कोराेना भाइरसका लागि सामूहिक परीक्षण, सीमित किटबाटै बृहत् दायरा

गतवर्षको अन्त्यसँगै चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) देखा परेसँगै विश्वभरका विज्ञहरूले एकैस्वरमा परीक्षणको दायरा बढाउन जोड दिँदै आइरहेका छन्।

जति फराकिलो दायरामा परीक्षण गरियो, भाइरस नियन्त्रण उति नै प्रभावकारी भएको पाइएको छ। तर विश्वभरका अधिकांश, विशेष गरी नेपाल जस्ता मुलुकहरू परीक्षण किटको अभावबाट गुज्रिइरहेका छन्। यसकारण अहिलेसम्म पनि धेरैजसो स्थानमा समुदायस्तरमा परीक्षण गर्न सकिएको छैन। धेरैजसो देशहरू सीमित दायरामा थोरै संख्यामा परीक्षण गर्न बाध्य छन्।

यी सबै कारणहरूले गर्दा लक्षण नभएका संक्रमितको संख्या समुदायमा बढ्दै गए परिस्थिति नियन्त्रण भन्दाबाहिर जानसक्छ। यस सन्दर्भमा हामीले यहाँ कसरी सीमित किटबाट नै सकेसम्म प्रभावकारी रूपमा धेरै परीक्षण गर्न सकिन्छ भन्ने विधिबारेमा चर्चा गरेका छौं।

संक्षिप्तमा भन्नुपर्दा यस विधिमा धैरै व्यक्तिहरूको स्वाब नमुनाहरू मिसाएर एउटै नमुना बनाई, त्यस नमुनाको परीक्षण आरटी–पिसिआर विधिवाट परीक्षण गरिन्छ। यस विधिलाई सामूहिक परीक्षण वा अंग्रेजीमा ‘पुल्ड टेस्टिङ’ भन्न सकिन्छ।

विधि
यस सामूहिक परीक्षण विधिमा व्यक्तिलाई दुई चरणमा परीक्षण गर्न सकिन्छ। पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका धेरै व्यक्तिहरूको (२ देखि ११ जना, अनुकूलता समूह आकारका आधारमा) स्वाबको नमुना लिएर, मिसाएर एउटै नमुना मानी परीक्षण गरिन्छ। यस नमुनालाई ‘सुपर स्याम्पल’ भनिन्छ।

एक उपसमूहमा एकै घरमा बसोवास गर्ने वा एकै कार्यालयमा काम गर्ने ४ देखि ५ जनालाई समावेश गर्न सकिन्छ र हरेक समूहको सुपर स्याम्पललाई पुनः परीक्षण गर्न सकिन्छ। पोजेटिभ उपसमूहका हरेक व्यक्तिको नमूना व्यक्तिगत स्तरमा पुनः परीक्षण गरी संक्रमणको अवस्था को निक्र्योल गर्न सकिन्छ।

यस सुपर स्याम्पलको रिपोर्ट पोजेटिभ आएमा सहभागी व्यक्तिमध्ये कम्तीमा एकजनालाई संक्रमण भएको बुझिन्छ र त्यस समूहका हरेक व्यक्तिको नमुना व्यक्तिगत रूपमा लिएर, व्यक्तिगत रूपमा परीक्षण गरी हरेकको संक्रमणको अवस्था पुष्टि गर्न सकिन्छ। यदि सुपर स्याम्पलको रिपोर्ट नेगेटिभ आएमा १० जनाको परीक्षण गर्दा ९ वटा किट बचाउन सकिन्छ।

एक स्थानमा पोजेटिभिटी दर कम भएको खण्डमा यस विधिबाट व्यापक परीक्षण किटको बचत गर्न सकिन्छ भन्ने आँकलन गर्न सकिन्छ। जसका कारण नेपाल जस्ता विकासोन्मुख देशहरूमा पनि बृहत् दायरामा परीक्षण गर्न सम्भव हुनसक्छ।

आरटी–पिसिआर विधि मानव शरीरमा कोरोना भाइरसको संक्रमण पुष्टि गर्ने सबैभन्दा भरपर्दो विधि मानिएको छ। कोरोना भाइरस परीक्षणका लागि अन्य विधिहरूभन्दा यो विधि प्रभावकारी देखिएको छ। यस विधिवाट एक नमुनामा एउटा भाइरसको कण मात्र हुँदा पनि संक्रमण पत्ता लाग्न सक्दछ। संक्षिप्तमा भन्नुपर्दा आरटी–पिसिआर विधि एक सटिक बायोकेमिकल रियाक्सन हो, जसले नमुनामा भाइरसको आनुवंशिक छाप (जेनेटिक सिग्नेचर ) को खोजी गर्दछ।

यो सामूहिक परीक्षण विधि एक यस्तो निर्णायक आँकलनको प्रासंगिकतामा आधारित छ कि जसअनुसार एक वा बढी कोरोना भाइरस पुष्टि भएका व्यक्तिको स्वाबको नमुना अरू कोरोना भाइरस नेगेटिभ व्यक्तिको स्वाबको नमुनासँग मिसाइन्छ, तब सुपर स्याम्पलको परीक्षण नतिजा सधैं पोजेटिभ आउँछ। यो आ“कलन गलत हुन गएमा पूरै विधि पूर्ण रूपमा असफल हुनजान्छ तर अहिलेसम्म गरिएका अध्ययनहरूले भने नतिजा यस विधिका पक्षमा देखाएका छन्।

रामबाम  RAMBAM मेडिकल सेन्टर र द टेक्नियन, हाइफा, इजरायलको संयुक्त प्रयासमा गरिएको एक अध्ययनमा सामूहिक परीक्षण गरियो, जसमा सुरुमा ३२ र त्यसपछि ६४ वटा नमुनाको परीक्षण एकैपटकमा गरियो। सो अध्ययनमा ६४ मध्ये एक नमुनामात्र पोजेटिभ भए पनि सुपर स्याम्पलको नतिजा पोजिटिभ आउने देखियो।

अर्को जर्मन रेडक्रस ब्लड डोनर सर्भिस र गोथे युनिभर्सिटी, फ्रयांकफर्टको अस्पतालको इन्स्टिच्युट फर मेडिकल भाइरोलोजीले गरेको एक स्थलगत अध्ययनमा ५० व्यक्तिको नमुनाहरू एउटै पुलमा परीक्षण गरियो।

त्यस पुललाई १० वटा स–साना मिनी पुलमा विभाजन गरियो। हरेक मिनी पुलमा ५ वटा नमुना समावेश गरियो। ती सबै ५० व्यक्तिलाई व्यक्तिगत रूपमा पनि परीक्षण गरियो। ती ५० मध्ये ५ जनाको नतिजा पोजिटिभ आयो, जो ४ मिनीपुलमध्ये बाँडिएका थिए। ती चारैवटा मिनीपुलको नतिजा पनि पोजिटिभ आयो र सबै नेगेटिभ भएका मिनी पुलहरूको नतिजा पनि नेगेटिभ नै आयो।

उपयोगिता
अब यस विधिबाट लाभान्वित हुनसक्ने देशहरूबारे चर्चा गरौं। कम पोजेटिभिटी दर हुने र समुदायस्तरमा कोभिड–१९ को संक्रमणको चाप कम हुने देशहरू यस विधिवाट मुख्य रूपमा लाभान्वित हुने देखिन्छ।

तथ्यांकीय आकलनअनुसार यदि परीक्षण गरिएकामध्ये एक प्रतिशतको रिपोर्ट पोजेटिभ आएमा करिब २० वटा किटले १०० जनाको परीक्षण गर्न सकिने छ (अनुकूलन समूह आकार लिँदा)। यहाँ पोजेटिभिटी दर र चाहिने परीक्षण किटको संख्यामध्ये कोरिलेसन -Correlation रहन्छ।

पोजेटिभिटी दर करिब २९.२% रहँदासम्म यो विधि सान्दर्भिक रहने देखिन्छ। कोरोना भाइरस समुदायस्तरमा व्यापक रूपमा फैलिएका देशहरू भने यस विधिवाट लभान्वित नहुने देखिन्छ।पोजेटिभिटी रेट (प्रतिशतमा) १०० जनाको परीक्षण गर्दा लाग्ने किटको औसत संख्या

सौजन्य : प्राध्यापक अतानु विश्वास, तथ्याङ्क विभाग, इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युट कोलकाता।

अनुकूलन समूह आकार
एक समूह आकार अनुकूलन हुनका लागि त्यस आकारलाई प्रयोगमा ल्याएर १०० जनाको परीक्षण गर्दा सबैभन्दा न्यून संख्यामा परीक्षण किट प्रयोगमा ल्याउने हुनुपर्छ। अनुकूलन समूह आकार कुनै एक स्थानको पोजेटिभिटी दरमा आधारित रहन्छ। एक स्थानको पोजेटिभिटी दर १% रहँदा त्यो स्थानका लागि अनुकूलन समूह आकार ११ रहन्छ।

पोजेटिभिटी दर (प्रतिशतमा) अनुकूलन समूह आकार (जनामा)


सौजन्य : प्राध्यापक अतानु विश्वास, तथ्याङ्क विभाग, इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युट कोलकाता।

हाल नेपालमा हरेक दिन करिब १०% को पोजेटिभिटी दर रहेको देखिन्छ। त्यसो हुँदा अनुकूलन समूह आकार ४ लिएर सामूहिक परीक्षण गर्ने हो भने करिब ६० वटा परीक्षण किटले १०० जनाको परीक्षण गर्न सम्भव हुने देखिन्छ।

अहिलेको परिपेक्ष्यमा नेपालमा करिब ६ हजार वटा किट मात्र प्रयोग गरी करिब १० हजार जनाको परीक्षण गर्न सकिन्छ र यसै गरी बाँकी बचेका किटहरूलाई यसै विधिबाट बृहत् परीक्षणमा प्रयोग गर्न सकिन्छ। यसरी समय र पैसाको बचत र स्वास्थ्यकर्मीहरूको कार्यभार कम गर्दै प्रभावकारी रुपमा सीमित स्रोतसाधनबाट नै जनसंख्याको ठूलो हिस्साको परीक्षण गर्न यस विधिबाट सम्भव हुने देखिन्छ।

कुनै अरू समूह आकार लिएर परीक्षण गर्दा किट बचतका लागि कम प्रभावकारी हुनजान्छ। प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको सामूहिक परीक्षण गर्दा भने यस आकारलाई थोरै थपघट गर्न सकिन्छ। हरेक नगरपालिका ÷गाउँपालिकाका हरेक वडामा करिब ७ दिनको औसत पोजेटिभिटी दर आँकलन गरी एक अनुकूलन समूह आकारलाई आधार मानी परीक्षण गर्न सकिन्छ।

अहिलेको परिपेक्ष्यमा नेपालमा करिब ६ हजार वटा किट मात्र प्रयोग गरी करिब १० हजार जनाको परीक्षण गर्न सकिन्छ र यसै गरी बाँकी बचेका किटहरूलाई यसै विधिबाट बृहत् परीक्षणमा प्रयोग गर्न सकिन्छ। यसरी समय र पैसाको बचत र स्वास्थ्यकर्मीहरूको कार्यभार कम गर्दै प्रभावकारी रुपमा सीमित स्रोतसाधनबाट नै जनसंख्याको ठूलो हिस्साको परीक्षण गर्न यस विधिबाट सम्भव हुने देखिन्छ।

फराकिलो दायरामा बृहत् परीक्षणका लागि यो विधि विभिन्न चरणमा सञ्चालन गर्न सकिन्छ। उदाहरणका लागि नजिकै बसोवास गर्ने २० जनालाई एकैचोटि सामूहिक परीक्षणबाट परीक्षण गर्न सकिन्छ। उनीहरूको सुपर स्याम्पल पोजेटिभ आएमा उनीहरूलाई ४ देखि ५ जनाको ४ देखि ५ वटा उपसमूहमा विभाजन गर्न सकिन्छ।

एक उपसमूहमा एकै घरमा बसोवास गर्ने वा एकै कार्यालयमा काम गर्ने ४ देखि ५ जनालाई समावेश गर्न सकिन्छ र हरेक समूहको सुपर स्याम्पललाई पुनः परीक्षण गर्न सकिन्छ। पोजेटिभ उपसमूहका हरेक व्यक्तिको नमूना व्यक्तिगत स्तरमा पुनः परीक्षण गरी संक्रमणको अवस्था को निक्र्योल गर्न सकिन्छ।

यहाँ प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको नमूना मिसाउने भएकाले उनीहरूमध्ये कुनै एक जनामात्र पनि संक्रमित भएको खण्डमा सबैले आफू आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने हुनाले यो विधि प्रभावकारी देखिन्छ। माथि उल्लेखित जर्मन अध्ययनको झै ५० जनाको समूह भने अहिले नेपालमा प्रभावकारी देखिँदैन। किनकि त्यत्रो ठूलो समूहबाट कम्तीमा एक संक्रमण पुष्टि हुने सम्भाव्यता १००% को नजिक पुग्न जान्छ । त्यसले थप परीक्षण किटको खेर जाने सम्भावना रहन्छ।

समग्रमा भन्नुपर्दा नेपालजस्तो मुलुकहरूले आउने दिनहरूमा यो विधिको प्रयोगबाट बृहत् परीक्षण गरी कोरोना भाइरसको नियन्त्रण प्रभावकारी रूपमा गर्न सकिन्छ। यो विधिलाई कोभिड–१९ को प्रभावकारी नियन्त्रण का लागि डा. एन्थोनी फाउचीलगायत संयुक्त राज्य अमेरिकाका विभिन्न स्वास्थ्य विज्ञहरूले पनि एक प्रभावकारी विधिको रूपमा सुझाएका छन्।

यो विधिको विश्वसनीयता परीक्षण गर्न संयुक्त राज्य अमेरिकाका केही राज्यहरूमा प्रयोगमा ल्याइएको छ र अहिलेसम्मका प्रमाणहरूले यस विधिको पक्षमा नतिजा दिएका छन्। यो विधि लामो समयदेखि एचआईभी भाइरसको निगरानीका लागि पनि प्रयोग भएको देखिन्छ।

मथि उल्लेखित तथ्याङ्कहरू प्राध्यापक अतानु विश्वास, तथ्याङ्क विभाग, इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युट, कोलकाताद्वारा सम्प्रेषण गरिएका तथ्याङ्कीय अध्ययनहरूमा आधारित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय