१९औं सत्याग्रहमा डा. केसी, जुम्लास्थित मन्दिरमा बस्ने

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले १९औं सत्याग्रह सोमबार जुम्लास्थित मन्दिरमा रहेको सार्वजनिक भवनबाट सुरु गर्ने भएका छन्।

५ महिनाभन्दा लामो समयदेखि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला चहारेर सेवा गरिरहेका डा. केसीले विभिन्न सुधारमा मागसहित आन्दोलन सुरु गर्न लागेका हुन्।

डा. केसीले आफूले तीन पटकसम्म समय दिँदा पनि सरकारले माग पूरा गर्नुको सट्टा बसेको प्रणालीसमेत भत्काउने प्रयास गरेका कारण अनशन बस्न बाध्य भएको बताएका छन्।

उनले पत्रकार सम्मेलन गरेर अनशन थालिहाल्ने बताए।

विभिन्न समय अल्टिमेटम दिँदै आएका डा. केसीले पछिल्लो पटक त्रिवि शिक्षण अस्पतालको निर्देशकमा वरिष्ठता मिचेर नियुक्ति गरिएसँगै अनशन थाल्न लागेका हुन्।

त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता सूचीमा ४५औं नम्बरमा रहेका डा. दिनेश काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

उनले निर्देशन नियुक्तिका सिफारिस कर्ता तथा वरिष्ठता मिचेर डिन बनाइएकी डा. दिव्यासिंह शाहको नियुक्ति प्रक्रियासमेत सच्याउन माग राखेका छन्।

त्यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन अनुमति, दुर्गमका विभिन्न ठाउँहरूमा मेडिकल कलेज तथा अस्पताल स्थापना तथा सुधार र चिकित्सा शिक्षा ऐन संशोधनको माग डा. केसीले अगाडि सारेका छन्।

 

यस्ता छन् डाक्टर केसीले राख्दै आएका पाँच बुँदे माग

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायतका कार्यक्रमहरू संचालन गरियोस्। प्रधानमन्त्रीले नाजायज रूपमा रोकिराखेको उक्त प्रतिष्ठानकाे स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गरियोस्। प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस्।

४. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिस्चित गरियोस्।

५. मास्कको प्रयोग र सामाजिक दुरी अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय