११६ वर्षपछि भक्तपुर अस्पतालमा आईसीयू

नेपालको दोस्रो जेठो अस्पताल भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आएको छ।

आधुनिक चिकित्सा सेवाको सुरुवात भएको भनिएको भक्तपुर अस्पतालले स्थापनाको एक शताब्दी पूरा भइसकेपछि मात्रै आईसियु सेवा दिन सकेको हो।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’को नाममा अस्पताल स्थापना गरेका थिए। पछि यसैलाई भक्तपुर अस्पतालका रुपमा नामकरण गरिएको थियो।

केही वर्षयता प्रयोगमा नआएका आर्सियुका भेन्टिलेटरसहित उपकरण र बागमती प्रदेश सरकारले उपलब्ध गराएको सामग्रीबाट आइसियु सञ्चालन गरिएको अस्पताल विकास समतिका अध्यक्ष मिलन सुवालले जानकारी दिए। जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आईसियु सेवा अत्यावश्यक हो।

विसं २०२८ सालमा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शय्या प्रसूतिगृह थप गरी ७५ शय्या बनाइएको थियो।

अस्पतालमा गत बिहीबारदेखि सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

हाल सरकारले यस अस्पतालाई कोरोना अस्पतालका रुपमा उपयोगसमेत गरेको छ। यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ शय्याको आईसियु र कोरोना सङ्क्रमित राख्ने १६ शय्याको आइसोलेसन तथा १० शय्यामा कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘आईसियु अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आईसियु ब्लक निर्माणदेखि अन्य सबै तयारी पुरा गर्‍याैं।’

बागमती प्रदेशका सामाजिक विकासमन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आईसियु सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ।

आईसियुको लागि थप एक शय्या र दुईवटा भन्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ। अस्पतालले कोभिड महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ। अहिले कोरोनाका पाँच जना आईसियु, १३ जना लक्षण देखिएका र १० जना आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेसनमा ९७ जनाको उपचार भइरहेको उनले जानकारी दिइन्। अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।

सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ.। अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवा समेत दिने व्यवस्था गरेको मेसु डा. गौतमले जानकारी दिइन्।

त्यसैगरी पाठेघरको निःशुल्क अप्रेसन तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ। अस्पतालले पेईङ्ग क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ। अस्पतालको ओपीडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दुरबिन प्रबिधिबाट अप्रेसन सेवा समेत सञ्चालनमा ल्याएको छ।

कोभिड ब्लक समेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उनको भनाइ छ। अस्पतालको एउटै कम्पाउण्ड भए पनि कोभिड र नन कोभिडका बिरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएको दाबी गर्दै उनले ठाउँ अभावले समस्या भएको बताइन्।

जिल्ला समन्वय समितिका प्रमुख एवं भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभइ केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने बताए।

उनले भने, ‘यस अस्पतालको अध्यक्ष हुँदा २०७२ सालमा १ करोड ५० लाख रकममा आईसियु स्थापना गर्न सामान ल्याए तर कर्मचारीले आईसियु चलाउन दिएनन्, मैले आईसियू चलाउन ठाउँ, पाँच शय्याको बेड, तीन भेन्टिलेटर तयार पारेर अपाङ्गमैत्री भर्‍याङ्ग र अन्य ओपीडी सेवा थप गराएँ, अस्पतालको स्वरुप नै फेरियो।’

अस्पताल जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको छ। अहिले अस्पताललाई थप भवन अभाव हुँदा यसतर्फ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ध्यान जानु आवश्यक देखिन्छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय