्रमित व्यक्तिहरुकहाँ दिनको तीनपटक अनुगमन जाने नियम बनाइएको थियो।

बिहान ६ बजेदेखि १ बजेसम्म, दिउँसो १ बजेदेखि ६ बजेसम्म र बेलुकी ६ बजेदेखि पीपीई लगाएर उनीहरुको अवस्था बुझ्ने गरेका थियौं।एकचोटिमा एक डाक्टर, एक नर्स र अरु सुरक्षाकर्मी जाने गथ्र्यो।

कोरोना लक्षण देखिएको छैन तर दुवैचोटि परीक्षणमा पोजेटिभ आएको छ भने पनि त्यस्ता संक्रमितलाई ७ दिनपछि घर पठाउने नियम छ। तर समाजमा यसबारे नबुझेर कोरोना पोजेटिभ भएको व्यक्ति भनेर हेला गर्ने गरेको संक्रमितहरूले सुनाउने गर्थे।

यस्तो केसमा सुरक्षाकर्मीले नै घरसम्म पुर्याइदिन सक्यो भने संक्रमितलाई समाजबाट हुने दुव्र्यवहार अलि कम हुन्थ्यो कि? संक्रमित भएपछि समाजले हेर्ने दृष्टिकोण र मानिसहरुले गर्ने दुव्र्यवहारका कुरा सुनेर हामीलाई पनि दुःख लाग्थ्यो।

तर, यति सहेर पनि उहाँहरुको अनुहारमा हाँसो देख्दा एकदम खुसी महसुस हुन्थ्यो। साथै डाक्टर आउनुभयो भनेर उहाँहरुको खुसीको व्यवहार हुँदा हामीहरुलाई सेवाप्रतिको पनि सन्तुष्टि मिल्थ्यो।

त्यस्ता क्षणहरु देख्दा कोरोना भाइरसलाई हाम्रो आत्मबलले निको बनाउने रहेछ जस्तो लाग्यो। मैले ३३ दिन काम गर्दा २ सय २८ जनामा १ सय १३ जना निको भएर फर्केका थिए। घर जाने बेला सबै खुसी भएको देख्दा हाम्रो टिमले राम्रो काम गरिरहेको महशुस हुन्थ्यो। भित्रभित्रै गर्व अनुभूति हुन्थ्यो मलाई चाहिँ।

हाम्रो ड्युटी १०–६ बजे थियो। हामी पनि खरिपाटीको आइसोलेसनमा बस्थ्यौं। चौबिसै घन्टा संक्रमितको सेवामा जुट्ने गरेका थियौं। अहिले त मेरो परिवार पनि खुसी र गर्व गर्छन्। खरिपाटी आइसोलेसनले राम्रो काम गरिरहेको र गर्न सकेकामा एकदम गर्व महशुस हुन्छ।

अहिले पनि कोही संक्रमितले आफूलाई भएको समस्या र सुझाव लिन फोन गरिरहेका हुन्छन्।

आवश्यक परे फेरि सेवा दिन तयार छु

अहिले मानव अंग प्रत्यारोपणबाट तीन जनाको टिम पठाइएको छ। फेरि अरु कोही जान तयार भएनन् भने म खरिपाटीको आइसोलेसनमा सेवा दिन तयार छु।

यो एक महिना कोरोना संक्रमितको सेवा गर्दा कोरोना लाग्यो भनेर आत्तिनुपर्दैन। कोरोना लागेपछि ‘अब मरिन्छ’ भनेर सोच्नु गलत हो। एकदम सिकिस्त भए डराउनुपर्छ।

नभए शारीरिक व्यायाम, खानपिनमा ध्यान दिन सके र आत्मबल बलियो भएको खण्डमा कोरोनालाई जित्न सकिन्छ। त्यसैले कोही पनि नआत्तिऔं भन्न चाहन्छु। सबै जनाले स्वास्थ्य सावधानी अपनाए कोरोनालाई जित्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय