सरकारले तोकेको शुल्कले निजी अस्पतालमा कोरोना उपचार खर्च धान्दैन

कोरोना भाइरसको महामारीका समयमा धेरै निजी अस्पतालले बिरामी भर्ना लिन आनाकानी गरिरहँदा स्टार अस्पतालले सुरूदेखि नै कुनै खालका बिरामीका लागि अस्पतालको ढोका बन्द गरेन।
त्यही अनुभव र सुविधा सम्पन्न प्रयोगशाला भएको स्टार कोरोना परीक्षणको अनुमति पाउने निजी क्षेत्रको पहिलो प्रयोगशाला भएको संस्था पनि बन्यो।

अस्पतालहरूमा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहँदा अस्पताले आफै पिपिई उत्पादन गरेर सुरुदेखि नै प्रयोगमा ल्यायो। निजी क्षेत्रबाट संचालित १०० शैय्याको अस्पतालले महामारीका पुर्याएको सेवाबारे अस्पतालका कोरोना फोर्कल पर्सन तथा मिर्गौला रोग विशेषज्ञ डा. अनिल पोखरेलसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

निजी क्षेत्रको अस्पताल स्टारले कसरी काम गरिरहेको छ?

सुरुका दिनदेखि नै निजी अस्पताललाई सरकारले विभिन्न खालका निर्देशन दिइरहेको छ। महामारीको सुरुवातसँगै सरकारले भनेअनुसारकै आइसोलेसन बेड छुट्याएर काम तयारी थाल्यौं।

सुरुवातदेखि नै कोरोना शंकास्पद व्यक्तिलाई परीक्षणको रिपोर्ट नआउँदासम्म छुट्टै बस्ने व्यवस्था सुरुवात गरेका छौं। आकस्मिक कक्षभन्दा बाहिर राखेका ५ बेड तयार छ। ३ वटा बेड कोरोना संक्रमित राख्ने गरी बनाएका छौं भने २ वटा शंस्कापदका लागि रहेको छ।

कोरोना परीक्षणको रिपोर्ट आउन ७–८ घन्टा लाग्न सक्छ। त्यसकारण पिसिआर रिपोर्ट नआउँदासम्म होल्डिङ एरिया छ। कोरोना संक्रमित पुष्टि भयो भने माथि आइसोलेसन बेडमा राख्ने र खाली नभएको अवस्थामा मन्त्रालयसँग समन्वय गरेर अन्य अस्पतालमा रेफर गर्छौं।

कोरोना संक्रमणको त्रासले गर्दा धेरै अस्पतालका गेट बन्द भए। कोरोनाले भन्दा उपचार नपाएर अन्य रोगले मानिसको मृत्यु भयो। स्टारले सामान्य अवस्थामा जस्तै बिरामीलाई सेवा दिन कसरी सक्यो त?

अस्पताल र चिकित्सकको पहिलो प्राथमकिता भनेको बिरामीको उपचार हो। हामीले पनि अनावश्यक मान्छेको प्रवेश निरुत्साहित गर्न र ज्वरो क्लिनिक भएर जाओस् भनेर सानो गेट मात्रै खोलका थियौं। तर, केहिल्यै पनि गेटबाट उपचार नदिई कुनै पनि बिरामी फर्काइएन।

समाजमा कोरोना सबैलाई लाग्छ भने हल्ला फैलाइरहेको छ। कोरोना संक्रमण फैलिन्छ भन्नेमा म पनि सहमत छु। तर, एक्कै पल्ट लाग्ने र विस्तारै लाग्नुमा फरक छ। अक्सिजन नपाएर आफ्नो घरपरिवारको सदस्य पर्यो भने त्यो मानिसलाई पीडा कस्तो हुन्छ। भर्ना गरेर मात्र अक्सिजन दिन पाएको बाँच्थो कि भन्ने हुन्छ नि।

अहिले संक्रमण समुदायमा पुगिसकेको छ। पहिला एउटा बिरामी आएपछि तीन दिनपछि मात्र परीक्षणको रिपोर्ट थाहा हुन्थ्यो। अहिले स्टारमै कोरोना परीक्षण प्रयोगशाला पनि भएकाले तत्काल उपचार सहज भएको छ। अहिले धेरै अस्पतालका लागि कोरोना संक्रमित र ननकोभिड बिरामी संक्रमण रोकथामको हिसाबले निकै जटिल बनेको छ। हामीले दुवै बिरामीको व्यवस्थापन गरिरहेका छौं।

कोरोनाका बिरामी भन्नेबित्तिकै स्वास्थ्यकर्मी डराइरहेका हुन्छन्। हेर्न त के छुन पनि आउँदैन भन्ने संक्रमितको गुनासो छ। तपाईंहरूले जनशक्ति व्यवस्थापन कसरी गर्नुभएको छ त?

डा. अनिल पोखरेल

कोरोना संक्रमितको हेरचाहमा नर्सिङ र सरसफाइ कर्मचारीले पुरै समय दिइहरेका हुन्छन्। बेला–बेलामा चिकित्सकको निगरानीमा रहिरहेका हुन्छन्। कोरोना संक्रमितको उपचार खटिँदा सबै जनशक्तिले सही रूपमा पिपिई लगाएर काम गर्नुभएको हुन्छ। जुन लेवलमा प्राविधिक व्यक्तिले संक्रमण नियन्त्रण गर्न सक्छ नन प्राविधिकलाई गर्न गाह्रो हुन्छ।

त्यसैले सबै खालका जनशक्तिलाई संक्रमण नियन्त्रणको तालिम दिएर विस्तारै अभ्यस्त गर्दै लगेका छाैं। कोरोना बिरामी भएको कोठामा विभिन्न समस्या देखिन्छन्। त्यस बेलामा व्यवस्थापन गरेर काम गराउन धेरै गाह्रो हुन्छ।

अस्पतालभित्र काम गरिएका स्वास्थ्यकर्मीलाई खासै समस्या पर्दैन। तर, सबै त अस्पतालका स्वास्थ्यकर्मीले व्यवस्थापन गर्न सकिँदैन। त्यस्तो बेलामा बाहिरबाट केही समयका लागि स्वास्थ्यकर्मी ल्याउनुपर्ने हुन्छ। त्यस्तो बेलामा उहाँहरूलाई काममा व्यवस्थापन गर्न निकै गाह्रो पर्दोरहेछ।

सरकारले कोरोना संक्रमित उपचार गरेवापत उपलब्ध गराएको रकमले धान्ने अवस्था छ?
संक्रमितको उपचारका लागि सरकारले उपलब्ध गराएको रकममा पूर्ण उपचार सेवा दिन सकिने अवस्था छैन। सबै कुरा सरकारले सहयोग गर्ने संस्था र निजीलाई एउटै आधारमा अनुदान दिने कुरा व्यावहारिक छैन।

त्यसबाहेक पनि सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सरकारले छुट्टै तलब–जोखिम भत्ता उपलब्ध गराउने गरेको छ। सबै उपकरण सरकारले खरिद गर्ने गरेको छ। र, पनि सरकारले तोकेको शुल्क अस्पताललाई भुक्तानी दिन्छ। त्यही कुरा प्राइभेट अस्पतालमा सम्भव छैन।

कुनै पनि निजी अस्पतालले स्वास्थ्यकर्मीलाई सेवा–सुविधा दिन सकिएन भने छोडेर गइहाल्छन्। कोरोना संक्रमितको उपचारका लागि सेवा दिन पूर्ण रूपमा सुरक्षित छु नभनी भित्र जान मान्दैनन्। सुरक्षा–सामग्रीमा नै ठूलो खर्च जाने गरेको छ।

दैनिक एकजना स्टाफलाई एक सिफ्टको मात्र पिपिईका लागि ४–५ हजार खर्च हुन्छ। दुई–तीन सिफ्ट काम गर्दा एक स्टाफ नर्सको लागि १०–१२ हजार रुपियाँ खर्च हुन्छ।
जबसम्म काम गर्ने मानिसले आफू सुरक्षित छु भन्ने हुँदैन, तबसम्म बिरामीलाई गएर छुँदैन।

पहिला एक ग्रुपले चल्ने काम अहिले दुई ग्रुपको खटाउनुपरेको छ। कोरोना संक्रमित हेर्ने जो स्वास्थ्यकर्मी भित्र जान्छ, एक्स्ट्रा सेवासुविधा माग्छ। यस्तो जोखिम लिएर को काम गर्छ सिधै भन्छन्।

बिरामीलाई सेवा दिनै पर्यो। काम पूरा गर्नेका लागि एक्स्ट्रा पैसा तिर्नुपर्छ। त्यसका लागि संस्थाले गर्न सक्दैन। त्यसको खर्च सोझै बिरामीको टाउकोमा जान्छ। यस्तो अवस्था आउँदा बिरामीलाई एकदमै महँगो पर्दोरहेछ।

कोरोना नयाँ रोग हो। नयाँ चिजमा सिकेर त्यो लेबलको संक्रमण कन्ट्रोल निकै चुनौती रहेछ। तर, हामीले सुरुदेखि नै तयारी गरेका कारण केही सहज भएको छ। नेपालमा एउटा पनि कोरोना नदेखिएको अवस्थामा पनि स्टाफ तालिम, सुरक्षा–साम्रागीको तयारी गरेको हुनाले आज यो अवस्थामा पनि काम गर्न सकिरहेका छाैं।

नन–कोभिड बिरामीले अन्य सामान्य बेलाको भन्दा अहिले उपचार जटिल भएको छ, उपचार नै नपाएर मृत्यु हुने संख्या बढिरहेको छ। यसलाई कसरी हेर्नुभएको छ?
अस्पतालमा सेवा लिँदै गर्दा बिरामीको कोरोना परीक्षण गरिनु अन्य नन–कोभिड बिरामीलाई अत्यावश्यक छ। परीक्षण नै नगरी अस्पतालभित्र प्रवेश गर्दा अन्य बिरामीको बाँच्ने अधिकार खोस्नु भएन नि!

उदाहरणकै लागि पहिला नन–कोभिड बिरामी भर्ना भएर बसिरहेको छ। अर्को व्यक्तिलाई परीक्षण नै नगरी त्यहीं कोठामा राख्दा अवस्था के हुन्छ? जुन व्यक्तिमा कोरोना संक्रमण रहेछ भने वरिपरि सर्दै जान्छ। सबैलाई मार्ने अधिकार त नयाँ आएको बिरामीले राख्दैन नि।

जनमानसमा कसरी फैलाइएको छ भने चिकित्सक डराएर परीक्षण गर्यो भन्ने आरोप लगाइरहेका छन्। परीक्षण नगरी उपचार गर्दा एक लेबलको डर सबै स्वास्थ्यकर्मीमा हुन्छ। अन्य मानिसलाई चाहिँ डर लाग्नुपर्ने, मेडिकल पर्सनलाई डर लाग्नु नपर्ने कतै लेखिएको छैन होला। स्वास्थ्यकर्मी सुरक्षित हुन पनि बिरामीको पिसिआर हुनुपर्छ।

कुनै एक बिरामी पिसिआर परीक्षण भएन र त्यसबाट कुनै स्वास्थ्यकर्मी संक्रमित भयो भने त्यस दिन भर्ना भएका वा सबैलाई एकैपल्ट संक्रमण फैलाउन सक्ने भयो नि! त्यसको जिम्मेवारी कसले लिन्छ?

डाक्टर वा नर्ससँग बिरामी नजिक नै बसिरहेको हुन्छ। किनभने बिरामीको आकांक्षा नै के हुन्छ भने मलाई छामिदेओस, हेरदिओस् भन्ने हुन्छ। टाढा बसेर बिरामीको उपचार त हुन्न।

कोरोनाको उपचार गर्दा नन कोराना बिरामीको मृत्यु भएको अफवाह फैलाइएको छ। कसै कसैले के गर्नुभएको छ भने गाह्रो हुँदाखेरि नि कोरोना सर्छ भनेर अस्पताल नै नगएपछि हालत के हुन्छ?
स्टारमा कोरोना बिरामी राख्छ भनेर थाहा पाएपछि त्यहाँ गएपछि ढोकाबाट कोरोना सर्छ जस्तो गरेर सोच्नुहुन्छ। जुन पक्ष पनि मिडियाले बुझाउन जरुरी छ।

कोरोना संक्रमित व्यवस्थापन र उपचार कसरी गरेको छ?
जुन लेबलमा सरकारले हामीलाई गाइड गर्दै गएको त्यहीअनुसार काम गरेका छौं। सरकारले भनेअनुसार १ सय बेडको अस्पतालमा हामीले २० वटा आइसोलेसन बेड तयार गर्नुपर्थ्यो। हामीले अहिले १७ वटा बनाएका छौं।

हामीलाई ठाउँ अपुग भएका कारणले २–३ वटा बेड पुर्याउन सकिएको छैन। सबै कोभिडको बेड तलबाट हेर्ने हो भने हामीसँग २४ वटा बेड छ। कोभिडका लागि २ आइसियुसहित भेन्टिलेटर व्यवस्था गरेका छाैं।

बिरामीलाई भेन्टिलेटरमै लानुपर्ने अवस्था आउन नदिन र प्रभावकारी उपचारका लागि महत्त्वपूर्ण मानिएको हाई फ्लो अक्सिजनसहितको उपचार स्टारमा दिइरहेका छौं। बिरामी भेन्टिलेटरमा गइसकेपछि निको भएर निस्कनेसँग सम्भावना एकदमै कम हुन्छ।

कोरोनालाई शरीरले नै ठीक गर्ने हो। केही समय बिरामीलाई जोगाउन सकियो भने शरीरले बिस्तारै रिकभर गर्दै जान्छ। सपोर्टिङ औषधीमा रेमडेसिभिर, प्लाज्माथेरापी चलाइरहेका छौैं। हालसम्म अहिले ४० भन्दा बढी संक्रमितलाई निको पारेर पठाएका छौं।

सर्वसाधरणले पिसिआर रिपोर्ट ५–६ दिनसम्म कुर्नुपर्ने बाध्यता सुनाउँदै आएका छन्। के स्टारमा कोरोना परीक्षणको सन्दर्भमा के अवस्था छ?

कोरोना संक्रमितको परीक्षण चाँडै गरे पनि रिपोर्ट हामी आफैंले वितरण गर्न पाइँदैन। कम्तीमा पनि एक संक्रमित रिपोर्ट थाहा पाउन २४ घन्टाभन्दा बढी समय लाग्छ।

नेगेटिभ रिपोर्टको हकमा हामीले १२ घन्टाभित्र रिपोर्ट उपलब्ध गराइसकेका हुन्छौं। बेलुका ८ बजे कसैले स्वाब दियो भने रातभर त मेसिन चलाउन सकिँदैन। रातिमा केही समयमा मेसिन बन्द गर्ने गरेका छौं। परीक्षणको एरिया संक्रमणमुक्त बनाउन पनि यो प्रक्रिया जरुरी छ।

बिहान कसैले स्वाब संकलन हुन्छ भने हामीले बेलुकासम्म रिपोर्ट दिइसकेका हुन्छौं। पोजेटिभ रिपोर्टको हकमा भने हामीले स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने हुन्छ। त्यहाँ गएपछि पनि कुन एरियाको कसले हेर्ने भन्ने हुन्छ। क्लिकल व्यवस्थापन टिमले बल्ल तपाईको रिपोर्ट यस्तो आयो भनेर होम आइसोलेसन बस्ने कि अस्पताल जाने भन्ने व्यवस्थापन मिलाउने काम गर्दछ।

कोरोना संक्रमित पुष्टि हुनेबित्तिकै धेरै अस्पतालले सेवा प्रभावित भए। स्टारमा के भयो?

हामीले संक्रमित वा मृत्यु भएपछि संक्रमित देखिएको अवस्थामा पनि अस्पताल सिल गर्नुपर्ने वा सेवा बन्द गर्नुपर्ने अवस्था आउन दिएनौं। सुरुदेखि नै अस्पताल आउने बिरामीलाई उपचारमा कुनै सम्झौता गर्ने गरेका छैनौं।

हामीले भिजिटर कन्ट्रोलको पार्टमा नियन्त्रण गर्न सकेका छैनौं। बिरामीको छेउ बस्नुपर्ने, भिजिटर नबसी चित्त नबुझ्ने, त्यसमाथि पनि वरपरका आफन्त १०–१५ जना मानिस भेट्न आउँछन्। अस्पतालमा भिजिटर एकजना मात्रै छिर्न पाउने भन्छौं। तर, दैनिक भिजिटरहरू मैले पैसा तिरेर राखेको बिरामी हेर्ने नपाउने भनेर अधिकार खोज्नु हुन्छ। जुन अधिकार कोरोनाले बिगार्छ।

अस्पताल आउने बिरामीलाई भित्र सिधै छिर्न दिएका छैनौं। बिरामी आउनेबित्तिकै होल्डिङ एरियामा राख्ने गरेका छौं। होल्डिङ एरियामा राखेको व्यक्तिमा संक्रमण पुष्टि भयो भने त्यो एरिया मात्रै सफा गरे पुग्यो नि। पूरै अस्पताललाई केही गर्नुपरेन।

होल्डिङ एरियामा कुनै व्यक्तिलाई संक्रमण पुष्टि भएपछि अस्पताल भित्र लैजाने बाटो छुट्टै रहेको छ। हामीसँग एउटै भवन भएता पनि छुट्टै लिफ्टमार्फत ओहोर–दोहोर गराउँछांै। चौथो तलामा रहेको कोभिड वार्डमा लगेर राख्ने गरेका छौं।

कहिलेकाहीं ओपिडीमा भएका बिरामी संक्रमण पुष्टि भएको छ। ओपिडी हेर्दा अपनाउनुपर्ने जुन मापदण्ड छ, त्यहीअनुसार काम गर्दा कहिले पनि अस्पतालको सेवा बन्द गर्नुपर्ने अवस्था आएन।
आकस्मिक कक्षभित्र पनि अलग ठाउँ बनाएका छौं। कुनै बिरामी बाहिर होल्डिङ एरियामा राख्न नसक्ने बढी सिरियस भएको छ आकस्मिक कक्षमा बारेर बनाएको विशेष ठाउँमा राख्छौं। त्यहाँ पनि पोजेटिभ पुष्टि भएछ भने त्यति एरियामात्रै बन्द गरे पुग्छ। सुरुदेखि नै हामीले बिरामी छुट्टाएर मात्रै वार्डमा छिराएका छौं।

हामीले भिजिटर कन्ट्रोलको पार्टमा नियन्त्रण गर्न सकेका छैनौं। बिरामीको छेउ बस्नुपर्ने, भिजिटर नबसी चित्त नबुझ्ने, त्यसमाथि पनि वरपरका आफन्त १०–१५ जना मानिस भेट्न आउँछन्। अस्पतालमा भिजिटर एकजना मात्रै छिर्न पाउने भन्छौं। तर, दैनिक भिजिटरहरू मैले पैसा तिरेर राखेको बिरामी हेर्ने नपाउने भनेर अधिकार खोज्नु हुन्छ। जुन अधिकार कोरोनाले बिगार्छ।

कोरोना उपचार सन्दर्भमा अबको बाटो वा रणनीति के हुनुपर्छ?

देशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि हामी चुक्यौैं। त्यसैले आजको यो भयावह अवस्था आएको छ।

अहिले अस्पतालका सबै बेड भरिभराउ नै रहेका छन्। एकपल्ट अस्पताल बसेपछि कम्तीमा १०–१२ दिन बस्नैपर्छ। घर गयो भने पनि मेरो परिवारलाई संक्रमण सर्छ होला भनेर बिरामी जान मान्दैन।अलि–अलि संक्रमणको लक्षण छ भने पहिला घर पठाउन सकिन्थ्यो तर अलि–अलि लक्षण भएको बिरामीलाई पनि घर पठाउन सकिरहेका छैनौं।

घर गएर एक्लै बस्छु भन्न सक्ने अवस्था छैन। त्यसकारण बेड धेरै भरिइरहेका छन्। देशमा संक्रमणको अवस्था बढ्दै जाँदा सायद सबै अस्पताल कोभिड होलान् कि! खोप आएन भने ६०–७० प्रतिशत संक्रमित नभई रोग हराएर जाँदैन होला। अहिले दुई दिन अक्सिजन लगाएर मानिस ठीक हुने अवस्थालाई हामीले बचाउन सक्ने हो।

अहिले अस्पतालमा बसेका १६ जनामध्ये २ जना आइसियुमा छन्। १२–१४ जनालाई साधारण अक्सिजन दिएर बचाएर राखिरहेका छौं। यदि अचानक बेड नै नपाउने स्थिति भएर ५–७ दिनको अक्सिजन थेरापीले ठीक हुने बिरामीलाई कसरी बचाउने?

समाजमा कोरोना सबैलाई लाग्छ भने हल्ला फैलाइरहेको छ। कोरोना संक्रमण फैलिन्छ भन्नेमा म पनि सहमत छु। तर, एक्कै पल्ट लाग्ने र विस्तारै लाग्नुमा फरक छ। अक्सिजन नपाएर आफ्नो घरपरिवारको सदस्य पर्यो भने त्यो मानिसलाई पीडा कस्तो हुन्छ। भर्ना गरेर मात्र अक्सिजन दिन पाएको बाँच्थो कि भन्ने हुन्छ नि।

भेन्टिलेटर गएपछि बिरामीलाई बचाउने सम्भावना कम नै हुन्छ। त्यसभन्दा अगाडि गर्न सकिने उपाय अपनाउँदा निकै गाह्रो भएका बिरामी भेन्टिलेटरको सहायताबिना ठीक हुनु भएका छन्।

भेन्टिलेटर अगाडि साधारण अक्सिजन थेरापी दिएर धेरै बिरामी ठीक भएका छन्।

त्यसकारण बजारमा एकपल्ट संक्रमित बढ्यो भने अस्पतालबाट सेवा दिन सकिँदैन। सय बेडको अस्पतालमा ५–१० जना बढी बिरामी राख्न सकिएला। क्षमताभन्दा बढी बिरामी राख्न सकिँदैन।त्यसकारण सरकारले जारी गर्दै आएको मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हातधुने र मास्क लगाउने जस्ता काम गर्यौं भने संक्रमण नियन्त्रणमा केही प्रभावकारी काम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय