बिरामीको रिपोर्ट र टिकट बुकिङ अनलाइनबाटै

रेणु त्वानाबासु
प्रकाशित
२०७७ असोज ७ गते १२:३५

दैनन्दिन कोभिड–१९ का संक्रमितको संख्या बढ्दो छ। सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा कोरोनाका बिरामी भरिएपछि अन्य बिरामी सामान्य स्वास्थ्य उपचारबाटै वञ्चित छन्।

अन्य बिरामीको अवस्थालाई मध्यनजर गर्दै भक्तपुरका अस्पतालले अनलाइन स्वास्थ्य सेवा सुरु गरेका छन्।

कोरोनाका कारण अन्य रोगका बिरामीले उपचारबाट वञ्चित हुन नपरोस भन्ने हेतुले यो सेवा सुरु गरिएको हो। डा. इवामुरा अस्पतालले पनि अनलाइन स्वास्थ्य सेवा सञ्चालन गरेको छ।

भक्तपुरको सल्लाघारीमा अवस्थित डा. इवामुरा अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले बिरामीहरुको सहजतालाई ध्यानमा राखेर अनलाइन स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिए।

अनलाइन सेवामा ओपीडी सेवा, मानसिक, इमजेन्सी सेवा, काउन्सिल र टिकट बुकिङका सेवाहरु दिइरहेको मारिखु बताउँछन्।

उनले कोरोनाका कारण अस्पतालका स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइराख्ने भएकाले अस्पतालबाट बिरामीलाई कोरोना संक्रमण नहोस् र बिरामी पनि सेवाबाट वञ्चित हुनु नपरोस भनेर अनलाइन सेवा सुरु गरेको बताए।

उनले भने, ‘यो सेवा सबै बिरामीहरुका लागि त उचित छैन। तर, फलोअप गराउनुपर्ने बिरामीका लागि भने उपयुक्त छ।’

रगतको जाँचको रिर्पाेट र अरु स्वास्थ्य परीक्षणको रिर्पोट लिनको लागि अब अस्पतालमै आइरहनुपर्ने बाध्यता अनलाइन सेवाले मुक्त गरेको उनको भनाइ छ।

‘रिपोर्ट लिनकै लागि अस्पताल धाउनुपर्ने थियो, अहिले अनलाइन स्वास्थ्य सेवा सुरु भएपछि घरबाटै बिरामीले आफ्नो जानकारी लिन सकेका छन्’, उनले भने।

त्यस्तै भक्तपुरको दूधपाटीमा अवस्थित भक्तपुर अस्पतालमा पनि बिरामीहरुको सहजताका लागि अनलाइन टिकटिङ सेवा सुरु गर्न लागिएको छ।

ओपीडीमा बिरामीहरुलाई घन्टौं लाइनमा बस्न नपर्ने गरी अनलाइनबाट टिकट बुक गरी सेवा दिन लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।

‘बिरामीहरुले सेवा नपाएको गुनासो आएपछि बन्द गरेको ओपीडी सेवा पनि असोज १ गतेदेखि पुनः सुरु गरेका छौं,’ उनले भनिन्।

कोरोनाको ब्लक छुट्टै भएको र अस्पतालको पुरानो भवनमा कोरोनाका बिरामी नभएकाले पुनः ओपीडी सेवा सुरु भएको उनको भनाइ छ। भीडभाड कम गर्न अस्पतालले अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाएको हो।

यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज रत्नसुन्दर लासिवांले अहिलेसम्म अनलाइन स्वास्थ्य सेवा सुरु नभएको जानकारी गराए।

लासिंवाले केही समयअघि अनलाइन स्वास्थ्य सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको बताए। तर, अनलाइन सेवा सबैको पहुँचमा नहुने उनको बुझाइ छ।

‘शिक्षित व्यक्तिहरुका लागि उपयुक्त भए पनि निरक्षर र जेष्ठ नागरिक तथा निम्न वर्गीय सेवाग्राहीका लागि उचित हुँदैन’, उनले भने। सबै सेवाहरु अनलाइनबाटै दिँदा विपन्न, निरक्षर र जेष्ठ नाकगरिहरु मर्कामा पर्ने उनी बताउँछन्।

सबै टिकट बुकिङ भइसकेको अवस्थामा यस्ता वर्गले उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था आउने उनको भनाइ छ। त्यही कारण छलफल भएर पनि अनलाइन स्वास्थ्य सेवा सुरु नभएको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय