बारबर्दियाका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाँभारका वडाध्यक्षको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

३९ वर्षे वडाध्यक्षको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

निमोनियाबाट ग्रसित भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो।

उनको अवस्था झनै जटिल बन्दै गएपछि उपचारमा आवश्यक सबै उपाय अवलम्वन गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए।

उनको उपचारका लागि चारवटा भेन्टिलेटर प्रयोग गरिएको थियो। उपचारकै क्रममा बुधबार बिहान १०ः३० बजे उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

यसअघि समेत बुधबार बिहान बर्दियाकै ६४ वर्षे बृद्धको कोरोनाका कारण ज्यान गएको थियो। यो सँगै कोरोना कारण विभिन्न जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने जिल्लाका ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

अहिले बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा बर्दियाका प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा शव व्यवस्थापनका लागि पहल भइरहेको श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय