धुलिखेल प्रयोगशालामा पोजेटिभ २१ स्वास्थ्यकर्मीको कोरोना रिपाेर्ट टेकुमा नेगेटिभ

भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति अस्पतालका २१ जना स्वास्थ्यकर्मीको कोरोना रिपाेर्ट नेगेटिभ आएको छ।

अस्पताल प्रशासनका अनुसार प्रादेशिक धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा रिपाेर्ट पोजेटिभ आएको थियो। तर, एक दिनबीचमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपाेर्ट नेगेटिभ आएको हो।

अस्पतालका प्रशासन प्रमुख अनिल राजभण्डारीले २१ जना स्वास्थ्यकर्मीको पुन: पिसिआर परीक्षण गर्दा सबैको रिपाेर्ट नेगेटिभ आएको बताए। आइतबार २१ जना स्वास्थ्यकर्मीहरूको कोरोना संक्रमित भएपछि सेवा बन्द गरिएको थियो।

‘हामीलाई धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा शंका लागेको थियो,’ डा. राजभण्डारीले भने, ‘पुन: परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पठाएका थियाैं। त्यहाँ रिपाेर्ट नेगेटिभ आयो।’

स्वास्थ्यकर्मीको पिसिआर रिपाेर्ट नेगेटिभ आएसँगै अस्पतालको सेवा पुन: सुचारु गरेको छ।

‘अहिले उहाँहरू खरिपाटीमा आइसोलेसनमा सेन्टरमा बसिरहनुभएको छ,’ राजभण्डारीले भने, ‘प्रक्रियाअनुसार एक दुई दिनमा घर पठाउनुहुन्छ कि?’

तर, भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले ती २१ जना स्वास्थ्यकर्मीहरू १ हप्ता आइसोलेसनमा नै बस्नुपर्ने बताउँछन्।

होम आइसोलेसनमा बसेका स्वास्थ्यकर्मीलाई केही दिन घरमा बस्नका लागि अनुरोध गरिएको लासिवाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय