सरकारी सेवामा १६ हजार नर्स थपिँदै

विश्वव्यापी कोरोना भाइरस संक्रमणले देश थलिइरहेको छ। संक्रमणसँग प्रत्यक्ष जोडिएको एउटा मुख्य जनशक्ति हो, स्वास्थ्य।

र, त्यसमा पनि बिरामीसँग अझ बढी गाँसिने भनेका नर्स हुन्।

तर, देशका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमै नर्स अभाव चुलिएको छ।

सरकारले २७ वर्षअघिको नर्सिङ दरबन्दी अझै फेर्न सकेको छैन। २०५० सालमा सरकारले कायम गरेको दरबन्दीअनुसार १४ हजार ९ सय नर्स हुनुपर्ने हो।

२७ वर्षअघिको यो दरबन्दीअनुसार ४ हजार ३ सय ६४ नर्स अझै अपुग छन्। अर्थात, अहिले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा १० हजार ५ सय ३६ मात्रै नर्स छन्।

बिरामीको भार थाम्नुपर्ने मापदण्डअनुसार अहिले देशभर करिब १७ हजार नयाँ नर्स चाहिन्छ। सरकारी आँकलनअनुसार नै भन्ने हो भने २७ वर्ष पुरानो त्यो दरबन्दीमा करिब १६ हजार थपेर ३१ हजार नर्स भए केही हदसम्म बिरामीको भार थेग्न सजिलो हुनेछ।

महामारीको यो समयमा झन् देशभरका स्वास्थ्यकर्मी धमाधम संक्रमित भइरहेका छन् तीमध्ये ३ सयहाराहारी नर्स संक्रमित भइसकेका छन्।

नेपाल नर्सिङ संघका अनुसार देशभर ४० हजारभन्दा बढी नर्स बेरोजगार छन्।

सरकारको स्वास्थ्यसंस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकामा स्पष्ट रूपमा बिरामीको अवस्थाअनुसार नर्स–बिरामी अनुपात तोकिएको छ।

यो मापदण्डअनुसार जनरल वार्डमा पाँचदेखि ६ बिरामीबराबर एक नर्स हुनुपर्छ।

त्यस्तै, हाइडिपेन्टिक वार्डमा दुई बिरामीबराबर एक नर्स र क्रिटिकल केयरमा एक बिरामीबराबर एक नर्स हुनुपर्छ। डेलिभरी गराउने ठाउँमा एक बिरामीबराबर दुई नर्स र अप्रेसनमा एक बिरामीबराबर तीन नर्स हुनुपर्ने मापदण्ड छ।

२७ वर्षमा देशमा धेरै जनसंख्या थपिइसकेको छ। सरकारले स्वास्थ्य केन्द्र तथा अस्पतालमा बेड त बढाएको छ तर, ती बेडमा भर्ना हुने बिरामीको हेरचाह गर्न नर्स भने थपेको छैन।

तर, सरकारले बेरोजगार संख्यालाई काम त परै जाओस् कायम गरिएको दरबन्दीअनुसार नर्स संख्या पूरा गर्न पनि सकेको छैन।

लोकसेवा नखुलेका कारण दरबन्दी रिक्त रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

अब थपिन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टले संघीय सरकारका लागि रिक्त दरबन्दी परिपूर्ति गर्न लोकसेवा तयारी भइरहेको बताए।

‘संघमा ठूलो संख्यामा दरबन्दी खाली छैन। समायोजन नसकिएको भन्दै स्थानीय तहले स्वास्थ्य जनशक्तिको विज्ञापन गरेका छैनन्,’ विष्टले भने, ‘यस्ता यस्तै कारणले दरबन्दी रिक्त भएको हो। हामी चाँडै नै परिपूर्ति गर्ने तयारीमा जुटेका छौं।’

सरकारले अब बल्ल देशभरि कति स्वास्थ्य जनशक्ति चाहिन्छ भनेर सर्वेक्षण गर्दैछ।

तर, मन्त्रालयको नर्सिङ महाशाखाले अहिलेको अवस्थामा ३१ हजार नर्स भए लगभग सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा बिरामी हेर्न सहज हुने आँकलन गरेको छ।

‘स्थानीय तहमा रहेका ५–१०–१५ बेडका अस्पतालका लागि कति जनशक्ति आवश्यक पर्ने मापदण्ड तोक्छौं। मापदण्ड स्वीकृत गरेर स्थानीय तहमा पठाउने तयारी भएको छु, विष्ट भन्छन्,‘ ‘त्यतिबराबरको जनशक्ति ससर्त अनुदान पठाउँछौं।’

मापदण्डअनुसार १६ हजारभन्दा धेरै नर्स अझै थप्नुपर्ने

स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्डअनुसार नर्सिङ महाशाखाले पाँचदेखि १ हजार बेडसम्म नर्स र मिडवाइफ चाहिन्छ भनेर प्रारम्भिक आँकलन गरेको छ।

उसका अनुसार २०५० सालमा कायम गरिएको नर्सको दरबन्दीमा अब १७ हजारजति आवश्यक रहेको नर्सिङ महाशाखा प्रमुख रोशनी तुइतुई बताउँछिन्।

नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हाल देशभर प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका करिब ६० हजार ७ सय ९५ छन्। त्यस्तै अनमी संख्या ३३ हजार ७ सय २४ छ भने विदेशी नर्सको संख्या ८ सय ४४ छ।

यसरी काउन्सिलमै दर्ता भएका नर्स देशभर ९५ हजार ३ सय ६३ जना छन्।

यीमध्ये ४० हजारभन्दा बढी नर्स कुनै पनि स्वास्थ्य संस्थामा काम नपाएर बेरोजगार छन्।

सरकारी मापदण्डअनुरूप सबै सरकारी स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति उपलब्ध गराउने हो भने समग्रमा ३१ हजारभन्दा बढी नर्स आवश्यक पर्ने देखिन्छ।

‘सरकार २७ वर्षपछि जनशक्ति थप गर्ने तयारीमा छ,’ तुइतुईले भनिन्।

उनका अनुसार सरकारले यो जनशक्त्ति आगामी २० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आँकलन गरेर थप्ने तयारी गरेको हो।

अब सरकारले ३१ हजार नर्स र्पुयाउने नै हो भने पुरानो रिक्त्त भएको दरबन्दीसहित करिब २१ हजारजति नयाँ नर्स भर्ना गर्नपर्छ।

पाँचदेखि १ हजार शैय्यासम्मको अस्पताललाई नर्सिङ जनशक्ति कति?

महाशाखाका अनुसार पाँच बेडको अस्पतालका लागि विभिन्न पदका आठजना नर्स तथा मिडवाइफ आवश्यक पर्छ।

त्यसैगरी, १० शैय्याका लागि १० जना, १५ शैय्यालाई २४, २५ शैय्यालाई ३९, ५० शैय्यालाई १ सय ४, सय शैय्यालाई १ सय ८९, २ सय शैय्यालाई ३ सय ५४ जना र ३ सय शैय्याका लागि ५ सय २ जना नर्स तथा मिडवाइफ आवश्यक पर्छ।

४ सय शैय्याका लागि विभिन्न तहका ६ सय ६९, ५ सय शैय्यालाई ७ सय ८७, ६ सय शैय्यालाई ८ सय १३ जना, ७ सय शैय्यालाई १ हजार ७५, ८ सय शैय्यालाई १ हजार २ सय १५, ९ सय शैय्यालाई १ हजार ४ सय २६ जना र हजार शैय्याका लागि १ हजार ६ सय ८५ जना नर्सिङ जनशक्ति आवश्यक पर्ने महाशाखाको आँकलन छ।

त्यसैगरी विशिष्टिकृत अस्पतालका लागि नर्सिङ जनशक्तिको आँकलन पनि गरिएको छ।

त्यसअनुसार ५० शैय्याको सरूवा रोग अस्पतालका लागि ७० जना, ३ सय शैय्याको सरूवा अस्पताललाई ३ सय ३८, ३ सय शैय्याको बाल अस्पताललाई ४ सय ८९, ५ सय शैय्याको बाल अस्पताललाई ७ सय १६ र ५ सय शैय्याको मातृ तथा शिशु अस्पतालका लागि ८ सय २ जना नर्सिङ जनशक्ति आवश्यक पर्ने महाशाखाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै अस्पतालमा बिरामी र नर्सको अनुपातमा नर्सिङ जनशक्ति अभाव देखिएको नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राई बताउँछिन्।

‘देशकै नाम चलेका ठूला सरकारी अस्पतालमा एक नर्सले ४० देखि ५० जना बिरामी हेर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष राई भन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय