‘दुःखी हुनु पनि कति? कोरोना लाग्छ निको हुन्छ, तनाव लिएर के गर्नु?’

गलबन्दी च्यातियो तिम्ले तानेर…

भिजिट भिसामा हजुर भिजिट भिसामा…

सोचे झैं रैनछ जिन्दगी…

यस्तै चटपटे गीत घन्किरहेका थिए।

गीतको सुरतालसँग सबै झुमिरहेका।

कोही आँगनमा, कोही बरन्डामा त कोही छतमा। सबै आ–आफ्नै तालमा थिए।

कोही हात हल्लाउँदै, कोही ताली बजाउँदै त कोही कम्मर मर्काइमर्काइ नाच्दै।

‘स्लो मोसन’ को गीत बज्दा छतमा रहेको समूह हल्ला गर्थे।

कारण थियो नाच्न मिल्ने गीत बजाउन माग।

कीर्तिपुरको आयुर्वेद अस्पतालको ‘बी’ ब्लक।

कोरोना भाइरस संक्रमितलाई राखिएको आइसोलेसनको दृश्य हो यो।

आइसोलेसनमा रहेका १ सय ९३ जनालाई मनोरञ्जन गर्न दिनहुँ करिब दुई घन्टा गीतसंगीत घन्किन्छ।

संगीतले मानिसलाई खुसीमात्रै पार्दैन, सन्तुष्टि र मनोबल बढाउनसमेत सहयोग गर्छ।

संगीतले मनमात्रै बहलाउँदैन, कहिलेकाहीँ मानसिक तनाव कम गर्न र पीडा भुल्न सहयोग गर्छ।

र त, हरेक दिन दुई घन्टा संगीतमय बन्छ आयुर्वेद अस्पताल।

गीत घन्किँदै गर्दा एम्बुलेन्सले चारजना महिला संक्रमितलाई ल्यायो।

पाँच–सात मिनेट बरन्डामा बसेपछि आइसोलेसन वार्डमा डिउटीमा रहेकी नर्सले उनीहरूलाई एक–एक गरी सोधपुछ गर्न थालिन्।

नाम ?

पिसिआर परीक्षण कहाँ÷कहिले गरेकोरु

खाना भेन–ननभेज ?

यस्तै, यस्तै।

त्यसपछि उनीहरूलाई बेडसिट, ब्रस, साबुन, दन्तमञ्जन दिएर माथि कोठामा पठाइयो।

फेरि घन्किन थाल्यो गीत।

नर्सले बेलाबेला माइकबाट आइसोलेसनमा रहेका सबैलाई नाच्न आग्रह गरिरहिन्।

उनी आफू पनि नाचिरहिन्।

‘दुःखी हुनु पनि कतिरु कोरोना लाग्छ निको हुन्छ, तनाव लिएर के गर्नुरु’ नर्स मेनुका देउजाले सुनाइन्, ‘रमाइलो गर्ने हो, संगीतले सबैलाई खुसी र सन्तुष्टि दिन्छ।’

आइसोलेसनमा १६ महिनाको बच्चादेखि ७५ वर्षसम्मका वृद्ध, नेपाल प्रहरीदेखि कैदीबन्दीसम्म छन्।

पूर्वदेखि सुदूरपश्चिमसम्मका। एउटै परिवारका पाँचजनासम्म पनि आइसोलेसनमा छन्।

संगीत बज्दा कोठाभित्र बसेकाहरू पनि बरन्डा र छतमा आउँछन्।

जहाँ उनीहरू नाच्न, हात हल्लाउन, अरूले नाचेको हेर्न सकुन्।

साँझ करिब ६ बजे दुईजना डिस्चार्ज भए।

बरन्डा र छतबाट सबैले हात हल्लाए।

यसैगरी उनीहरूलाई पनि छिट्टै घर फर्किनु छ।

निको हुनु छ, यसरी नै हात हल्लाउनु छ।

निको भई घर जानेहरूमा मात्रै होइन, त्यहाँ रहेकाहरूमा पनि उत्साह थियो।

एक दिन आफू पनि निको भई घर जाने आसा अनि उत्साह।

आयुर्वेद अस्पतालमा एलोपेथिक औषधीको प्रयोग गरिँदैन।

त्यहाँ आर्युवेद औषधीमात्रै प्रयोग गरिन्छ।

कसैलाई केही लक्षण देखियो र नदिई नहुने भएमात्रै एलोपेथिक औषधी दिइन्छ।

त्यो पनि एन्टिबायोटिकसम्म।
….

आइसोलेसनमा खटिएकी नर्स देउजालाई सुरुमा निकै डर लाग्थ्यो– ‘कतै मलाई नै कोरोना लाग्यो भने?’

‘कोरोना भन्नेबेत्तिकै म तर्सिन्थेँ अनि आत्तिन्थेँ, तर अहिले विस्तारै डर लाग्न छाडेको छ,’ उनले आयोमेलसँग भनिन्, ‘संक्रमितले नै नडराउनुस् भनेपछि त कसरी डराउनु ?’

उनी आफैं बिरामी हुन् नशासम्बन्धी रोगको।

अहिले पनि औषधी खाइरहेकी छिन्।

‘आफ्नो स्वास्थ्य अवस्था ठिक नभएका बेला कसरी महामारीमा खटिनुरु कसरी काम गर्नुरु,’ यस्तै सोच्थिन्।

सुरुमा त उनले कोरोना महामारीमा काम गर्न जान्न सोचेकी थिइन्।

कोरोना भाइरस र संक्रमित शब्द सुन्दा मन कस्तो कस्तो भएको थियो।

भक्तपुरको मानव अंग प्रत्यारोपण अस्पतालमा कार्यरत उनलाई कोरोना उपचार तथा रोकथाममा कसरी खटिने कुनै आइडिया थिएन।

प्रत्यारोपण अस्पतालमा डायलासिस तथा अन्य बिरामी हेरिरहेकी उनलाई कस्तो–कस्तो लाग्थ्यो।

तर, पछि मन बदलियो– ‘जे होला–होला जान्छु।’

आमाबालाई सुनाएपछि उनीहरूले पनि जान अनुमति दिए।

‘सोचेँ एक दिन लाग्नै छ, कोरोनासँग कति डराउनु, अहिले त साहस आएको छ, केही लाग्दैन। संक्रमितले ठिक छु भन्दा झन् आत्मबल बढेर आउँछ,’ उनी भन्छिन्।

एलोपेथिक उपचारमा काम गरिरहेकी उनलाई आयुर्वेदिक औषधीबारे त्यति थाहा छैन।

भन्छिन्, ‘आयुर्वेदबारे त्यति थाहा छैन, डाक्टरको सल्लाहअनुसार औषधीको मात्रा मिलाएर संक्रमितलाई दिन्छौं।’

….

भक्तपुर पलाँसेमा जन्मिएकी देउजा कहिल्यै घरबाट टाढा बसेकी थिइनन्।

तर, अहिले उनी घरपरिवारबाट टाढा छिन्।

भौतिक दुरी कम छ तर आत्मिक दुरी नजिक भएको छ उनको।

१३ दिन भयो उनीे घरबाट छुट्टिर बस्न थालेको।

कतिबेला त सोच्छिन्– ‘कहिले घर जान पाइएलारु कहिले घर जाउँरु’

‘एक रात नाइट डिउटी हुँदा त आमाको अनुहार हेर्थें, अहिले त होम सिकनेसजस्तै भएको छ,’ देउजा भन्छिन्।

उनलाई आमा र हजुरआमाको निकै न्यास्रो लागिरहेको छ।

अहिलेसम्म घरबाट टाढा नबसेकाले बानी पार्न गाह्रो भएको उनको बुझाइ छ।

आइसोलेसन कक्षबाट बाहिर सडकसम्म जाँदा जेलबाट निस्केजस्तो लाग्छ उनलाई।

‘हामिलाई त रोडसम्म पुग्दा त्यस्तो खुसी लाग्छ, संक्रमितहरू त कति दिनसम्म भित्रै हुन्छन्, उनीहरूको मनोरन्जनका लागि संगीत बजाउँछौं,’ उनी भन्छिन्।

आमा–हजुरआमा लगायत घरपरिवारका सबैसँग भिडियो कल गर्छिन्।

उनीहरूले सुरक्षित रहन भन्छन्, उनी टाउको हल्लाउँछिन्।

यतिमात्रै होइन, आमाबा, हजुरआमा उनलाई बिरामी तथा संक्रमितसँग राम्रो व्यवहार गर्न र नरिसाउन सुझाइरहन्छन्।

उनले हाँस्दै भनिन्, ‘घरमा रिसाउने बानी भएकाले संक्रमित तथा बिरामीसँग पनि रिसाउँछे सोच्नुहुन्छ।’

सुरुवातमा कोरोना फ्रन्टलाइनमा काम नगर्ने मानसिकता भए पनि उनलाई अहिले काम गर्न रमाइलो लागिरहेको छ।

‘सेवा गर्ने पेसा अँगालेपछि पन्छिन मिलेन, अहिले त काम गर्न पाउँदा र अनुभव बटुल्न पाउँदा खुसी लाग्छ,’ उनी भन्छिन्।

१४ दिन आसोलेसनमा काम गरिसकेपछि एक साता क्वारेन्टाइनमा बस्नुपने उनले बताइन्।

एक साता क्वारेन्टाइन बसी रिपोर्ट नेगेटिभ आएपछि घर जाने सोच बनाएकी छिन्।

सुई, रगत र औषधीदेखि निकै डराउँथिन् देउजा।

सुई देख्यो कि टाढैबाट भाग्थिन्।

उनले नर्स बन्ने सपना देखेकी पनि थिइनन्।

आखिर नर्स नै बन्न पुगिन्।

कसरी ?

उनकी हजुरआमाको माइतिपट्टिका सबै भदैनी नर्स।

हजुरआमा ‘मेरी नातिनीलाई नर्स बनाउँछु’ भनेर सुनाइरहन्थिन्।

आहा, कति राम्रो सेतो ड्रेस,

मेरी नातिनीले पनि यही ड्रेस लाउँछिन एकदिन।

उनको एउटै धोको थियो नातिनी नर्स बनेको हेर्ने।

हजुरआमाको सपना लत्याउन सकिनन्।

एसएलसीपछि उनले नर्सिङमा पिसिएल पढिन्।

सुरुका कक्षा निकै बिझाए उनको मनमा।

तर, पछि विस्तारै सुई, रगत र औषधीसँग तालमेल मिल्यो।

सुई समाउन, रगत देख्न थालिन् र उनी नर्मल हुन थालिन्।

श्रद्धा इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सबाट पिसिएल गरिन्।

अहिले चक्रवर्ती हबी थिमीबाट स्नातक गरिरहेकी छिन्।

अर्थात्, उनी अहिले नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन्।

देउजाले ६ महिना क्लिनिकमा, एक वर्ष गणेशमान अस्पतालमा र डेढ वर्ष मानव अंग प्रत्यारोपणमा काम गरेकी छिन्।

कुनै संक्रमितलाई गाह्रो साह्रो भयो भने मात्रै आइसोलेसन कक्षमा जान्छिन् उनी।

नत्र, सबै कुरा फोनबाटै हुन्छ। खाना खाना बोलाउनेदेखि औषधी दिने र सरसल्लाह दिनेसम्म।

समस्या परे उनी डाक्टरलाई फोन गर्छिन् र त्यसैअनुसार औषधी र सरसल्लाह दिन्छिन्।

कीर्तिपुर आयुर्वेद अस्पतालमा करिब २ सय २० बेड छन्, सबै भरिभराउ छन्।

अस्पतालमा दुई चिकित्सक, ६ नर्स, सेक्युरिटी गार्ड र अन्य कार्यालय सहयोगी गरी १५–१६ जनाको टिम छ।
उनीहरू सबै मिलेर काम गर्छन्।

आयुर्वेद औषधी सेवनले संक्रमित चाँडै निको हुने गरेको उनी बताउँछिन्।

त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सुरक्षा गार्ड र कार्यालय सहयोगीको करिब एकएक सातामा पिसिआर परीक्षण गरिन्छ।

आयुर्वेद अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो।

उनलाई त्यहीँ आइसोलेसनमा राखिएको थियो।

अहिले उनी काममा फर्किसकेकी छिन्।

अहिले नर्स बन्नुको उद्देश्य र कारण अहिले थाहा पाइरहेकी छिन् उनी।

‘नर्सको अर्थ र महत्व बुझ्न थालेकी छु, हजुरआमाले भनेर पढेको भए पनि अहिले सन्तुष्ट र खुसी छु,’ नर्स देउजा भन्छिन्, ‘जे गरेछु जे भइरहेको छ एकदम ठिक भएछ भन्ने लाग्छ।’

संक्रमित निको भएर घर जाँदा निकै खुसी मिल्छ उनलाई।

संक्रमित निको भएर घर जादा सबैले हात हल्लाउँछन्, नमस्ते गर्छन् अनि धन्यवाद दिन्छन्।

जसको कारण उनीहरूको झन् मनोबल बढ्छ। काम गर्ने हौसला र उत्साह थपिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय