महामारीको कहर सम्झेर कुनै दिन आँसु झारेका डाक्टरले जब पदक पाउने खबर पाए….

डा. धिरज गुरुङ काठमाडौंमा जन्मेहुर्के।

सानैमा परिवारले अध्ययनका लागि भन्दै भारत पठायो। उनी त्यति बेला सात वर्षका थिए।

दाइहरू उतै पढ्ने भएकाले उनलाई भारत बसाइ त्यति असहज भएन।

कक्षा १० सम्मको पढाइ सकेर उनी नेपाल नै फर्किए। उच्च तहको अध्ययन चोभारमा रहेको मोडर्न इन्डियन्स स्कुलमा गरे।

घरमा टिभी हेर्दा विकटमा मानिसले उपचारै नपाएर ज्यान गुमाउनुपरेको समाचार सुन्दा र देख्दा उनको मन निकै कुँडिन्थ्यो। उनी सानैमा सोच्थे, दुर्गमका रोगी ओखतीमुलो लगाउन पाए जीवनमा ठूलो पुण्य कमाइन्थ्यो।

यस्तै घटनाले उनको मानसपटलमा ‘डाक्टर’ बन्ने हुटहुटी पलायो। त्यसपछिको अध्ययन एमबिबिएस मणिपाल मेडिकल र एमडी नेपाल मेडिकल कलेजबाट इन्टरनल मेडिसिनमा गरे ।

काठमाडौं तथा सुगम क्षेत्रमा काम गर्नका लागि उनलाई त्यति असहज पनि थिएन। तर, कलिलो उमेरमा मानसिकतामा परेको छाप बिर्सन सकेनन्। उनले सेवा गर्नको लागि दुर्गम ठाउँ नै रोजे।

आफूलाई दुर्गम क्षेत्रको अनुकूल वातावरणमा ढाल्नका लागि गाह्रो होला कि भनेर दुई वर्ष लुम्बिनी मेडिकल कलेजमा सेवा गरे।

त्यसपछि विकट क्षेत्रका मानिसलाई सेवा दिन उनी जुम्ला हान्निए।

दुई वर्षभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेर जुम्लावासीको सेवा गर्दै आएका छन् उनले।

अझै केहि वर्ष कर्णालीमा बसेर दुर्गमका जनताको सेवा समर्पित हुने उनको सोच छ। ‘समयले साथ दिएसम्म यहींका मानिसको सेवा गर्ने मन छ। तर, बुबाआमालाई बुढ्यौली छोइसकेको छ,’ डा. गुरुङले भने, ‘धेरै समय उहाँहरुबाट टाढा भइसकेको छु। हेरौं बुढेसकालका बुवाआमाको मन कहिलेसम्म थाम्न सक्छु।’

उनको त्यही दुर्गमको मोहले यतिबेला सम्मान पाएको छ। डा. गुरुङलाई नेपाल सरकारले ‘प्रवल जनसेवाश्री (चतुर्थ)’ बाट विभूषण प्रदान गरेको छ।

डा. गुरुङ कर्णाली जस्तो दुर्गममा यतिबेला विश्वव्यापी बनेको कोरोना संक्रमितको उपचारमा सक्रिय छन्। प्रतिष्ठानमा उनले कोरोना विभागको मोर्चा कुशलतापूर्वक सम्हालिरहेका छन्।

चीनमा कोरोना भाइरसले पारेको प्रभावबारेमा सामाजिक सन्जाल तथा मिडियामा चर्चा हुन थालेको थियो। भाइरस स्वरुपले हेर्दा कतै अछुत नरहने प्रस्ट भइसकेकाले त्यहीअनुसारको तयारीमा पहिलाबाटै जुटेको डा. गुरुङ बताउँछन्।

‘कर्णालीजस्तो विकट क्षेत्रमा विश्वमा नै कारोनाको उपचार र सुरक्षाका लागि आवश्यक पर्ने सामग्रीको अभाव भइरहेको समयमा हामीलाई सामग्री जोहो गर्नु पक्कै सहज थिएन’, हेल्थपोस्टसँग उनले भने, ‘त्यसबीचमा पनि हामीले आफूले भ्याउने सम्मको तयारी र आवश्यक पूर्वाधार व्यवस्थापन गरेका थियौं।’

गतमाघ ९गते नेपालमापहिलो पटक कोरोना संक्रमित भेटिए। त्यसपछिकादिनहरूमा देशकाविभिन्न स्थानमा संक्रमित केस पुष्टि हुँदै गए।

तर, कर्णालीमा भने चार महिनापछि अर्थात जेठ ५ गते पहिलो संक्रमित भेटिए।

उनी ती दिन सम्झँदै भन्छन्, ‘कोरोना भन्नेबित्तिकै सर्वसाधारण र स्वास्थ्यकर्मीमा समेत ठूलो डर थियो। सुरुआती दिनमा भाइरसबाट जोगिन सबैभन्दा ठूलो कुरा सुरक्षा सामग्री नै थियो। तर, कर्णालीमा त्यसकै अभाव थियो। काठमाडौंमा नै स्वास्थ्य सामग्रीको अभाव भइरहेको समयमा हामीले जति मागे पनि सामग्री पाउने अवस्था थिएन।’

तत्कालीन अवस्थामा संक्रमणबाट जोगिनका लागि प्रतिष्ठानले टेलरमा प्लास्टिक सिलाउन दिएर पिपिई बनाएको उनले सुनाए। तर, मास्कको उस्तै समस्या थियो।

नेपालका सीमानाका खुला हुन थालेपछि भारतबाट आउने मानिसको चाप बढ्यो र संक्रमित संख्या पनि बढ्न थाल्यो।

त्यसबेला अस्पतालका अन्य बिरामी कोरोना संक्रमित भन्नासाथ आत्तिने गरेको डा. गुरूङ सम्झन्छन्।

‘छुट्टै राख्न भवन थिएन। माथिल्लो तलामा रहेका दुइटा मेडिसिन वार्ड खाली गर्यौं तर, संक्रमितलाई माथि लैजान समस्या भयो,’ डा. गुरुङले सुनाए, ‘पछाडिबाट छुट्टै बाटो बनाएर संक्रमित लैजाने व्यवस्था गर्यौं।’

सुरुआती दिनमा धेरै दुःख भोग्नुपरेको उनको अनुभव छ।

उनले थपे, ‘पर्याप्त रूपमा स्वास्थ्य सामग्री नभएपछि स्वास्थ्यकर्मी नै संक्रमणबाट डराएका थिए। मलाई पनि पहिला डर थियो। तर, बिरामीकै सेवामा होमिएकाले पन्छिन सक्ने अवस्था पनि थिएन। विस्तारै रोगसँग लड्ने पेसा अँगालेको मानिसले संक्रमणसँग डराउनु हुँदैन सोचर मनोबल पनि उच्च पार्दै गएँ।’

प्रतिष्ठानमा केही समयअगाडि विश्व स्वास्थ्य संगठनका पदाधिकारीको छलफल भएको थियो। डा. गुरुङलाई लागेको थियो, ‘यो भाइरस केही समयपछि हराएर जाने छ। छिट्टै नै खोप वा औषधी पत्ता लाग्ने छ। तर, त्यो छलफलमा अझै खोप आउन २–३ वर्ष लाग्छ भन्ने कुरा उठ्यो। त्यो कुराले आत्मबल घटायो।

‘अझै खोप नआउने कुराले मनोबल घटेको आफैंले आभाष गरें। कतिन्जेल यस्तो समस्या झेलेर बस्ने हो थाहा छैन,’ उनले भने, ‘त्यही कुराले एकदिन त रून पुगेछु।’

चिकित्सक नै भए पनि मानिस हो। मन हुन्छ। कहिलेकाहीं स–साना कुराले पनि मन छोइरहेको हुन्छ। सुगममा बसेर जीवन बिताएको मान्छे। सेवाकै लागि दुर्गममा पुगेर विश्वव्यापी महामारीसँग लड्नुपर्दा सायद उनको मन थामिन सकेन ।

आखिर उनको भूमिका पनि त कोरोना संक्रमितको उपचार र व्यवस्थापनको थियो। अस्पतालमा संक्रमितको उपचार, तथा जनशक्ति व्यवस्थापनमा उनी नै दिनरात खटिए। अहिले एक दिन बिदा बसेका छैनन्।

‘आफैंले मनोबल घटाउन थालें भने अन्य स्वास्थ्यकर्मीको मनमा के पर्ला सोचेर काम निरन्तर गरिरहें,’ उनले भने, ‘आत्मबल बलियो भएपछि जस्तोसुकै कठिनाइ पनि पार लगाउन सकिँदो रहेछ।’

तत्कालीन समयमा संक्रमणबाट बच्न नै कसरी काम गर्नुपर्छ भन्ने प्रतिष्ठानका स्वास्थ्यकर्मीमा ज्ञानको कमी थियो। त्यो अझै पनि एकहदसम्म कायम छ। तर, तालिम दिनका लागि आजसम्म सरकारी निकायले चासो नदेखिनु दुखद पक्ष रहेका डा. गुरुङ बताउँछन्।

सामाजिक सन्जालबाट संक्रमणबाट कसरी बच्ने भिडियो हेरेर नै आफूहरूले काम गरेको उनको भोगाइ छ।

‘पिपिइको प्रयोग कसरी गर्ने भिडियो हेरेर गर्दै गयौैं,’ उनी भन्छन्, ‘पछि आफूले जानेका कुरा अरूलाई सिकाउँदै गयौं।’प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि १ सय २० आइसोलेसन बेड छुट्याएको छ।

हालसम्म १ सय २१ जनाको निको भएर घर फर्किसकेका छन्। तर, अहिलेसम्म आइसियु र भेन्टिलेटरमा कुनै संक्रमितलाई राख्नुपरेको छैन।

हाल प्रतिष्ठानमा दुईजना संक्रमित छन्। संक्रमित संख्या कम भएपछि अहिले जनशक्ति परिचालन कम भएको छ।

हाल चारजना नर्सिङ स्टाफ गरेका छन्। जसमध्ये २–२ जनाले रूटिन मिलाएर काम गरेको डा. गुरुङ बताउँछन्। संक्रमितलाई केही समस्या परेमा मेडिकल अफिसरले हेर्ने गरेका छन्।

‘पहिला–पहिला चिकित्सक र नर्सलाई काम लगाउन धेरै गाहो हुन्थ्यो,’ डा. गुरुङ भन्छन्, ‘अहिले व्यवस्थापन भएपछि सबै जनाले बिनाडर काम गरिराख्नुभएको छ।’

प्रतिष्ठानमा ९ आइसियु बेड र ७ वटा भेन्टिलेटर रहेको छ।

विकट भएको हुनाले उपकरण बिग्रँदा धेरै समस्या पर्ने उनको अनुभव छ।

डा. धिरज गुरुङ र डा. उमा गुरुङ

पहिला–पहिला संक्रमण भारतबाट आएका युवामा देखिएको र अहिले समुदायस्तरमा नै संक्रमण फैलिएको हुनाले आगामी दिन थप चुनौतीपूर्ण हुने उनको अनुमान छ।

कोरोनाको त्रासका कारण धेरै मानिसमा मानसिक समस्या देखा परेको छ। केही संक्रमित केसहरू मानसिक समस्या भएका पनि आउने गरेको डा. गुरुङले सुनाए।

‘मानसिक बिरामीलाई उपचार गर्नमा धेरै जटिलता आउने गरेको छ। उनीहरूलाई पलपलमा निगरानी राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘बिरामीले झ्यालबाट हाम्फाल्छु, आत्महत्या गर्छु भनिरहेका हुन्छन्। एकछिन छोड्दा पनि के हुने हो भन्ने डर भइराख्छ।’

नर्स जतिबेला पनि भित्र बस्न सम्भव नभएको हुनाले उनीहरूका आफन्तसमेत कुरुवामा राख्न बाध्य भएको उनले बताए।

उनकी श्रीमती उमा (गुरुङ) पनि डाक्टर हुन्। उनी प्रतिष्ठानमा रेडियोलोजी तथा एक्स–रे विभागमा छिन्।

उनीहरू दुवै अस्पतालको क्वाटरमा बस्दै आएका छन्।

श्रीमतीको साथ–सहयोगले काम गर्नमा थप हौसला मिलेको डा. गुरुङ सुनाउँछन्।

आफू फ्रन्टलाइनमा खटेकाले हुनाले कतै श्रीमतीलाई पनि संक्रमण हुन्छ कि भन्ने मनमा डर भइराख्ने उनले सुनाए। ‘उनले मेरो हरेक समस्यामा साथ दिँदै आएकी छन्,’ डा. गुरुङले भने, ‘घरपरिवार सबैको साथ पाएर यसरी काम गर्न सकेको छु।’

बेलुका फुर्सद भएपछि सधैंजसो आमा–बुबासँग कुरा गर्ने गरेका छन्।

आमाले प्रायः ‘आफ्नो ख्याल गर्नु, धेरै स्वास्थ्यकर्मी संक्रमित भएको खबर सुनिरहेका छौं’ भनिराख्नु हुन्छ। अनि रुन थाल्नुहुन्छ। यो बेलामा आमाको असाध्यै माया लाग्छ,’ डा. गुरुङले आमासँग भावना सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय