कोरोना भोगाइ र अबको व्यवस्थापन

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज ८ गते १४:४२

डा. बलराम दुवाल उपप्राध्यापक, त्रिवि केन्द्रीय व्यवस्थापन विभाग, कीर्तिपुर

सरकारी संयन्त्र कता चुक्यो?

सरकारले पहिलो चरणको लकडाउन क्रमशः खुकुलो बनाउँदै गइरहेको थियो। लकडाउनको अवस्थामा भक्तपुर छिर्ने नाकाहरू अव्यवस्थित भएको समाचारहरू आउने गरेका थिए।

जिल्लाका सिमानाहरूमा गस्ती गर्नेहरूले राम्रै कमाइ गरिआएका थिए। त्यसबाहेक पहुँचवालाहरू एम्बुलेन्सको दुरुपयोग गरी आफ्नो गन्तव्यस्थल पुगिरहेका दृश्यहरूले सामाजिक सञ्जालहरू तरंगित थिए।

बजारमा सुरुवाती लकडाउन अवधिमा भारतमै अलमलिएका भारतीय मूलका व्यापारीहरू लामो दूरीका सवारीसाधनहरू औपचारिक रूपमा सञ्चालनमा नआउँदै टोलदेखि बजारमा देखिन थाले।

यस परिस्थितिमा भक्तपुर सहर पनि कोरोनाको उच्च जोखिमयुक्त क्षेत्रमा परिणत हुँदै थियो। क्रमशः काठमाडौं उपत्यका कोरोना संक्रमणको हबको रुपमा देखिन थालिसकेको थियो।

सीमा नाकामा भरपर्दो चेकजाँच, उपयुक्त क्वारेन्टाइनस्थल, सीमामा खटिने जनशक्तिको कमजोर नैतिकता, नियमित स्वास्थ्य प्रतिवेदन संकलन गर्न नसक्नुजस्ता अकर्मण्यताले भारतसँग खुला सीमानाका भएका जिल्लाहरू जस्तै काठमाडौं उपत्यका पनि असुरक्षित रहन गयो।

लकडाउन संक्रमण फैलिन नदिने उपाय हुँदाहुँदै, राज्य संयन्त्रले माथि उल्लेख गरेका कमजोरी हटाउन नसक्दा जनताहरूमा नैराश्यता छायो।

थोरै पैसाको लोभमा सरकारी प्रोटोकलको बेवास्ता गरिँदा घनाबस्ती रहेको उपत्यकामा संक्रमण दर उच्च दरमा बढेको पुष्टि हुन्छ।

मलाई कसरी संक्रमण भयो?

काठमाडौं उपत्यका हुँदै भक्तपुर जिल्लामा पनि संक्रमण दर बढ्न थालेको कारण अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्न छोडेको थिएँ। साथीभाइ भेटघाट ठ्याम्मै रोकिसकेको थियो।

कोरोना रोगको प्रकृति फरक छ। मानिसदेखि मानिस डराउनुपर्ने। केही महिनाअघि मोहन मैनालीको किताव ‘मान्ठा डराएको जुग’ पढेको थिएँ। एक समय नेपालीहरू नेपालीसँगै डराएर जिउनुपर्ने राजनीतिक संकटकालको कालकोठरीको जीवन व्यतित गर्न बाध्य बनेका थियौं।

आज अदृश्य भाइरसको कारण पुनः फरक ढंगले मानिससँग डराएर जिउनुपर्ने बाध्यता आइपर्यो। हामी अपरिचितसँग सावधान र सचेत हुने भयौं तर परिचितसँग खासै डराएनौं। फलतः परिचितहरूबाटै हामी संक्रमित हुन थाल्यौं। मास्कको प्रयोग धूलो छेक्नमात्र गर्न थाल्यौं।

कुराकानी अस्पष्ट हुने भएर मास्क सारेर, झिकेर कुराकानी गर्न थाल्दा कोरोनाको संक्रमणको जोखिम बढ्न थालेको देखिन्छ। फ्रिजमा रहेको चिसो मेवा र का‌ँक्रो खाँदा मलाई रुघा लागेको थियो। कोरोना संक्रमितहरू र विज्ञहरूको अनुभव, विचार सुन्दा कोरोना हुनबाट जोगिन रुघालाई बढ्न दिनुहुँदैन।

अघिपछि जस्तै निको होला भनी कुरी नबस्न भन्ने सल्लाहअनुसार साइनेक्स औषधी र ज्वरो रोक्न सिटामोल खान थालेको थिएँ। ल्यापटप बनाउने बहानामा साथीकहाँ गएको थिएँ। १-२ मिटरको भौतिक दूरी थियो।

दुवैको मास्क छँदै थियो। चिया खान मास्क निकालेको याद छ। ल्यापटप बनाउँदा पनि साथीले स्यानिटाइजरको प्रयोग गरेकै थियो। साथीका दाइ र काका पनि कम्प्युटर मर्मत कोठामा आए, अलग्गै सोफामा बसेका थिए।

४० मिनेटको बसाइ सक्याएर घर फर्किएँ। घर फर्किँदा साथीको ससुरालाई कोरोना संक्रमण भएर साथी पनि कन्ट्याक्ट ट्रेसिङमा भएको जानकारी पाएँ। त्यसपछि उनीहरूको रिपोर्ट नआउञ्जेल म पनि कोठामा अलग्गै क्वारेन्टाइनमा बस्न सुरु गरेँ। साथीको रिपोर्ट नेगेटिभ आउने कामना गर्दै तीन दिन बिताएंँ।

अघिपछि जस्तै निको होला भनी कुरी नबस्न भन्ने सल्लाहअनुसार साइनेक्स औषधी र ज्वरो रोक्न सिटामोल खान थालेको थिएँ। ल्यापटप बनाउने बहानामा साथीकहाँ गएको थिएँ। १-२ मिटरको भौतिक दूरी थियो।

कुनै लक्षण नदेखिएका साथीको पोजेटिभ रिपोर्ट आएकोले शंका निवारणका लागि पुनः परीक्षण गराएँ, त्यसमा पनि पोजेटिभ देखिएपछि साथी एकान्तवासमा गए। तत्पश्चात् आफू पनि संक्रमणको दायरामा परिसकेको कारण मन बेचैन हुनथाल्यो।

अनिन्द्रामै रात बित्न थाल्यो। साथीसँग सम्पर्क भएको हप्तापछि मेरो स्वाब संकलन भयो। पुरानो रुघा निको भइनसकेका कारण मेरो नतिजा पनि सुखद नहुनेमा चिन्तित थिएँ।

यो समयमा कलेजको काममा अलि धपेडी महसुस गरेको थिएँ। राति अबेला काम गर्दाको थकान अघिपछिभन्दा बढी नै महसुस गरिरहेको थिएँ।

स्वाब रिपोर्ट नगेटिभ हुनेहरूको आइतबार ४ बजे नै खबर मोबाइलमा आइसकेको रहेछ। जसको आएन उनीहरूको रिपोर्टमा खराबी भएको सम्भावनाले बलियो रूप लिँदै गइरहेको थियो।

यो रात म मात्र होइन परिवारका अन्य सदस्य पनि तनावमै निदाउन सकेनन्। सोमबार धड्कन बढ्न थालेको थियो। आज सुन्न नपरे हुन्थ्यो भन्ने लागेका खबर सुन्नपर्ने भयो भनी विचलित भइरहेको थिएँ।

नभन्दै १०ः३० बजेतिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको फोन आयो। नर्भस भइयो, डरले छाती धक्क फूलिसकेको थियो। रिपोर्ट पोजिटिभ आएको जानकारी दिइयो र स्वास्थ्य अवस्थामा कुनै खराबी भए नभएको सोधनी भयो। लगत्तै एकान्तवासमा बस्न निर्देशन दियो।

स्वास्थ्यमा तत्काल कुनै खराबी देखिए ११३३ मा रिपोर्ट गराउन र अस्पतालको व्यवस्थापन हुने जानकारी समेत पाइयो। संक्रमण पहिले नै आफूसँग भएको पनि हुनसक्थ्यो।

बाहिर बजारमा किनमेल गर्दा सरेको पनि हुनसक्थ्यो। संयोग वा विडम्बना भनुम् नेवारी उखान याद आयो। ‘काग बस्नु र हाँगा भाँच्नु’ हो यस्तै हुन गयो। अन्य स्राेत वा कारण खोज्ने झन्झट कसले गर्ने पो हुन्।

छोटो समय भेटघाट भएका साथी संक्रमित भएपछि उसैतिरबाट संक्रमण आयोभन्दा सबैलाई सजिलो हुने रहेछ। अरुलाई दोषी बनाउनु न्योयोचित नहोला। आफ्नै असावधानीमा गुनासो गर्नु उपयुक्त ठानेँ।

कोरोना पुष्टिपछिको अवस्था

आफू पनि कोरोना संक्रमित भएँ भन्ने आधिकारिक जानकारी मिलेपछि आफैंलाई कमजोर महसुस गर्न पुगेँ। हिजोसम्म अनुहारमा देखिने हाँसोका रेखाहरू क्षणभरमा हराइसकेका थिए।

जबरजस्ती हाँसेको अभिनय गर्न थालेँ। आफू त एकान्तबासमा हुने भइयो, घर परिवारलाई मानसिक तनाव र कार्यबोझ थपिने भयो। आफ्नो कारण ७५ वर्ष नाघेका बाआमा र ८ महिनाको बच्चालाई केही हुने हो कि भन्ने पीरले सताउन थाल्यो।

परिवारका सबै सदस्य नै तनावमा थिए। देखाएर रून कसैले सकेन तर एकान्तमा रून कसैले छेकेन। अब कसलाई खबर गर्ने कसलाई नगर्ने निकै अप्ठ्यारो अवस्थामा परियो।

हिम्मत गरेरै परिवारका सदस्यहरूको र नजिकका साथीहरूलाई मेसेन्जरमा कोरोना संक्रमित भएको जानकारी दिएँ। क्षणभरमै जिल्ला जनस्वाथ्य कार्यालयको फोन आयो। स्वास्थ्य स्थितिको जानकारी लिइकन होम आइसोलेसनको व्यवस्था मिले नमिलेको जानकारी लियो।

खासै स्वास्थ्य समस्या नभएकाले घरमै आइसोलेसनमा बस्न सुझाव मिल्यो। केही समयपछि भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्रबाट पनि फोन आयो। माथि भएजस्तै कुराकानी भयो।

लगातारका यी तीन कलले ढाडसका साथै झर्को पनि मिल्यो। भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्रका कोरोना फोकल चिकित्सकबाट तत्काल सम्पर्कमा बसेकाहरूको विवरण उपलब्ध गराउन अनुरोध भयो।

अहिले बल्ल त संक्रमित भएको थाहा पाएँ, बुझेर भोली खबर गरौंला भनेर फोन राखिदिएँ। त्यसपछि ९ नम्बर वडाका अध्यक्ष रवीन्द्र ज्याख्वको फोन आयो। ज्वरो बढीरहेको जानकारी दिएँ। अप्ठ्यारो भए अस्पताल जाउँ भन्ने सल्लाह दिनुभयो।

पीर नलिन, तनावमा नबस्न र उपचार प्रबन्धको चिन्ता नलिन आग्रह गर्नुभयो। हुन्छ, केही परे खबर गरौंला भनेर कृतज्ञताका साथ फोन राखिदिएँ।

यतिञ्जेलसम्ममा घरको माथिल्लो तलाबाट तल्लो तलामा सरिसकेको थिएँ। नजिकका आफन्तहरूको फोन आउने क्रम सुरु भइसकेको थियो। मानसिक तनाव र शारीरिक अस्वस्थताका कारण फोन उठाउने मन हुँदैनथ्यो।

अत्यन्त जरुरी फोनबाहेक अन्य फोनको वास्ता गरिनँ। एकान्तबासको अनुभव लिइसकेका र घरमै कोरोनाको उपचार गरिरहेका चिनजानका साथी भाइहरूको फोन आउन थाल्यो।

अनुभव सुनेर आफ्नो उपचारका खाका दिमागमा कोर्न थालेँ। तनावले ज्वरो नियन्त्रण बाहिर जान सकिने सम्भावना ख्याल गर्दै तनावरहित बन्ने अभ्यास थालेँ। कोरोना रोगका नकारात्मक असरभन्दा यसलाई परास्त गर्न सकिने खालका समाचार र जानकारीहरू नेटमा खोज्न थालेँ।

बिहानदेखि बेलुकासम्मका नियमित रुटिन अनुशरण गर्न थालेँ। पौष्टिक आहार, पुग्दो मात्रामा तातो पानी, जडिबुटी पानी, उपयुक्त खानपान, योग ध्यान, व्यायाम र सरसफाइ नै मेरो दिनचर्या भयो।

भोलिपल्ट सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाको फोन आयो। सञ्चो–बिसञ्चो र घर सिल गर्ने नगर्नेबारे छलफल भयो। म आफू घर सिल नगरेकै अवस्थामा सुरक्षित भएकाले सिल गर्न आवश्यक नभएको दाबी गरेँ।

परिवारको स्वाब रिपोर्ट नेगेटिभ नहुञ्जेल कोही घरबाट नबाहिरिने वचन दिएँ। सुरक्षा सावधानी र स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै उहाँले फोन राख्नुभयो।

घर सिल भएपछि बटुवा तथा छर छिमेकीले आतंकित नजरले परिवार र मलाई हेर्ला कि भन्ने ठूलो चिन्ता टरेको थियो। संक्रमितको घरको सिल गर्ने नियमप्रति पुनर्विचार गर्नुपर्ने देख्छु।

औषधी उपचार

घरमै भतिजो चिकित्सक भएकाले म ढुक्क थिएँ। सबैको यस्तो अनुकूलता नहुन सक्छ। चिकित्सक साथीहरूलाई सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी गराउथेँ। आएका सुझावहरूको टिपोट बनाउथेँ।

दैनिक अनुगमन तालिका बनाएर तापक्रम, अक्सिजनको मात्रा, रोगका अन्य लक्षणहरू, औषधिहरूको सेवनको तालिका बनाएर चिकित्सिकलाई शेयर गर्थेँ।

४-५ दिनसम्म ज्वरो ९८ देखि १०१ डिगीसम्म बढ्ने घट्ने भइरह्यो। मेरो लागि ज्वरो नै कोरोनाको लक्षणका रुपमा देखेँ। अलि बढी असजिलो हुंँदा ६ घण्टाको फरकमा सिटामोल खाएँ।

फार्मेसीका साथीले केही साताअघि नै कोरोना भइहाले अत्यावश्यक औषधिहरू राख्न दिएको सुझाव अनुसार औषधी जोरजाम थियो।

पीर नलिन, तनावमा नबस्न र उपचार प्रबन्धको चिन्ता नलिन आग्रह गर्नुभयो। हुन्छ, केही परे खबर गरौंला भनेर कृतज्ञताका साथ फोन राखिदिएँ।

सिटामोलसँगै भिटामिन सी, डी, हल्का खोकी देखिँदा कफट्याब र ज्वरो निको भएपछि कुनै व्याक्टेरियल इन्फेक्सन नहोस् भनेर अजिट्रोमाइसिन ५ दिनका लागि चिकित्सकीय परामर्शअनुसार सेवन गर्न थालेँ।

दिउँसो बाफ लिने, साँझको व्यायामपछि स्टिमबाथ लिइ तातोपानीमा नुहाउन थाल्दा निक्कै ताजगी अनुभूति हुंँदोरहेछ।

कोरोनाले छाती र फोक्सोमा असर पुर्याउन सक्ने र श्वासप्रश्वासको समस्या आउन नदिन निकै सतर्क र सजग हुनुपर्दोरहेछ। जसका लागि नियमित तातोपानीको सेवन र बाफ लिने गर्नुपर्छ।

कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्ने?

१)  कोरोना पोजिटिभ भएको दिन टेकु अस्पतालदेखि प्रहरी प्रशासनसमेत ५ ठाउँबाट विभिन्न कलहरू आए। केही समय अन्तरालमा सोधिने उही प्रश्नहरूको संख्या र उही जवाफले कोरोना संक्रमित बिरामीलाई मानसिक तयारी नसकिँदै आक्रान्त पारेको महसुस हुंँदो हो।

तसर्थ कोरोना बिरामीसँग नियमित सम्पर्क र अद्यावधिक जानकारीका लागि एकल कार्यालयले जिम्मेवारी लिनुपर्ने देखिन्छ। एकद्वार प्रणालीमार्फत सेवा प्रवाह संयन्त्र हुने हो भने तीन तहका सरकारको समन्वययकारी भूमिका पनि देखिन्थ्यो भने अर्कोतिर बिरामीले आफू एक्लो नरहेको भन्ने महसुस गर्न सक्छ।

बिरामी एक्लै बस्नुपर्ने यस प्रकारको रोगमा बिरामीलाई दरिलो आड, भरोसा र साथ चाहिने हुन्छ। सोको बन्दोबस्त पनि चुस्त हुनुपर्छ।

२)  सुरुमा तारन्तार फोन आए पनि दिन बित्दै गएपछि कुनै पनि निकायको सम्पर्क भएन। घरमै एकान्तवासमा रहेका बिरामीहरूको दैनिक स्वःअनुगमन चार्ट इमेल वा फोनमार्फत् बुझिलिए हरेक सांँझ छोटो चिकित्सकिय परामर्श उपलब्ध हुन सके सरकारी सेवाको अनुभूति बिरामीहरूले पाउँथे। ठूलै तनावबाट मुक्त हुन्थे।

३) संक्रमित भइँदा मानसिक तथा शारीरिक दुवै दृष्टिबाट कमजोर भइन्छ। यस अवस्थामा साथीभाइ, इष्टमित्रहरूले बिरामीलाई फोन गरी उही प्रश्नहरू गर्नुको साटो मेसेन्जर वा एसएमएसमार्फत् जिज्ञासा वा संवाद राखिदिँदा सहज हुनेथियो।

४) अहिलेको अवस्थामा संक्रमण नियन्त्रण गर्ने सरकारी नीतिहरू असफल भइसकेको देखिन्छ। सरकार आत्मसमर्पणको अवस्थामा पुगेको देखिन्छ। सबै कार्यालयहरू खुलेको अवस्थामा संक्रमित हुनेको संख्या अझ बढ्ने निश्चित छ।

तसर्थ अस्पतालमा बेड र आइसोलेसन सेन्टरहरू व्यवस्थित ढंगले विस्तार गर्नुपर्ने देखिन्छ। भएका सरकारी आइसोलेसन सेन्टरहरूको व्यवस्थापकीय कमी कमजोरीले सम्भव भएसम्म घरमै आइसोलेसन बस्नेहरूको संख्या बढ्नेछ।

यसको निवारणका लागि सबै परिवारले घरमा आइसोलेसन बस्न मिल्ने कोठाको प्रबन्ध गर्न आवश्यक छ। मितव्ययी ढंगले बाथरुम, शौचालय र सम्भव भए सानो भान्छा कोठासमेतको प्रबन्ध गर्न आवश्यक प्राविधिक र आर्थिक सहयोग सरकारले गर्नुपर्ने हुन्छ।

यसले भोलि संक्रमित भइ सरकारी आइसोलेसन सेन्टरमा आउनुपर्दाको खर्च  निकै कम गर्न सहयोग गर्छ।

५) आइसोलेसनमा बस्दा बिरामी वा बिरामीका परिवारले गर्नुपर्ने कामहरू के के हुन् र गर्न नहुने कार्यहरू के के हुन्  सो खुल्नेगरी हाते पुस्तिकाहरू बनाइ बिरामीको घरमा पुर्याउन आवश्यक छ।

धेरै बिरामीले चिकित्सकीय परामर्श पाउन सकेको हुँदैन। तसर्थ यस्ता पुस्तिकाले स्वःउपचार र रोग प्रतिरोधात्मक पद्धति विकास गर्नमा समेत सहयोग मिल्नेछ।

६) सकारात्मक सोँच नै रोग परास्त गर्ने हतियार भएकोले सकारात्मक सोच विकास गर्न योगाभ्यास, ध्यान, तनाव व्यवस्थापन र शारीरिक व्यायामका विविध उपयोगी भिडियोहरूको सानो संग्रह पनि इमेल वा अन्य माध्यमबाट बिरामीको हातसम्म पुग्ने व्यवस्था गर्न सकेमा एकान्तवासको अवधि निकै फलदायी हुने थियो।

कोरोना रोकथाम र नियन्त्रणका लागि आत्मानुशासन र इमान्दारिता सबै तह तप्काका नागरिक, कर्मचारी, व्यापारीहरूसँग हुन आवश्यक छ। यस समयमा अनुशासनहीन र अनैतिक कार्य गर्ने जोसुकै कर्मचारीलाई अपराधीको रुपमा दण्डित गर्नुपर्छ।

७) संक्रमित व्यक्ति घरको प्रमुख आर्थिक स्रोत हुनसक्ने भएकोले पौष्टिक आहार, घर परिवार खाद्यान्नको जोहो आदिको अवस्था बुझी स्थानिय वडा कार्यालयले खाद्यान्न र आधारभूत औषधिमूलोको व्यवस्था गरिदिन सके स्थानीय सरकारको महत्त्व बढ्छ।

८) धेरै संक्रमितहरूले धेरै थरिका सल्लाह शुभचिन्तकहरूबाट पाउने गर्दछन्। सबैले भने बमोजिम गर्ने हो भने एक दिनभर पनि नपुग्ने अवस्था छ भनी गुनासो व्यक्त गर्ने गरेको पाइन्छ।

सही के हो, गलत कुन हो, अहिलेको आफ्नो स्वास्थ्य अवस्थामा गर्नुपर्ने के होरु सो को उचित परामर्श बिरामीलाई खट्केको हुन्छ। यो खट्को कसरी टार्ने सो सम्बन्धमा स्थानीय सरकारले कोरोना फोकल एकाइहरू, विज्ञसहितको समूहले छलफल गरी निचोड प्रस्तुत गर्न सकिएमा सान्दर्भिक हुन्छ।

९)  सामाजिक सञ्जालमा कोरोना केही पनि होइन भन्ने खालका भ्रमहरू निकै प्रचारप्रसार भइरहेको छ। भ्रामक समाचार रोक्न सरकार असक्षम भयो।

भ्रामक समाचार र खबर दिनेहरूलाई सरकारले निर्ममतापूर्वक निषेध गर्नु आजको आवश्यकता हो। वैज्ञानिक तथ्य प्रमाणबाहेक स्वनामधारी विज्ञहरूको युट्युबदेखि अन्य मिडियाहरू अन्तरवार्ताहरूमा पूर्णतः निषेध गरिनुपर्छ। गलत अफवाह फैलाएको आरोपमा जेलमा किन नहाल्ने?

१०) कोरोना ज्यान लिने रोग हो भनेर आतंकित हुने खालको समाचारहरूको बाढी नै आउने गरेको छ। मेरो भोगाइमा कोरोना रोगको समयमै जानकारी पाइ उपचार गर्न सकियो भने ठूलो दुर्घटना हुन नपाउँदै निको हुन सकिन्छ।

असामान्य दीर्घरोगी र श्वासप्रश्वाससँग सम्बन्धित बिरामीहरूका लागि यो रोगले असामान्य क्षति पुर्याउन सक्नेतर्फ सावधानी अपनाउनुपर्छ।

११)  यो रोगको लक्षण देखिए त अरुलाई संक्रमण हुनबाट जोगाउन सकिने थियो। तर, लक्षण नदेखिने प्रकृतिका संक्रमितहरूको अनावश्यक आत्मविश्वासले धेरैलाई संक्रमण गराइरहेको हुन्छ।

तसर्थ संक्रमितको सम्पर्कमा पुगिसेकेकाहरू, स्वाब दिइसकेकाहरू र लक्षण नदेखिएका संक्रमितहरू थाहा भएको दिनदेखि रिपोर्ट नेगेटिभ नआएसम्म एकान्तवासमा बसिदिनुपर्छ।

१२) कोरोना रोकथाम र नियन्त्रणका लागि आत्मानुशासन र इमान्दारिता सबै तह तप्काका नागरिक, कर्मचारी, व्यापारीहरूसँग हुन आवश्यक छ। यस समयमा अनुशासनहीन र अनैतिक कार्य गर्ने जोसुकै कर्मचारीलाई अपराधीको रुपमा दण्डित गर्नुपर्छ।

सरकार कर्तव्यच्यूत भइदिँदा सरकारी निर्देशनको पालना कसले गराउनेहरू सरकारको आग्रह नागरिकले कसरी मानिदिन्छ? तसर्थ सरकारले जारी गरेका निर्देशनहरूलाई हामी सबैले गम्भीरतापूर्वक पालना गरी अनुशासनमा बसेर कोरोना संक्रमण नियन्त्रण र रोकथाममा ठूलो सहयोग पुर्याउन सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय