श्राद्ध खाएका एउटै गाउँका १८ बिरामी, एकको मृत्यु

कैलालीको गोदावरीमा श्राद्ध भाेज खाएर फर्केका एउटै गाउँमा १८ जना गम्भीर बिरामी भएका छन् भने एकजनाको मृत्यु भएको छ।

गाउँमा भएको श्राद्धमा भोजन गरेर फर्केका गाेदावरी नगरपालिका–१० खमौराका १८ जना फुड प्वाइजनका कारण बिरामी परेका र बिरामीमध्ये एक जनाको मृत्यु भएको गोदावरी १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताएका छन्।

फुड प्वाइजनकै कारण बिरामी परेर उपचार गराइरहेका खमौराका सुरेश बोहराको मृत्यु भएको वडा अध्यक्ष शाहीले बताए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

वडाध्यक्ष शाहीका अनुसार भदौ २७ गते गाउँको एकाघरमा श्राद्ध भोज खाएर फर्केका गाउँले सोही दिन रातिदेखि बिरामी परेका थिए। पखाला चल्ने र बान्ता हुने समस्या देखापरेका गाउँलेले सुरुमा स्थानीय स्तरमै उपचार गरे पनि स्वास्थ्यमा गम्भिर समस्या देखा परेपछि सेती प्रादेशिक अस्पताल लगायत सुविधासम्पन्न निजी अस्पतालमा बिरामीको उपचार थालिएको हो ।

उनका अनुसार विरामी मध्य तीन जनाको धनगढीस्थित नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पताल, केहीको अत्तरियास्थित पद्मा अस्पतालमा र केहीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

२७ गतेकै श्राद्धमा सहभागी अन्य तीन चारजना पनि बिरामी परेकाले उनीहरूलाई समेत अस्पताल भर्ना गर्ने तयारी भइरहेको वडा अध्यक्ष शाहीले बताए ।

सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले खानाका कारण बिरामीको मृत्यु भएपनि कारण पक्ता नलागेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय