भक्तपुरमा किन बढ्दैछन् कोरोना संक्रमित?

सरकारले निषेधाज्ञा खोलेसँगै चहलपहल बढ्दो छ। चहलपहलसँगै भक्तपुरमा कोरोना संक्रमितको संक्रमण पनि दैनिक उकालोलाग्दो छ। भक्तपुरमा हालसम्म एक हजार ५९० संक्रमित संख्या पुगिसकेकाे छ।

१० दिनमै भक्तपुरमा मात्रै ६८७ जना कोरोनाबाट संक्रमित भएका छन्। एकसाताको कोरोना संक्रमित हुनेको तथ्यांकअनुसार सबैभन्दा बढी असोज ४ गते आइतबार १०१ जना संक्रमित भएका छन्।

दैनिक यसरी कोरोना संक्रमितको दर बढ्नु होम आइसोलेसन पनि एक कारण रहेको बताउँछन्, भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवा।

संक्रमितहरू होम आइसोलेसनमा बसे पनि स्वास्थ्य प्रोटोकल अपनाउन नसक्दा पूरै परिवारमा नै संक्रमण फैलिँदै गएको उनको बुझाइ छ।

यसका साथै भक्तपुरमा एउटै घरमा तीन चार दाजुभाइका परिवार बस्ने भएकाले होम आइसोलेसन पनि प्रभावकारी नभएको उनकाे बुझाइ छ।

‘जति सजकता अपनाउँ भन्दा पनि चार परिवारले एउटै शौचालय प्रयोग गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अनि सामाजिक दूरी, अन्य सुरक्षाका उपाय कसरी अपनाउन सकिन्छ र?’

यस्तै, जेष्ठ नागरिक संक्रमित हुँदा चाहेर पनि खरिपाटी वा अन्य आइसोलेसनमा पठाउन नसक्दा पनि संक्रमणको दर दैनिक वृद्धि हुँदै गएको उनको भनाइ छ।

‘८० कटिसकेका जेष्ठ नागरिकलाई यस्तो अवस्थामा झन् बढी स्याहार आवश्यक पर्छ,’ उनले भने, ‘यदि आइसोलेसनमा पठाउँदा उनीहरूसँगै एकजना स्याहार गर्ने व्यक्ति छुट्टै पठाउनुपर्ने हुन्छ।’

सामान्यतः बोलीचालीमा सजकता अपनाउने भन्ने गरे पनि व्यवहारमा लागू हुन नसकेको उनी बताउँछन्।

‘कोही पिसिआर टेस्ट गराएर रिपाेर्ट नआउर्दै बाहिर हिँड्ने, मास्क नलाउने तथा भौतिक दूरी कायम गर्दैनन्। जसकारण एउटा व्यक्तिबाट अर्कोमा सहजै संक्रमण हुनसक्छ’, उनले भने।

छुट्टै होम आइसोलेसनको तयारी

माथि उल्लेखित कारण औल्याउँदै भक्तपुर नगरपालिकाले छुट्टै होम आइसोलेसन बनाउने तयारी गरिरहेको छ।

ठूलो परिवार संक्रमणको दर उच्च रहेकाले नगरपालिकाको पहलमा छुट्टै आइसोलेसन निर्माणका लागि छलफल भइरहेको केन्द्रका इन्चार्ज लासिवाले जनाए।

हालसम्म भक्तपुर नगरपालिकाभित्र मात्रै ३ सय ८० जना संक्रमित पुगेका छन्। दैनिक बढ्दो संक्रमणदेखि नगरपालिकाले चिन्ता व्यक्त गरेको छ।

सर्वसाधारणले सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा पनि संक्रमितको संख्या दैनन्दिन बढेको जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार बताउँछन्।

‘अहिले जताजतै भीडभाड भएको देखिन्छ। मानिसहरू मास्क नलगाई हिँडेका छन्। कतै सामाजिक दूरी कायम छैन,’ उनले भने, ‘मानिसहरूमा कोरोना केही होइन भन्ने भ्रम पनि परिरहेको छ।’

उनका अनुसार स्वाब संकलन गरिसकेका व्यक्तिहरू पनि पिसिआर रिपाेर्ट नआएसम्म क्वारेन्टाइनमा नबसी बाहिर निस्किँदा संक्रमण बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय