भक्तपुरमा अस्पतालका प्रमुखहरूको बैठक, निःस्वार्थ सेवा गर्न मेयरको अनुरोध

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरभित्र रहेका सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रूपमा जनताको सेवा गर्नुपर्ने बताएका छन्।

आफ्नै अध्यक्षतामा बुधबार भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल र स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठकमा मेयर प्रजापतिले उक्त धारणा राखेका हुन्।

भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पिसिआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको बताए।
अस्पताल प्रमुखहरूसँगको उक्त बैठकले कोभिड–१९ संक्रमण न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन भक्तपुरमा पिसिआर परीक्षण व्यापक रुपमा गरिनुपर्ने निर्णय गरेको छ।

त्यही उद्देश्यले वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई प्रदान गर्ने भनिएको पिसिआर परीक्षण गर्ने उपकरण यथाशीघ्र उपलब्ध गराउन र परीक्षण विधिका लागि आवश्यक सामग्रीको बन्दोबस्त गर्न वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ।

कोभिड–१९ रोगको संक्रमण न्यूनीकरण कार्यका लागि नगरपालिका र यहाँस्थित सरकारी तथा निजी अस्पतालहरूबीच समन्वय गरी अगाडि बढ्ने र नगरवासी जनतामा कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा उपचार विधिबारे जनचेतना जगाउने कार्यमा नगरस्थित सबै अस्पताल सामूहिक प्रयास गर्ने निर्णय बैठकले गर्यो।

बैठकले भक्तपुर नगरपालिकामा कोभिड–१९ रोगको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा संक्रमित नगरवासीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालहरू सहमत भएका छन्।

बैठकमा सहभागी भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धि स्मृति अस्पतालका प्रशासक अनिल

राजभण्डारी र डा. अखिल ताम्राकार ताथ जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले हाल महामारीको रूपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरण तथा बिरामीको उपचारसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

उनीहरूले भक्तपुर नगरपालिकाभित्र सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहरूले महामारीबीच पनि जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकोे, कोभिड संक्रमितका लागि छुटै एम्बुलेन्सको खाँचो भएको, स्वास्थ्यकर्मी स्वयंमा कोरोना संक्रमण देखिन थालेका कारण अस्पतालहरूमा जनशक्तिको अभाव रहेको, भक्तपुरमै पिसिआर परीक्षण आवश्यक रहेको र होम आइसोलेसन व्यवस्थित नहुँदा संक्रमण जोखिम बढिरहेको विषयमा धारणा व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय