डेढ सय बढी संक्रमित घरमै, पोखरा महानगरको प्रस्तावमा आइसोलेसन बनाउन धेरै अनिच्छुक

पोखरा महानगरपालिकाले कोरोना भाइरस संक्रमितका लागि राख्न सशुल्क वा निःशुल्क आइसोलेसन सेन्टर बनाउन दुई पटकसम्म सार्वजनिक सूचना जारी पर्याप्त प्रस्ताव आएन।

विभिन्न मापदण्डसहित महानगरले इच्छुक होटल, पार्टी प्यालेस, विद्यालयलगायतका प्रस्ताव पेस गर्न सूचना जारी गरे पनि दुई होटलले मात्रै आइसोलेसन बनाउने इच्छा देखाए।

कम्तीमा एक सय बेड राख्न सकिने, पर्याप्त शौचालय, बिजुली, टेलिफोन र सडक सुविधा भएको, छरछिमेकले विरोध नगर्ने सुनिश्चित हुनुपर्नेलगायतका मापदण्ड तोकेर महानगरले प्रस्ताव आह्वान गरेको थियो।

प्रस्ताव पेस गरेका होटलमा आइसोलेसन सञ्चालन गर्नेबारे महानगरले निर्णय गरेको छैन।

‘कम्तीमा ५० बेड नभई आइसोलेसन बनाउन सम्भव हुँदैन। त्यस्ता खालका दुई होटलबाहेक अरुको प्रस्ताव आएन,’ महानगरको

कोरोना रोकथाम मूल समिति सदस्य किरण कोइरालाले भने, ‘पार्टी प्यालेस वा कुनै हस्पिटलको प्रस्ताव आउँछ भन्ने थियो। होटलमा राख्न के गर्ने भन्ने चार-पाँच दिनपछि टुंगो लाग्ला।’

पछिल्लो चार दिनमा पोखरामा १ सय ३३ संक्रमित थपिएका छन्। तर अधिकांश संक्रमित घरमै बसेका छन्। त्यसअघि पोखराका एक सय ६५ संक्रमित होम आइसोलेसनमा बसेको पोखरा महानगरपालिकाको तथ्यांक छ। आइसोलेसनमा ठाउँ नभएपछि उनीहरुलाई घरमै राख्नुपरेको हो।

‘पछिल्लो पाँच दिनमा ३० जना संक्रमित आइसोलेसन जानुभयो होला। अरु घरमै हुनुहुन्छ। अहिले एक सय ६५ जना होम आइसोलेसनमा बस्नुभएको छ,’ महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने।

सरकारले लक्षण नदेखिएकाको कोरोना परीक्षण नगर्ने जस्ता अभिव्यक्ति सार्वजनिक गरेकाले पनि होटलमा आइसोलेसन सञ्चालन गर्ने विषय अन्योलमा परेको समिति सदस्य कोइराला बताउँछन्।

‘केन्द्र सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्न भनिसक्यो। परीक्षण गरेकालाई हस्पिटलले नै राख्छ,’ सदस्य कोइरालाले भने,

‘लामो रुटको बस र सिटी बस सञ्चालन गरेपछि कन्ट्र्याक ट्रेसिङ सम्भव हुँदैन।’

सुरक्षाको जोखिम बढी हुने भएकाले होटलले आइसोलेसन बनाउन इच्छा नदेखाएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए।

‘सबै होटललाई जानकारी गराएका थियौं। पूर्वाधार नभएको र जोखिम बढी हुने भएकाले पनि इच्छा नदेखिएको होला,’ उनले भने।
प्रशासनले क्वारेन्टाइनका लागि सूचीकृत गरेका २४ होटलमध्ये आठ होटलले सक्रिय क्वारेन्टाइन सञ्चालन गरेको अध्यक्ष तुलाचनले बताए। ती होटलबाट साढे पाँच सयभन्दा बढीले सेवा लिएका छन्।

पोखराको लेकसिटी हस्पिटल, कृषि तालिम केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा रोग अस्पताललाई आइसोलेसन बनाइएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३५ र लेखनाथको सरुवा रोग अस्पतालमा ४० बेडको आइसोलेसन बनाइएको छ।

क्षेत्रीय अस्पतालमा लक्षण देखिएका संक्रमित राखिएको छ भने अरु आइसोलेसनमा लक्षण नभएका संक्रमितलाई राखिएको छ।
सरुवा रोग अस्पतालमा ३८ संक्रमित उपचाररत छन् भने क्षेत्रीय अस्पतालमा २८ संक्रमित छन्। बाँकी दुई आइसोलेसनमा ४८ जना छन्। सरुवा रोग अस्पतालमा आवश्यकता अनुसार ५० बेड बनाउन सकिन्छ।

उपचाररत संक्रमितको स्वास्थ्यमा समस्या भए क्षेत्रीय अस्पतालमा रेफर गर्ने गरिएको सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले जानकारी दिए।

‘सुरुमा ३४ बेड बनाएका थियौं। अहिले ६ बेड थपेर ४० पु¥यायौं। यहाँ लक्षण नभएकाको मात्रै उपचार भइरहेको छ। कसैलाई सास्या भए क्षेत्रीय अस्पताल रेफर गर्छौं,’ उनले भने।

क्षेत्रीय अस्पतालका २८ मध्ये सात संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको आइसोलेसन इन्चार्ज रत्ना शाक्यले जानकारी दिइन्।
महानगरले पोखरा ३३ मा रहेको एउटा बेबारिसे भवनमा ५० बेडको आइसोलेसन बनाइरहेको छ।

‘बनाएरमात्रै राखेको एउटा भवन थियो। अहिले महानगरले त्यसमा आइसोलेसन बनाउन खोजेको छ। ५० लाख खर्च भइसक्यो,’ पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यले भने।

बुधबारसम्म पोखराका ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये दुई सय ८४ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ। पोखराका आठबाहेक बाँकी दुई जना अन्नपूर्ण र मादी गाउँपालिकाका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय