सिरहाका २ सय ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा कारागारका २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको बुधबार आएको नतिजामा उनीहरुलाई संक्रमण पुष्टि भएको हो।

कारागारमा रहेको २६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

यसअघि कारागारमा रहेका २४८ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको थियो । कारागारमा अहिले ५९७ जना कैदीबन्दी रहेका छन्।

२४८ जना संक्रमित कैदीबन्दीमध्ये ७ जना निको भइसकेको सिरहा कारागारकी जेलर बबिता महतोले जानकारी दिइन्।

जेलर महतोले कारागारभित्र रहेका सम्पूर्ण ५९७ कैदीबन्दीको स्वाब परीक्षण भइसकेको बताइन्।

सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदासमेत कारागारका लगभग सबै कैदीबन्दी संक्रमित भएको उनको भनाइ छ। २६ साउनमा जिल्ला प्रहरी कार्यालय सिरहाले पठाएको चारजना थुनुवाबाट संक्रमण फैलिएको हुनसक्ने उनको अनुमान छ।

‘साउन २५ र २६ गते गरी जिल्ला प्रहरी कार्यालयले चारजना थुनुवालाई यहाँ पठाएको थियो, स्वाब संकलन भएपनि उनीहरुको रिपोर्ट आएको थिएन्,’ जेलर महतोले भनिन्,‘पछि उनीहरु सबैमा कोरोना पुष्टि भयो।’

कारागारभित्रै छुट्टै क्वारेन्टाइन गरिएपनि सम्भवतः उनीहरुबाटै संक्रमण फैलिएको हुनसक्दछ महतोले भनिन्। साउन २६ गतेसम्म कसैलाई संक्रमण नदेखिएको उनको भनाइ छ।

महतोले लगभग सम्पूर्ण कैदीबन्दीमा संक्रमण पुष्टि भइसकेपछि पुनः कर्मचारीको स्वाब परीक्षण गर्नुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय