यी हुन्, राष्ट्रपतिबाट विभूषित ‘फ्रन्टलाइनर’ दश नर्स

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्‌याउने व्यक्ति,व्यक्तित्व राष्ट्रपतिबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने गरेका छन्।

सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

यसबर्ष कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा रहेका काम गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी सम्मानित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने स्वास्थ्य क्षेत्रका १२३ भन्दा बढी स्वास्थ्यकर्मीलाई मानपदवीबाट विभूषित गरिएको छ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न हुने नर्सहरू पनि विभूषित भएका छन्।

सधैंजसो नर्सको भूमिका ओझेलमा पर्दै आएको सन्दर्भमा यसवर्ष भने नर्सिङ भूमिकालाई सरकारले महत्वका साथ हेरेको छ।

यसभन्दा अगाडि १-२ जनालाई मात्रै विभूषित हुने गरेकोमा कोरोना उपचार तथा अन्य भूमिकामा रहेका ८ नर्सलाई सरकारले सम्मानित गरेको छ।

नर्सिङ महाशाखाकी प्रमुख रोशनी तुईतुई सरकारले पछिल्लो समयमा नर्सको भूमिकालाई महत्वसाथ हेरेको बताउँछिन्।

अहिले सन्दर्भमा कोरोना उपचारमा अधिकांश नर्सहरू खटिएको र त्यसको सरकारले राम्रो मूल्याकंन गरेको देखिएको तुईतुईको भनाइ छ।

सरकारले प्रदेश स्तरबाट सबैको प्रतिनिधित्व हुने गरी सम्मानित गरेको भए अझै नर्सको मनोबल बढ्ने उनको तर्क थियो।

यसवर्ष त्रिवि शिक्षण अस्पतालमा कार्यरत आइसियु तथा क्रिटिकल केयरमा राम्रो भूमिका निर्वाह गर्दै आएका दुई नर्स सम्मानित भएका छन्। जनसेवाश्री (पञ्चमं) बाट कविता सिटौला, विमला श्रेष्ठ, सोनी शेर्पा सम्मानित भएका छन्। प्रबल जनसेवाश्री (चतुर्थ) बाट ज्योति पौडेल, सुनीता गुप्ता, केशु काफ्ले, गंगा हुमागाईं, प्रवित्रा विष्ट र शुभद्रा चौधरी रहेका छन्।

विभूषित हुनेमध्ये यी नर्सहरु आफ्नो क्षेत्रमा उल्लेखनीय कामले चर्चित रहेका छन्।

१.कविता सिटौला, क्रिटिकल केयर, त्रिवि शिक्षण अस्पताल

झापामा जन्मेकी कविता करिब ५ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयरमा  कार्यरत रहेकी छन्।

उनी क्रिटिकल केयर नर्सिङ एसोसिएसन सार्क तथा नेपालकी महासचिव पनि हुन्। उनको एसोसिएसनलाई संस्थागत गर्नका लागि ठूलो भूमिका रहेको छ।

उनले अन्तर्राष्ट्रिय स्तरमा क्रिटिकल केयर नर्सिङमा राम्रो दक्षता कमाएकी छन्। त्यसैगरी, अस्पतालको कलेजो प्रत्यारोपणकी आइसियु कोअर्डिनेटरसमेत हुन्।

कविताले क्रिटिकल केयरसम्बन्धी धेरै नर्सलाई तालिम दिँदै आएकी छन्।

२. ज्योति पौडेल, नर्सिङ इन्चार्ज लुम्बिनी प्रादेशिक अस्पताल

ज्योति पौडेल लुम्बिनी अस्पतालकी नर्सिङ इन्चार्ज हुन्। पछिल्लो समयमा कोरोना उपचारमा नर्सको नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर उनले काम गर्दै आएकी छन्।

ज्योतिले अस्पतालमा काम थालेको साढे ५ वर्ष बितिसकेको छ। त्यसअघि डेढ वर्ष बुटवलको एडभान्स नर्सिङ कलेजमा स्टाप नर्सलाई पढाउने गरेकी थिइन्।

२०७१ सालमा लोकसेवा आयोगबाट नर्सिङ अधिकृतको सातौं तहमा नाम निकालेकी थिइन्।

सुरुमा उनी प्रादेशिक अस्पतालको वार्ड इन्चार्ज थिइन्। ०७६ सालदेखि भने अस्पतालको नर्सिङ इन्चार्जका रूपमा काम गर्दै आएकी छन्।

३.विमला श्रेष्ठ, आइसियु इन्चार्ज, त्रिवि शिक्षण अस्पताल

विमला त्रिवि शिक्षण अस्पतालकी आइसियु इन्चार्ज हुन्।

उनी १२ वर्षदेखि आइसियुको इन्चार्जमा कार्यरत रहेकी छन्।

त्यसैगरी, उनी क्रिटिकल केयर नर्सिङ एसोसिएसनकी उपाध्यक्ष समेत हुन्। उनले ५ वर्षदेखि एसोसिएसनलाई राम्रो बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा नर्सिङ क्षेत्रको आइसियुमा उनले सबै व्यवस्थापन गरेकी थिइन्।

उनले अस्पतालको कलेजो प्रत्यारोपणको आइसियु इन्चार्जको रूपमा पनि काम गर्दै आएकी छन्।

४.शुभद्रा चौधरी, नारायणी अस्पताल स्टाफ नर्स

शुभद्रा कोरोना उपचारमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएकी छन्।

उनी नारायणी अस्पतालमा कोरोना उपचारमा नर्सिङ इन्चार्जको रूपमा काम गर्दै आएकी छन्।

उनी २०६५ सालदेखि नर्सिङ पेसामा आबद्ध भएकी हुन्।

२०६९ सालदेखि उनी नारायाणी अस्पतालमा कार्यरत रहेकी थिइन। त्यसभन्दा अघि उनी इलाम अस्पतालमा रहेकी थिइन्।

५.गंगा हुमागाईं, त्रिवि शिक्षण अस्पताल, सह नियन्त्रक शिक्षण अस्पताल

गंगा करिब ६ महिनादेखि त्रिवि शिक्षण अस्पतालमा कोरोना उपचारको व्यवस्थापन समितिमा रहेर काम गरिरहेकी छन्।
उनले कोभिड उपचारमा नर्सिङ प्रमुखको जिम्मा लिएर काम गरिरहेकी छन्।

हाल उनले कोरोना संक्रमितको उपचारमा एक दिन बिदा नबसी काम गर्दै आएकी छन्।

उनले करिब २० वर्षदेखि त्रिवि अस्पतालमा विभिन्न पदमा रहेर काम गरिसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय