‘गम्भीर रोगका उपचार नेपालमै हुनु सुखद’: पूर्वराष्ट्रपति डा. यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गम्भीर रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था क्रमशः घट्दै गएको भन्दै सन्तोष व्याक्त गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पूर्व राष्ट्रपति यादवले क्यान्सर जस्तो जटिल रोगको उपचारमा पहिला विदेश जानुको विकल्प नभएकोमा अहिले नेपालमै सेवा विस्तार भएको बताए ।

भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचाररत दाजु रामअनुग्रह यादवको स्वास्थ्य अवस्थाबारे बुझ्न पुगेका डा. यादवले अस्पतालको भ्रमण गरेर उपलब्ध प्रविधि, जनशक्ति र सेवाबारे जानकारी लिएका थिए ।

उनले प्रजातन्त्र पुनस्थापनालगतै नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो अस्पताल तथा प्रतिष्ठानको स्थापना विकेन्द्रीत रुपमा भएको भन्दै पछिल्ला दिनमा निजी क्षेत्रले अझै राम्रा संस्था स्थापना गरेको बताए ।

‘अस्पतालको सबै सेवा देखेर सन्तोष लाग्यो, सबै जनताको सर्वसुलभ उपचार गर्न संभव होस्’ उनले भने । उनले अस्पतालको सिस्टम देखेर पनि खुःसी लागेको बताए ।

स्वास्थ्य सेवाको गुणस्तर र प्रविधि विस्तारमा निजी क्षेत्रका स्वास्थ्य संस्थाले पुर्याएको योगदान सराहनीय रहेको समेत बताए ।

तीन वर्षअघि संचालनमा आएको अस्पताल रेडियोथेरापी चिकित्सामा नेपालकै नमूना मानिन्छ ।

क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर ३ वर्षअघि भक्तपुरको नालारोड, ताथलीमा काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा आएको हो ।

क्यान्सरका सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आएको छ ।

अस्पतालमा यसअघि उपलब्ध अत्याधुनिकसेन्टरले हाई डोज रेट ब्य्राकिथेरापी, लिन्याकबाट थ्रिडी रेडियोथेरापी, आइयमआरटी तथा भिम्याट रेडियोथेरापीमार्फत नियमित रूपमा दैनिक ६० बिरामीले उपचार पाइरहेका छन् ।

भारतमा समेत निकै कम अस्पतालमा उपलब्ध रक्तक्यान्सर र बोनम्यारो प्रत्यारोपणमा उपयोगी टोटल बडी इर्याडिकेसन र छालाको क्यान्सरमा टोटल स्किन इलेक्ट्रोन थेरापी काठमाडौं क्यान्सर सेन्टरमा मात्रै उपलब्ध छ ।

अस्पतालमा रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी र फार्मेसी सेवा छन् र छिट्टै क्यान्सर शल्यक्रिया पनि सुरु हुने भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय