प्लाज्माथेरापी सफल भएपछि भेरीका स‌ंक्रमित र चिकित्सकमा उत्साह

 भेरी अस्पतालमा प्लाज्माथेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका कोरोना संक्रमित बिरामी र त्यसमा संलग्न चिकित्सकमा उत्साह जगाएको छ।

भेरी अस्पतालमा भर्ना भएका एक गम्भीर खालका कोरोना संक्रमितमा प्लाज्माथेरापी प्रयोगपछि निको भएपछि चिकित्सकहरु उत्साही भएका हुन्।

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षे प्रवीण केसीमा प्लाज्माथेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका सर्वसाधारणमा एक किसिमको आस पलाएको छ।

समस्या देखिएपछि उनलाई भदौ १२ मा नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा भदौ १३ मा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

निमोनिया भई स्वास्थ्य अवस्था झन–झन बिग्रँदै गएपछि उनको प्लाज्माथेरापीबाट उपचार गरिएको हो। उनी निको भएर आइतबार घर फर्किएका छन्।

प्लाज्माथेरापीबाट निको भएका केसीले आफूले पुनर्जीवन पाएको बताए। ‘अब जिन्दगी यति नै हो भन्ने लागेको थियो तर, बाँचियो,’ डिस्चार्ज भएपछि केसीले भने, ‘मलाई दोस्रो जुनी दिने तपाईहरु मेरो भगवान् हुनुहुन्छ, मैले तपाईहरुको गुन कहिल्यै बिर्सिने छैन।’

यसैबीच प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारी पनि हौसिएका छन्।

‘प्लाज्माथेरापी सफल भएकोमा हामी खुसी छौं,’ भेरी अस्पतालमा स्थापना भएको प्लाज्माथेरापी उपचारका विज्ञ डा. खगेन्द्रजंग शाहले भने, ‘यसले अस्पताललाई मात्र नभई सिंगो पश्चिम क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ।’

भेरी अस्पतालले प्लाज्माथेरापी उपचारमा पहिलो केसमै सफलता पाएको छ। प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य संक्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ।

‘प्लाज्मा विधि सफल भएको छ। संक्रमणबाट मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न आह्वान गरेको डा. शाहले बताए।
प्लाज्मा दिनेको संख्या वृद्धि

प्लाज्माथेरापी विधिबाट कोरोनाको जटिल उपचार सम्भव भएपछि बाँकेमा प्लाज्मा दिनको सँख्या बढ्दै गएको छ।

सोमबार थप दुई जनाले स्वेच्छिक रुपमा प्लाज्मा दान गरेका छन। सञ्चारकर्मी खगेन्द्र दाहाल र नेपालगन्ज–११ का ४० वर्षे सन्तोष पाठकले भेरी अस्पतालमा प्लाज्मा दान गरेका हुन्।

पत्रकार दाहालले संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमणमुक्त भएको ३६ दिनपछि प्लाज्मा दिएका हुन्।

यसअघि प्रमोद रिजाल, रामराजा चौधरी, गोपालकुमार गिरी, रामहरि अधिकारी र खडानन्द पाण्डेले प्लाज्मा दान गरिसकेका छन्।

जसमध्ये रिजाल, अधिकारी र पाण्डेको प्लाज्मा प्रयोग भइसकेको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय