भूगर्भशास्त्रीको कोरोना अनुभव : ‘अब घर फर्किन्न भन्ने स्थितिमा पुगेकाे थिएँ’

डा. रञ्जन दाहाल
प्रकाशित
२०७७ असोज ६ गते १७:२१

कोरोना संक्रमणको दर उच्च रहेसँगै अहिले यसको वास्तविकता भोगेकालाई सरकारले अनुभव साझा गर्न अनुरोध गरेको छ। यस्तै, स्वास्थ्य मन्त्रालयले दैनिक कोरोना जानकारी दिने कार्यक्रममा आज कोरोना संक्रमण जितेका भूगर्भविद्को अनुभव सुनाएको छ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भूगर्भशास्त्र अध्यापन गराइरहेका भूगर्भविद् डा. रञ्जन कोइरालाको कोरोना अनुभव यस्तो छ:

कोरोनालाई सामान्य रूपमा नलिऔं

करिब दुई दशकदेखि म भूगर्भ क्षेत्रमा काम गरिरहेको छु। त्रिभुवन विश्वविद्यालयमा यही विषयमा अध्यापन पनि गराइरहेको छु। बढ्दो कोरोना संक्रमणसँगै म पनि कोरोना संक्रमित बनेँ, तर त्यो पीडा आज म यहाँ व्यक्त गर्न चाहन्छु।

साउन १३ गते म कोरोनाबाट संक्रमित भएँ। पूर्वी नेपालका पहिरो अनुगन गर्न जाँदा त्यहाँको स्थानीय गाडी प्रयोग गरेका थियौं।

संक्रमणपछि मात्रै मैले सोचे‌ं कि त्यहाँ कति लापरबाही भएको छ, न त्यहाँ समाजिक दूरी, न कुनै स्वास्थ्य सुरक्षा केही थिएन। त्यसैले मलाई पनि त्यहीबाट संक्रमण भएको आशंका छ।

त्यहाँ काम गर्ने क्रममा पनि सामान्य रुघाखोकी लाग्न सुरु भयो। छाती दुख्ने, श्वास फर्न गाह्रो हुने र कफ नआइकन नै खोकी लागेपछि कोरोनाको शंका गरेँ। त्यहाँबाट काठमाडौं आफैं गाडी चलाएर आएँ। घरमा छुट्टै बसेँ।

त्यसको पाँच दिनपछि निकै गाह्रो भयो। श्वास फेरिरहे पनि एकदमै गाह्रो महसुस भयो। टाउको दुखेर उठाउनै नसक्ने अवस्थामा पुगेँ। घरमा अब म मर्छु होला छिटो अस्पतालमा भर्ना गर्न भनेँ। त्यसपछि सशस्त्र प्रहरीको अस्पतालमा पुगेँ।

संक्रमणको ८ दिनपछि त्यहाँ पुगेको थिएँ। १३ दिन आईसियूमा बिताएँ। त्यहाँ कहालीलाग्दो थियो। तीन चार दिन त बाँच्छु भन्ने आस नै थिएन। कोरोनाको औषधी पनि नबनेको अवस्थामा अस्पतालमा पुग्दा अब घर फर्किँदैन भन्ने लागेको थियो।

तर त्यहाँ अरू औषधि चढाएको थियो तैपनि मलाई बाँच्दिनँ भन्ने लागेको थियो। त्यहाँका चिकित्सकको हौसलाले नै बाँच्न सकेँ। चिकित्सकले निरन्तर हौसला दिए। उहाँहरूले राम्रो हुँदै गएको बताउनुभयो।

त्यहाँ एक किसिमको आत्मविश्वास आयो। त्यसको पाँच दिनपछि भोक लाग्न थाल्यो। यस्तो भोक हुन्थ्यो कि खाना समयमा नआउँदा पीडा महसुस हुन थाल्यो।

रुटिङअनुसार खाना आउँथ्यो। मलाई पहिल्यै नै भोगले पिरोल्न थाल्थ्यो। त्यहाँ अरूलाई पनि मेरोजस्तै भोक लागेको देखेको छु। १८ दिनको बसाइ पनि घर फर्केर १५ दिनजति आइसोलेसनमा बसेँ। पछि खानेकुरा अति खान मन लाग्ने भएपछि पौष्टिक आहार भन्दै धेरै चिज खाएँ।

मासु धेरै खाएँ। पछि डाक्टरलाई देखाउँदा सबै कुरा माथि पुगेको छ भन्नुभयाे। २० प्रतिशतजति त फोक्सो ड्यामेज नै भएको चिकित्सकले बताउनु हुँदा म त झसङ्गै भएँ।

कोरोनालाई जुन तरिकारले हेरेका छौं। त्यो अन्योलपूर्ण छ। आफूलाई एकदमै बलियो सम्झन्थे तर म कोरोनापछि निकै थलिएँ। अहिले जसरी कोरोना केही होइन भन्ने छ त्यसरी नलिनुहोस्।

कोरोनापछि परिवारमा मानसिक तनाव हुन्छ। मलाई पनि अब मेरो परिवारसँगको भेट सकियो भन्ने सोचें। त्यसैले हल्का नलिनुहोस्।

अब के गर्ने ?

हामी धेरै नै संक्रमित भएका छौं। लापरबाहीकै कारण भइरहेको छ। आफ्नो सुरक्षा आफै अपनाएको भए मलाई पनि सर्दैनथ्यो। यो कुरा मनन गर्दै हामीले कोरोनाको भयावह अवस्था आउन नदिन तपाई हाम्रै हातमा छ।

हामी सबैले सरकारले सिकाएको मास्क, स्यानिटाइजर, साबुनपानीले हात धुने कुरा दैनिक गरौं। साबुनपानी कतिपय अवस्थामा नहुँदा स्यानिटाइजर बोक्ने गरौं। सरकारको मापदण्ड अपनायौं, सामाजिक दूरी अपनाउन सक्यौं भने कोरोना जित्न सक्छौं।

हाम्रो आनीबानी सुधारौं। सरकारले पनि सबै खुला गर्दै गएको अवस्थामा हामी सबैले अब सामाजिक दूरी र मास्कलाई अपनाउँदै जीवन जिउन सिकौं। सबैले यस्ता गल्ती गर्नुहुँदैन।

अहिले धेरै हल्ला फिँजिएका छन्। त्यसको पछि नलागौं। मेरो अनुभवबाट कोरोनालाई जुन तरिकाले हामीलाई बुझाइएको छ, ती कुराहरुमा हामीले सबैभन्दा बढी ध्यान सरकारी धारणालाई बुझौं। कोरोनाबाट जुध्न आफैं जुटौं।

दूधसमेत खान पाइनँ

मैले दुर्वयवहार त भोगिनँ तर अझै पनि छरछिमेकमा हिँड्दा ठूलै मान्छे भन्थ्यो, अहिले ढल्यो भन्नेहरु धेरै भेटिए, भलै मुखैअघि भन्न सकेनन्। परिवारका सदस्यलाई पनि बाहिर निस्कँदा पनि हेप्ने रहेछ। मेरो घरमा तरकारी बेच्न आउनेलाई त बन्देज लगाइयो।

अस्पतालमा काम गर्ने नर्सले नै त्यस्तो भनेको देखियो। अहिले मेरो क्षेत्रमा धेरै संक्रमित छन्। उहाँहरूले पनि मैले भोगेको कुरा भोग्दै हुनुहुन्छ।

सहरी वातावरणमा एकदमै अपहेलना फैलिएको छ। कोरोना संक्रमित बाहिर निस्कन मिल्दैन भने, छिमेकी, पसलवालाले फोनमा कुरा गरेर खानेकुरा गेटमा लगेर झुण्ड्याइदियो भने मात्रै पनि धेरै राहत हुन्छ।

कोरोना त्रासकै कारण दूधवाला पनि घरमा आउन डराए। कोरोना अवधिभर मैले दूध पनि खान पाइनँ। दूध चिया त परैको कुरा भयो।
२० वर्षदेखि विपत्तिको सेक्टरमा काम गर्दै गर्दा कोरोना भएपछिको मेरो अनुभव भने हामी सबैले स्वास्थ्य सुरक्षा नपनाए भयावहबाट बाँच्न सकिँदैन।

त्यसैले सरकारले अहिले गरेको अभियान एकदम राम्रो छ। मलाई सरकारले बचाएको हो। सरकारले जुन तरिकाले गरिरहेको छ, त्यो एकदमै सराहनीय छ। अलिकति आइसियु बढाऔं। आइसोलेसनमा खानेकुराको कमी देखेँ, त्यसमा सरकारले ध्यान देओस्। त्यहाँ खानेकुराको राम्रो व्यवस्थापन भयो भने संक्रमितका लागि राहत महसुस हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय