गण्डकीका चार जिल्लाका ५६ जना संक्रमित, एककाे मृत्यु

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

पोखरा र चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका ५६ जनामा पोजेटिभ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १७, तनहुँका चार र स्याङ्जाका एक जना छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ सय ३६ पुगेको छ। तीमध्ये १९ सय ७५ जना निको भएका छन्।

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नवलपुरको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

ती पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

जटिल खाले श्वासप्रश्वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा त्यहाँ भर्ना भएका थिए। २६ भदौमा ती पुरुषमा कोरोना पुष्टि भएको थियो।

योसहित गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६-६, तनहुँका चार, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक-एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय