दुई सय नर्स संक्रमित, नर्सिङ स‌ंघ भन्छ- गुनासाे बढ्दाे छ

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढिरहेको छ। त्यही तुलनामा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरू पनि संक्रमित भइरहेका छन्।

त्यसमा नर्सहरूको संख्या पनि बढ्दो छ। देशभर अहिलेसम्म २ सय नर्स कोरोना संक्रमित भइसकेका छन्। त्यसमा एक सय ४० जना निको भएर ड्युटीमा फर्किसकेको नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले जानकारी गराइन्।

बाँकी ६० जना भने आफ्नो अस्पताल र होम आइसोलेसनमा बसिरहेका छन्।

अहिले नर्सको संक्रमण बढेस“गै गुनासोहरू पनि बढ्दै गएको अवस्था छ।

नर्सहरूको मुख्य गुनासो भनेको कोरोना जोखिम भत्ता उपलब्ध नभएको भन्ने छ।

अध्यक्ष राईले भनिन्, ‘कति नर्सले अहिलेसम्म पनि जोखिम भत्ता पाएका छैनन्। यसमा उनीहरूको गुनासो छ। त्यस विषयमा सम्बन्धित अस्पतालको व्यवस्थापनसँग छलफल गर्ने गरेका छौं।’

त्यस्तै संक्रमित नर्सलाई भेदभाव गरिएको गुनासो पनि त्यत्तिकै आइरहेको अध्यक्ष राईले बताइन्। संक्रमित नर्सलाई राख्ने आइसोलेसनमा कम सुविधा र डाक्टरहरूलाई राख्ने आइसोलेसनमा बढी सुविधा गरिएको गुनासो पनि नर्सहरूले सुनाउने गरेको अध्यक्ष राईले जानकारी गराइन्।

अध्यक्ष राईका अनुसार आइसोलेसनमा रहेका संक्रमित नर्सलाई समयमा खाना नदिने र चेकअपमा नआउने जस्ता गुनासो पनि छ।

अध्यक्ष राईले यिनै गुनासोलाई मध्यनजर गरेर संघको तर्फबाट सक्दो समस्या समाधान गर्ने काम गरिरहेको बताइन्।

नर्सहरूमा कोरोना संक्रमण कसरी बढ्यो भनेर पनि रिसर्च गरिरहेको उनले जानकारी गराइन्।

कोरोना संक्रमित वार्डमा गएर आइसकेपछि स्वास्थ्यकर्मीले पिपिई फुकाल्दा अलि ध्यान पुर्याउन सके संक्रमित हुने संख्या कम हुन्थ्यो कि भन्ने लागेको उनले बताइन्।

मुख्यगरी कोरोना संक्रमित बिरामीको उपचारमा खटेका नर्सले पिपिई फुकाल्दा ध्यान दिएर हतार नगरी पिपिई फुकाल्न उनले अनुरोध गरिन्।

उनले अहिले आइसोलेसनका लागि अस्पतालमा कार्यरत नर्सलाई नै परिचालन गरिरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय