चितवनका प्रयोगशालामै एकै व्यक्तिको पिसिआर रिपोर्ट फरक–फरक

कोरोना संक्रमण भए नभएको यकिन गर्न गरिने आरटी पिसिआर परीक्षणमा एकै व्यक्तिको फरक फरक रिपोर्ट आउने क्रम बढेको छ।

चितवनका एक जना व्यक्तिको तीन स्थानमा फरक फरक रिपोर्ट आएको छ।

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका एक चिकित्सकको पिसिआर परीक्षण गर्दा तीन अस्पतालमा फरक फरक रिपोर्ट आएको हो।

क्यान्सर अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशाला र केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा फरक फरक रिपोर्ट आएको हो।

क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ प्रयोगशालाको रिपोर्ट क्रस चेक गर्दा क्यान्सर अस्पतालमा नेगेटिभ, भरतपुर अस्पतालमा पोजिटिभ र केन्द्रीय प्रयोगशाला टेकुमा नेगेटिभ आएको थियो।
यसरी एउटै नमुनाको फरक फरक नतिजा आउँदा क्यान्सर अस्पताललाई पोजिटिभ रिपोर्ट सार्वजनिक गर्न समस्या भएको छ । ‘प्रयोगशाला सञ्चालन भएको १० दिन भइसकेको छ। अझै हामीले पोजिटिभ रिपोर्ट सार्वजनिक गरेका छैनौँ । क्यान्सर अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले भने, ‘फेरी क्रस चेकका लागि १५ जनाको नमुना केन्द्रीय प्रयोगशालामा पठाएका छौँ ।’

क्यान्सर अस्पताल र केन्द्रीय प्रयोगशालामा एउटै रिपोर्ट आएपछि बल्ल रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भदौ २१ देखि पिसिआर परीक्षण सुरु गरेको हो । प्रयोगशालाको क्रस चेक गर्न अस्पतालले भदौ २३ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएका १० वटा नमुना पठाएको थियो । तर, क्यान्सर अस्पतालमा नेगेटिभ रिपोर्ट आएका चिकित्सकको २५ गते पोजिटिभ देखियो ।

प्रयोगशालाको आधिकारीकता दिनका लागि क्यान्सर अस्पतालले उनको स्वाब फेरी केन्द्रिय परिक्षण प्रयोगशाला टेकुमा पठायो। तर, टेकुबाट २८ गते आएको रिपोर्ट भने, नेगेटिभ नै आएको उपनिर्देशक डा.शर्माले जानकारी दिए। अहिलेसम्म क्यान्सर अस्पतालले नेगेटिभको मात्र रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । पोजिटिभ देखिएका बिरामीले पुनः परीक्षण गर्ने गरेका छन् । १० दिनको अवधिमा ८ सय भन्दा बढिको परीक्षण गरिएको छ ।

किट, मेसिन, तथा स्वाब झिक्दा ध्यान नदिँदा पनि रिपोर्ट फरक फरक आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा.देज गौतमले बताए । प्रयोगशालाले रिपोर्ट सार्वजनिक गर्नका लागि काठमाण्डौँ पठाईएका स्वाबको नतिजाका कुर्नुपर्ने छ।

मेशिनमा त्रुटी देखिएमा तुरुन्तै मर्मत गरि सञ्चालन गरिने डा. गौतमले बताए । क्यान्सर अस्पतालले बिरामी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो। अहिलेसम्म क्यान्सर अस्पतालका ५१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय