कोरोना परीक्षण निर्णय नसच्चिए स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् : चिकित्सक संघ

सरकारले कोरोना परीक्षणमा गरेको पछिल्लो निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।

कोरोना परीक्षण तथा स्वास्थ्यकर्मीको सुरक्षाको विषयलाई लिएर संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मगंलबार ज्ञापनपत्र समेत बुझाएको छ।

संघका अध्यक्ष डा. लोचन कार्की तथा महासचिव बद्री रिजाल लगायत पदाधिकारीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

यस्तो बिषम परिस्थितिमा कोभिडको लक्षण देखिएका वा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरुमा लक्षण देखिएमा अथवा प्रतिरोधी क्षमता कमजोर भएकाहरुको मात्र पिसीआर परीक्षण गर्ने निर्णयले संक्रमणलाई नियन्त्रण गर्नुको सट्टा झन बढाउन सहयोग गर्ने संघको ठहर छ।

‘समुदायमा फैलिसकेको संक्रमणलाई न्यूनिकरण गर्नका लागि निसर्त समग्र नागरिकहरुको परीक्षण गर्नुपर्ने अवस्थामा झन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत लक्षणको आधारमा मात्र परीक्षण गरिने निर्णयलेसमग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पार्ने हुन्छ, ज्ञापन पत्रमा भनिएको छ, ‘हालको निर्णय अबिलम्ब नसच्याईएको खण्डमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अग्रपंतिमा रही स्वास्थ्य सेवा प्रवाह गर्न नसक्ने अवस्था आउनसक्छ।’

सरकारले स्वास्थ्यककर्मीको स्वास्थ्य परीक्षण एवं सुरक्षाको प्रत्याभूति नदिलाउने हो भने ज्यानको बाजी लगाई स्वास्थ्य सेवा प्रवाहमा समर्पित भई रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन कठिनाई हुने संघले जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाई कोभिड–१९ को संक्रमणसँग जुध्ने उचित वातावरण बनाउनुपर्नेमा यस्ता अस्वाभाविक र गैरमानवीय निर्णयहरु गरेर समग्र स्वास्थ्य सेवा प्रवाहमा नै नकारात्मक असर पार्ने काम स्वास्थ्य मन्त्रालयबाट नै भइरहेको संघले आरोप समेत लगाएको छ।

अस्वाभाविक निर्णयहरु गरेर मन्त्रालयकै गरिमामाथी आँच ल्याउने कार्य रोक्न मन्त्री ढकाललाई संघले अनुरोध गरेको छ।

यस्ता अस्वाभाविक निर्णय अबिलम्ब फिर्ता लिन समेत संघको माग रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय