आइसियू र भेन्टिलेटर चाहिने संक्रमित संख्या बढ्दो

चितवनमा जटिल खालका कोरोना संक्रमित बिरामीको संख्या थपिन थालेको छ। दिनप्रतिदिन संक्रमित बढेसँगै जिल्लाका विभिन्न अस्पतालमा जटिल खालका बिरामी थपिएका हुन्।

सोमबार सम्म चितवनमा ५३ जनाको अवस्था जटिल रहेको छ। जटिल रहेकामध्ये ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बाँकी ४८ जना संक्रमित आइसियूमा रहेका छन्।

उपचाररत बिरामीमध्ये चितवन मेडिकल कलेज (सिएमसी) मा सबैभन्दा बढी जटिल खालका बिरामीको उपचार भइरहेको छ। सिएमसीका अप्रेशन म्यानेजर पारस अधिकारीका अनुसार सिएमसीमा ५ जना भेन्टिलेटर र ४० जना आइसियूमा छन्। चितवन मेडिकलमा संक्रमितको संख्या पनि बढिरहेको छ।

उनका अनुसार १ सय ५ जना संक्रमितको उपचार भैरहेको छ। चितवन मेडिकल कलेजमा अहिलेसम्म ११ संक्रमितको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा ८ जनाको आइसियूमा उपचार भइरहेको छ। अस्पतालकी निमित्त मेट्रोन शान्ता भण्डारीका अनुसार अस्पतालमा ६० जना संक्रमित उपचारत रहेका छन्। अहिलेसम्म भरतपुर अस्पतालमा २ सय ८३ जना संक्रमितको उपचार भएको छ।

त्यसमध्ये १२ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन्। अहिलेसम्म २ सय ११ जना निको भएर डिस्चार्ज भएका छन्।

भरतपुर अस्पतालले कोरोना संक्रमितका लागि भन्दै ४ वटा भेन्टिलेटर र १६ वटा आइसियू छुट्याएको छ।

कोरोना संक्रमितको उपचारका लागि मान्यता पाएको पुरानो मेडिकल कलेजमा अहिले ३० संक्रमित छन्। तर, कलेजमा अहिले जटिल खालका बिरामी नभएको जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी लिए।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सख्या २७ पुगेको छ। दुई वृद्धाको घरमै मृत्यु भएको थियो। चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ४, बारा, गोरखा र कैलालीका एक/एक जना संक्रमित मृत्यु भएको हो।

संक्रमितको संख्या बढ्दा अस्पतालमा बिरामी राख्ने बेडको अभाव हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

त्यसका लागि स्थानीय तहहरुले आइसोलेसन बनाइरहेको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जनाए। ‘यहाँ जटिल खालका बिरामी बाहिरी जिल्लाबाट उपचार गर्न आउने गर्दछन्। अस्पतालका आईसुलेसन भरिन थालेका छन्।’ उनले भने, ‘लक्षण नदेखिएका बिरामीलाई राख्ने गरी आइसोलेसन बनाउन स्थानीय तहहरुलाई सुझाव दिएका छौं।’

अहिलेसम्म चितवनमा कोरोना संक्रमित संख्या साढे १२ सय नाघेको छ।

जसमध्ये साढे ९ सयको हाराहारीमा सक्रिय संक्रमित छन्। चितवन जिल्लाको तथ्यांक हेर्ने हो भने जिल्लामा २ हजार ४ सय २५ वटा बेड छन्। त्यसमध्ये १ सय ८१ वटा आइसियू कक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। भेन्टिलेटरसहितका बेड ५१ छन्।

भरतपुर महानगरपालिकाले निर्माण गरेको बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालन गरिएको आइसोलेसनका सबै ७५ बेड भरिएका छन्। चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरूका लागि बेड अभाव हुन थालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय