सुत्केरीमा स‌ंक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल अस्पतालको प्रसूति सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को प्रसूति सेवा बन्द गरिएको छ।

भदौ २७ मा इमर्जेन्सी सिजरिङ गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका १० बस्ने २४ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारसम्म प्रसूति सेवा बन्द गरिएको हो।

कोरोनाको आशंकामा ती युवतीको आइतबार स्वाब संकलन गरिएकोमा मंगलबार पोजेटिभ आएको हो।

प्रसूति विभागलाई निर्मलीकरण गर्नुपर्ने र ती युवतीको अप्रेशनमा संलग्न स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।

अस्पतालबाट प्रवाह हुने अन्य सेवा भने यथावत सञ्चालन हुने उनले बताए।

सुत्केरी महिलालाई अस्पताल परिसरमै निर्मित आइसोलेसनमा सारिएको छ।

संक्रमित युवतीको अवस्था सामान्य रहेको आइसोलेसन इन्चार्ज रत्ना श्रेष्ठले जानकारी दिइन्।

आइसोलेसनमा २७ जनाको उपचार भइरहेको छ। तीमध्ये सात जनालाई आइसियूमा राखेर उपचार भइरहेको श्रेष्ठले बताइन्।
क्षेत्रीय अस्पतालमा ४२ बेडको आइसोलेसन बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय